महेन्द्रनगर । कञ्चनपुरका सामुदायिक विद्यालयहरुले विद्यार्थी भर्ना गर्न घरदैलो अभियान चलाएका छन ।
यहाँको सबैभन्दा पुरानो विद्यालय बैजनाथ विद्यालय,महेन्द्रनगर माध्यमीक विद्यालय कटान,भृकुटी माध्यमीक विद्यालय महेन्द्रनगर लगायतका जिल्लाका अन्य थुप्रै साुमदायिक विद्यालयहरुले विद्यार्थी भर्नाका लागि घरदैलो अभियान सञ्चालन गरेका छन ।
विद्यालयले विद्यार्थीहरुका लागि विभिन्न नयाँ योजना लगेर सामुदायिक विद्यालयमा विद्यार्थीहरु आकर्षित गर्नका लागि अभिभावकको घरदैलोमा पुग्ने गरेका छन । यहाँको महेन्द्रनगर माध्यमीक विद्यालयले पनि घर घरमै पुगेर विद्यार्थी भर्ना अभियान चलाएको छ । विद्यालयका शिक्षक नवराज जोशीले विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र शिक्षक शिक्षिकाहरु विद्यार्थी भर्ना अभियानमा जुटेको बताए । “हामीले नर्सरी र कक्षा एकमा अंग्रेजी माध्यमबाट समेत निःशुल्क पढाई गर्ने भएका छौ ।” जोशीले भने–“हाम्रो विद्यालयमा विद्यार्थी भर्ना गर्न अभिभावको घरदैलोमा पुग्ने गरेका छौ ।” उहाँले हाल कक्षा १० सम्म विद्यालयमा तीन सय ८५ विद्यार्थी रहेकोमा यस वर्ष पाँच सय विद्यार्थी पुगाउने लक्ष्यका साथ विद्यार्थी भर्ना अभियानमा लागेको बताए ।
“कक्षा आठ सम्म सरकारले विद्यार्थीहरुका लागि दिवाखाजाको व्यवस्था गरेको छ ।” उनले भने–“साुमदायिक विद्यालयमा छात्रवृत्र्ती लगायतका थुुप्रै सुविधा छन यहाँ भर्ना हुँदा विद्यार्थीले न्युन शुल्कमा गुणस्तरीय शिक्षा प्राप्त गर्छन ।” उनले टोल टोलमा पुगेर बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना गर्न आग्रह गरिरहेको बताए ।
यहाँको भृकुटी माध्यमीक विद्यालयका शिक्षिका विमला भट्टले विद्यार्थीलाई आफ्नो विद्यालयमा भर्ना गराउन विद्यालयका शिक्षिक शिक्षिकाहरु अभिभावको घरदैलोमा पुग्ने गरेको बताइन ।
“हामीले यस पटक नयाँ भर्ना हुने विद्यार्थीलाई निःशुल्क पोशाक र झोला उपलब्ध गराउदैछौ ।” उनले भनिन–“अभिभावकलाई विद्यालयको गुणस्तरीय शिक्षाका बारेमा जानकारी दिदै भर्ना गर्न आग्रह गरिरहेका छौ ।” उनले सामुदायिक विद्यालयमा अध्ययन गर्दा न्युन शुल्कमा गुणस्तरीय शिक्षा आर्जन गर्न सकिने बताइन । “यस वर्ष हामीले विद्यालयमा नयाँ विद्यार्थी थप गर्ने लक्ष्य लिएका छौ ।” उनले भनिन–“त्यसैले हामी घर–घरमै पुगिरहेका छौं ।”
जिल्लाको सबैभन्दा पुरानो विद्यालय बैजनाथ माध्यमीक विद्यालयले पनि विद्यार्थी भर्ना अभियान सञ्चालन गरिरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अच्युत कलौनीले जानकारी दिए । “हामीले नर्सरीदेखी कक्षा नौसम्म नै अंग्रेजी माध्यमबाट समेत पठनपाठन गर्ने तयारी थालेका छौ ।” उनले भने–“हामीले विद्यालयको गुणस्तर वृद्धि गर्दै विद्यार्थीहरुलाई आकर्षित गर्ने योजना बनाएका छौ ।” उनले यस वर्ष विद्यार्थीको संख्या थप्ने लक्ष्य लिएको बताए । हाल यो विद्यालयमा एक हजार विद्यार्थी अध्ययनरत छन ।
सरकारले सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुका लागि दिवाखाजा लगायतका थुप्रै सेवा सुविधा उपलब्ध गराएपनि सामुदायिक विद्यालयमा न्युन विद्यार्थी भर्ना हुने गरेका छन ।