कैलालीको गेटामा २०७९ फाल्गुन ३ गते बिहान साढे चार बजे तिर सधै झैँ निद्रा भाग्यो र आधा घण्टा मोबाइलमा अन लाइन समाचार लगायत सामाजिक संजालको अध्यावधिक लिए पश्चात पांच बजे तिर फेरी निदाएछु । रथयात्रा जस्तो लाग्ने दुई घोडाको सजिसजाउ बग्गीमा सवार कुनै मान्यजन पश्चिम दिशातर्फ उन्मुख चम्किलो पहिरनमा मुकुट सहित महेन्द्रनगरबाट गड्डाचौकी जाने पुर्व पश्चिम लोकमार्ग र महाकाली सिंचाई परियोजनाको नहर काटिने ठाउँको शिव मन्दिर नजिक देख्दा म झल्याँस्स ब्युझिएं, मैले सपना देखेको रहेछु । मलाई सपनाको फल, हात हेरेर वा चिना हेरेर भविष्य भन्ने, धामी झाँक्री आदिमा त्यति विश्वास लाग्दैन तथापी त्यो दिन मलाई कता कता कुनै अवान्छित घटना घट्छकि जस्तो लागेको थियो किनकि विभिन्न माध्यमबाट मैले जाने बुझे अनुसार मैले माथि उल्लेख गरेअनुसारको सपनालाई अशुभ मानिन्छ । मेरो बुवा श्री मदन चन्द ९० वर्षको उमेरमा अशक्त भै एउटा कोठामा सिमित भएको लगभग एक वर्ष जति भै सकेको थियो ।
मेरो दैनिक दिनचर्या सामान्य चलिरहेको थियो सोहि दिन दिउँसो साढे दुईबजे मेरो माहिलो भाई(समरजंग बहादुर चन्द जसले महेन्द्रनगरमा श्रवण कुमार सरह आमा बुवाको सेवा गरिरहेको थियो)को फोन आयो । बुवाको अवस्था त्यति सहज नभएको हुँदा बेलुकी सम्म घरमा आइपुग्नु भन्ने खबरले मेरो मुटु ढक्क फुलेर आयो तथा एक्कासी श्वास प्रश्वासको गति बढेर आयो, आफु संयमित हुन मैले लामो लामो श्वास लिन थालें । म गेटा आँखा अस्पतालमा कार्यरत थिएँ र एकजना सहकर्मीको छोरीको बिहेको निम्तोमान्न फाल्गुन चार गते महेन्द्रनगर जानैपर्ने भएकोले सोहीदिन बेलुकी मेरो पुर्ख्यौली घर महेन्द्रनगर जाने सोचेकै थिएँ तर कार्यालय समय पांच बजे सम्म हुने भएकोले तत्पश्चात मात्र जाने योजना थियो । ०४ बजेर ३८ मिनेटमा अचानक मेरो कान्छो भाई(काठमाण्डौमा कार्यरत शेरजंग बहादुर चन्द)को फोन आयो, फोनमा उसले पनि बुवाको अवस्था चिन्ताजनक रहेको भनेपछि म तत्काल कार्यालय समय भन्दा १५ मिनेट अगावै जाने निधो गरें र नियमानुसारको निवेदन पेश गरि कार्यालयबाट निस्कें । कार्यालयबाट निवासमा गइ पोशाक परिवर्तन गरेर आफ्नै वाहनमा गेटा बाट प्रस्थान गर्दा त्यस्तै बेलुकीको पाँच बजेर पाँच मिनेट भैसकेको थियो । गेटा बाट मेरोघर महेन्द्रनगर सम्म एक्लै लगभग पचास किलोमिटरको यात्रा गर्दा मनमा अनेकौं सकारात्मक तथा नकारात्मक विचारहरु आइरहेका थिए । अन्य अवस्थामा सामान्य रहने मेरो श्वास प्रश्वास त्यो दिन अचानक बढ्ने गरिरहेको थियो । मैले एक घण्टा पन्ध्र मिनेटको उक्त यात्रामा लगभग पचासौं पटक लामो लामो श्वाश फेरेहुँला जुन मेरो नियन्त्रणमा थिएन । ०६ बजेर २० मिनेटमा म