कुनै पनि समुदाय तथा क्षेत्रको पहिचान भनेको त्यस क्षेत्रमा रहेको भाषा, कला, सँस्कृति, इतिहास, त्यसठाउँको प्रकृति, त्यहाँ भएका धार्मिक, साँस्कृतिक, ऐतिहासिक तथा पर्यटकीय स्थल आदिले हुन् । कुन क्षेत्र कति सम्पन्न छ भन्ने आधार पनि यिनै कुराहरुले निर्धारण गर्ने गर्दछ । यस्ता विविध कुराहरुमा नेपाल विश्वमै अग्रपङ्तिमा आउँछ । भौगोलिक रुपमा हिमाल, पहाड, तराईं विभाजित नेपाल प्राकृतिक सम्पदाको खानी बनेको छ । यहाँको प्राकृतिक सुन्दरताले विश्व समुदायलाई चकित एवम् मोहित पार्दै आइरहेको छ । यस भुगोलमा रहेका नदी, ताल, वनजङ्गल, त्यसभित्र विश्वमै दुर्लभ जीवजन्तु तथा चराचुरुङ्गीहरुले नेपालको सुन्दरतामा बुट्टा भरेका छन् । यस्तो सुन्दर प्रकृतिमा रहेका विविध सँस्कृतिले नेपाललाई अझ सुन्दर बनाउनमा मद्दत गरेको छ । यस क्षेत्रमा परापूर्व कालदेखि चल्दै आएका विविध साँस्कृतिक परम्पराहरु हाम्रा पहिचानका आधार बनेका छन् । यही सुन्दर प्रकृति र सँस्कृतिभित्र रहेर हाम्रा पुर्खाहरुले सिर्जेका विभिन्न कलाहरु विश्व जगतलाई आनन्द र ज्ञान बाढ्दै आइरहेका छन् । सुन्दर नेपाली भुगोलमा रहेका हाम्रा प्राचीन वास्तुकला, मुर्तिकला, चित्रकलाले पर्यटकहरुलाई आनन्द प्रदान गर्दै आइरहेका छन् । यति हुँदाहुँदै पनि हाम्रा वीर पुर्खाहरुले निर्मा गरेको इतिहास पनि विश्व सुमदायमा गर्व गर्न लायक रहेको छ । समग्रमा भन्नुपर्दा नेपाल प्राकृतिक, साँस्कृतिक, धार्मिक, सामाजिक, ऐतिहासिक आदि विविध सम्पदाहरुको धनी छ । नेपाललाई चिनाउने यस्तै सम्पदाहरु मध्ये बैतडीको दसररथ चन्द नगरपालिका ४ देवलहाटमा रहेका पाचीन देवलहरु पनि एक हुन् ।
महाभारतकालीन किंवदन्ती तथा इतिहास बोकेका यी देवलहरु प्राचीन वास्तुकलाका अनुपम नमुनाका रुपमा रहेका छन् । यस क्षेत्रमा यी देवलहरुको बारेमा पाण्डवहरुले आफ्नो वनवासको उत्तरार्धकालमा वनवासको स्मृतिस्वरुप पाँचै भाई, माता कुन्ती, र पत्नी द्रौपदीको लागि गरेर सात वटा देवलहरु बनाएको जनश्रुति रहेको छ । ढुङ्गाहरु कोरेर बनाएका यी देवलहरुमा ढङ्गाकै सुन्दर मुर्तीहरु पनि निर्माण गरिएका छन् । आफ्नो राज्य फिर्ता र सत्यको जीत होस् भन्ने कामनाको लागि बनाएका यी देवलहरुमा पाण्डवहरुले नै ढुङ्गाकै शीवलिङ्ग बनाएर स्थापना गरेको र त्यही समयदेखि तिनै शिवलिङ्गमा पूजा अर्चना गरिदै आएको यस क्षेत्रका स्थानीय जानकारहरुले बताउँदै आएका छन् । यी देवलहरुमा महाभारतकालीन हतियार, विभिन्न भाँडाकुडा, तथा देवीदेवताका मूर्तीहरु पनि रहेका छन् । यस यी देवलहरुभित्रै पुरानो तामाको सानो ताउली पनि रहेको पाइन्छ । देख्दा एक जनाको आहार पनि नपाक्ने त्यो ताउलीमा दौपदीले पाँचै भाई पाण्डव, कुन्ती र पाहुनाहरुका लागि भोजन पकाउथिन । त्यो ताउलीमा पकाएको भात जति जनाले भोजन गरे पनि कहिल्यै कम नहुने बताइन्छ । एक समयमा कुटियामा अन्नका नाममा केवल एक गेडा मात्र चामल रहेको र त्यही समयमा ऋषिहरु भोजनका लागि आउँदा भगवान कृष्ण आएर त्यो एक गेडा चामलको भात आफूले खाइ सम्पूर्ण ऋषिहरुलाई कुटीमा नपुग्दै भोजना लागि तृप्त बनाइ निद्रा लागेको पौराणिक कथन पनि यससँग जोड्ने गरेको पाइन्छ । यी देवलहरुमा प्राचीन शीलालेखहरु पनि रहेका छन् । यी देवलहरुको पश्चिम र दक्षिणपट्टी पानीका कुण्डहरु पनि रहेका छन् । यी कुण्डहरु पनि प्राचीन शैलीमा निर्माण गरिएका र भित्रपट्टी ढुङ्गामा विभिन्न वास्तुकला तथा भित्रकलाहरुले सजिएका छन् । यी देवलहरुमा हरेक सङ्क्रान्ति तथा पूर्णीमा र महाशीवरात्रीमा विशेष पूजा तथा मेला लाग्ने गर्दछ ।
यसै क्षेत्रमा पूर्वपट्टी करिब दुई किलोमिटर पूर्वपट्टी चन्द राजाहरुको प्राचीन तथा ऐतिहासिक कोट पनि हरेको छ । समग्रमा यो क्षेत्र धार्मिक, ऐतिहासिक, पुरातात्विक तथा पर्यकटीय दृष्ट्रिले अत्यन्तै महत्वपूर्ण रहेको छ । यस क्षेत्रका विभिन्न समयमा जमिन खन्दा विभिन्न प्राचीन मुर्ती तथा अन्य वस्तुहरु पनि मिल्ने गरेको स्थानीयहरु बताउँछन् ।
यी देवलहरुको बारेमा महाभारतकालीन जनश्रुति रहीआए यी देवल तथा यसभित्रको वास्तुकला, चित्रकाला तथा शीलालेखहरुको राम्रारी अध्ययन हनुसन्धान हुन सकेको छैन । यस्ता प्राचीन महत्व बोकेका स्थलहरुको अध्ययन अनुसन्धान, संरक्षण तथा प्रचार प्रसार हुन सकेका यस क्षेत्रको पहिचान बढ्ने र पर्यटकीय सम्भावना पनि बढ्ने कुरामा दुईमत छैन । यस्ता प्राकृतिक सम्पदाको संरक्षणमा स्थानीय सरकार, राज्य र आम नागरिक सबैको कर्तव्य हुन आउँछ ।
.gif)