घरमा पुग्दा केहि आफन्त र छिमेकीहरु जम्मा भएको र कुनै निश्चित पलको पर्खाइमा रहेको महसुस गरें र बुवाको शयनकक्षमा प्रवेश गरें । पण्डितज्युले गीता पाठ गरिरहनु भएको थियो भने बुवाको एकोहोरो श्वास चलिरहेको थियो र घ्वार घ्वार आवाज आइरहेको थियो । मैले नजिकै बसिरहनु भएकि मेरी मुवालाई ढोगें बुवालाई पनि ढोग्छु भनि जोड जोडले बुवा बुवा भनि धेरै पटक कराएँ तर कुनै स्वाभाविक प्रतिक्रिया नपाए पछी मेरी मुवाले बुवालाई पानी खुवाउनु भन्नु भयो र मैले चम्चाले पानी खुवाएँ । बुवा उत्तानो पल्टिनु भएको थियो भने म भन्दा पहिले पनि धेरै जना आफन्तहरुले चम्चा द्वारा सुनपानी (हिरन) खुवाई सकेको हुनाले मलाइ कता कता त्यहि पानी घांटीमा अड्केको हुनसक्ने र त्यहि पानीको कारणले श्वासनलि बन्द भै सम्भावित दुर्घटना हुन सक्ने भनि बुवालाई पुनः बोलाउँदै कोल्टे फर्काएँ बुवाले पानी निल्नु भयो । श्वासनलि बन्द नभएको यकिन भए पछी मैले बुवालाई पुनः उत्तानो पल्टाईदिएँ र फेरी बोलाउने प्रयत्न गरें तर बुवाले एउटा लामो श्वास तानेको लगभग एक मिनेट पश्चात लामो श्वास छोड्नु भयो । ०६ बजेर २३ मिनेट जाँदा मेरो बुवाले भावहीन, रंगहीन, चेतनाशून्य पार्थिव शरीर छोडेर ब्रम्ह्लीन हुने अनन्त यात्रा शुरु गरिसक्नु भएको रहेछ । वातावरण चकमन्न भयो, सबै स्तब्ध थिए, कोहि राम नाम जपी रहेका थिए भने कोहि जीवनको अन्तिम सत्य यहि हो एक दिन जन्मेका सबै जीवले मर्नै पर्छ भन्दै सान्त्वना दिने प्रयास गरिरहेका थिए ।
मेरी मुवाले भने अनुसार वहाँ परलोक पदार्पण गर्नु भन्दा अघिल्लो रात मेरो नाम तीन पटक बर्बराउनु भएको थियो । बुवाले मेरो प्रतीक्षा गरे जस्तै गरि म पुगेको तीन मिनेट भित्रनै देह त्याग गर्नु भयो शायद वहाँले मेरो उपस्थिति महसुस गर्नुभयो र अनन्त यात्रा शुरु गर्नुभयो सोहि अवस्थालाई धेरै आफन्तजनले उनको प्राण म मा अड्किएको र मेरो हातको पानी (हिरन) पिए पछी उन्मुक्ति मिलेको अड्कल काटे तर बुवाबाट आशिर्वाद लिने मेरो अन्तिम प्रयास विफल भएकोमा मलाई अत्यन्तै पछुतो लागिरहेको थियो र लागी नै रहनेछ । मैले आफ्नो नियन्त्रण गुमाएँ र लामो उच्छ्वासको साथै केहि थोपा आँसु बुवाको पाउमा अर्पण गरें । मेरो बहिनि रुकमणि चन्दको एक्कासी ठुलो डाँको छोडेर रोएको आवाजले मलाई सम्हालिने संकेत गर्यो मैले महिला समुह र केटाकेटी हरुलाई सम्हाल्नु पर्छ भन्ने भान भयो । दिदी, बहिनी, बुहारी तथा छोरीहरुको क्रन्दनले वातावरण मलीन भयो । सोहि समयमा काठमाडौँमा रहेकी मेरी श्रीमती शारदा चन्द र कान्छी छोरी शाम्भव शक्ति चन्द तथा बंगलादेशमा रहेकी मेरी जेठी छोरी सुनिधि शक्ति चन्दलाई पनि इन्टरनेटको माध्यमबाट त्यो दुखदायी क्षणको दृश्य देखाउनै पर्छ भन्ने सोचेर मैले मोबाइल मार्फत देखाएं ।
यो संसारमा जन्मेको प्राणी एक दिन अवश्य मर्दछ । कोहि पनि अमर छैन तर मान्छेले जीवनको यहि अन्तिम सत्यलाई विर्सन्छ । बुवाको फुर्तिलोपन, स्वस्थ्य तथा बलिष्ठ शरीर र जीवन प्रतिको सकारात्मकता देखेर मलाई पनि मेरो बुवा कहिल्यै मर्नुहुन्न जस्तो लाग्थ्यो । कसैको कुभलो नगर्ने, नबिराउने र नडराउने कुरालाईनै जीवनको दर्शन ठान्ने मेरो बुवा हक्की स्वभावको, केहि जिद्दी, कसै संग हार नमान्ने र जीवनको जस्तो सुकै कठिनाइको सामना गर्न पछी नपर्ने साहसी व्यक्ति हुनुहुन्थ्यो साथै सामाजिक कार्यमा अग्रसर, सहयोगी, परोपकारी, दयालु तर कडा मिजाजको तथा रुखो बोलि भएको भन्न मलाई कुनै संकोच हुँदैन किनकि मेरो बोलि पनि स्वाभाविक वंशानुगत कारणले होला अलि रुखो नै छ ।
संसारकै गरिब र अशिक्षित हाम्रो मुलुकको झन्डै एक शताब्दी पहिलेको सामाजिक र आर्थिक परिवेश कस्तो थियो होला ? अहिले सोच्दा पनि कहाली लाग्छ । त्यस्तो अवस्थामा समेत सिमित भए पनि केहि शिक्षा हासिल गर्नुभयो र जीवन यापनको सम्भावना खोज्दै भारतीय सेनामा संलग्न हुनुभयो । झन्डै २० वर्ष भारतीय सेनामा रहुन्जेल सन् १९६० देखि १९७५ बीच भएका भारतका सबै युद्ध हरुमा बहादुरी प्रदर्शन गरे पश्चात सेना बाट अवकाश लिएर स्वदेशमै केहि गर्नु पर्छ भनि फर्किनु भयो । जननेता विशेश्वर प्रशाद कोइरालाको मेलमिलापको नीति बाट प्रभावित हुँदै नेपाली काँग्रेसको सक्रिय सदस्य भएर राजनीतिमा होमिनु भयो । निर्विकल्प निर्दलीय पंचायती व्यवस्थामा प्रतिवन्धित नेपाली काँग्रेसमा प्रवेश गरि उक्त पार्टीले चलाएका सबै राजनैतिक गतिविधिमा संलग्न हुँदै कैयौं पटक जेल पर्नु भयो । संघर्ष र सक्रियताकै क्रममा २०४६ सालको प्रजातान्त्रिक जनआन्दोलनमा बहादुरी पुर्वक कन्चनपुरको आन्दोलनको नेतृत्व गर्नु भयो र अदम्य साहसको परिचय दिंदै तत्कालिन व्यवस्थाको घोर विरोध गर्नु भयो जसको फलस्वरूप “ज्यूँदो सहिद”को उपाधि समेत पाउनु भयो । सोहि समयमा नेपाली कांग्रेस कन्चनपुरको कार्य वाहक अध्यक्ष भै हजारौं युवाहरुलाई नेपालि कांग्रेसमा आवद्ध गराउनु भयो । निर्दलीय पंचायती व्यवस्थाको विरुद्ध आफुले खुला मन्चमा नेपाली कांग्रेसको झन्डा फहराउन सकेको क्षणलाई नै आफ्नो जीवनको सबै भन्दा खुशीको क्षण मान्ने मेरो बुवालाई वहांको जीवनको उत्तरार्धमा अस्पतालको सैय्यामा मैले सोधेको प्रश्न “हजुरले जीवनमा के गर्न बाँकी छ जस्तो लागेको छ ?” को जवाफमा आफ्नो कुनैपनि व्यक्तिगत चाहना वा इक्षा बाँकी नरहेको तर जे सोचेर मैले जीवनको बाजी लगाएर राजनीतिमा होमिएको थिएँ त्यो उद्धेश्य पुरा नभएको, देश झन् झन् अस्थिरता तर्फ उन्मुख भएको र जनताको जीवनमा कुनै तात्विक भिन्नता महसुस नभएको हुँदा एक आदर्श, विकसित नेपाली समाजको सपना बाँकी नै रहेको भन्नु भएको थियो । यस्तो अवस्था आउनुमा अरु कोहीपनि दोषी नभई ठुला पार्टीका नेताहरुनै जिम्मेवार रहेको कुरा पनि दोहोर्याउनु भएको थियो ।
बुवाको राजनैतिक र सामाजिक क्षेत्रमा गरेको योगदानको कदर गर्दै २०७८ कार्तिक ३० मा “मधु-मदन साँस्कृतिक प्रतिष्ठान”ले नागरिक अभिनन्दन गरेको र सोहि अवसरमा “प्रजातन्त्र सेनानी मदन चन्द, अभिनन्दन ग्रन्थ” प्रकाशित गरेको थियो । मेरो बुवाले सामाजिक उत्तरदायित्व वहन गर्दै आफ्नो तर्फबाट भीमदत्त नगरपालिका वडा नम्बर ६ लाई लाखौं मूल्य पर्ने एक कट्ठा जग्गा दान गर्नु भएको थियो । सोहि जग्गामा “मधु-मदन कला संस्कृति संरक्षण तथा ज्येष्ठ नागरिक भवन” निर्माण हुने क्रममा रहेको छ । मेरो बुवा अनेकौं सामाजिक संघ संस्थामा आवद्ध रही समाज सेवामा प्रतिवद्ध रहनु भएको थियो । जीवन भर कुनै लाभकारी पदको अपेक्षा नगरेका मेरा बुवा मदन चन्दलाई २०७९ सालमा नेपाल सरकारले “जन सेवाश्री” पदक बाट विभूषित गरेको छ तर दुखद कुरा के भने मेरो बुवाले उक्त सम्मान ग्रहण गर्नु अगावै यो संसार बाट बिदा लिईसक्नु भएको छ ।
हाम्रो हिन्दु सनातन धर्मले तोके अनुसारको मृत्यु संस्कारमा छोराहरुले गर्नु पर्ने कर्तव्यको दौरानमा मेरा दुवै जना भाईहरुको साथै नजिकका अन्य भाईहरु तथा काकाहरुको सान्निध्यमा धेरै कुरा सिक्ने र जीवनमा गर्नैपर्ने अनुभव समेत बटुल्ने अवसर प्राप्त भयो । आफ्नो आमा बुवालाई मृत्यु पश्चात मुक्तिका लागि गर्नुपर्ने कुराको अतिरिक्त मृत्यु अगावै सेवा गर्न सके त्यो भन्दा ठूलो श्रद्धान्जली केहि नहुने कुरा पनि महसुस गरें ।
बुवाको १३ औं दिनको पुण्य तिथि पश्चात हाम्रो जीवन क्रमश: सामान्य हुँदै गएको थियो । शोक मनाउन आउने र आएका आफन्तहरुको संख्या पनि दिनानुदिन घट्दै जाँदा केहि खल्लो महसुस हुने रहेछ । आ-आफ्नो जीवन संघर्षमा खट्टीएका हामी भाईहरुपनि सम्बन्धित ठाउँमा फर्किने क्रममा मेरी मुवा लगायत माहिलो भाईको परिवारका सदस्यहरुबाट छुट्टिंदा शून्यताको महसुस भयो । अन्य अवस्थामा हामी घरबाट यात्रामा निस्कंदा बुवा र मुवाले संयुक्त रुपमा टिका लगाईदिनु हुन्थ्यो तर त्यस दिन बुवाको तस्वीर अगाडी धूप बालेर बुवाको यादको रुपमा वहाँकै एक तस्वीर आफै संग बोकेर आउँदा भारि मनले भन्न मन लाग्यो:
न गाथ बाँकी
त्यो बात बाँकी
मात्र बुवाको
यो याद बाँकी
अब मेरो शिरमा हजुरको हात हुनेछैन यद्धपि हजुर जहाँ भएपनि मलाई हजुरको आशिर्वादको कवचको अपेक्षा हरदम रहनेछ, हार्दिक श्रद्धान्जली बुवा । हजुरको स्वर्गको महायात्रा सफल रहोस् ।
.gif)