शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

डोटीमा वर्षे रोपाइँ सुरु


पश्चिम प्रेस
बुधबार, जेठ १७ २०८०
  • 1.4K
    Shares

  • images
    images
    डोटीमा वर्षे रोपाइँ सुरु

    डोटी । डोटीका विभिन्न स्थानमा वर्षे धान रोपाइँ सुरु भएको छ । सिँचाइ समस्या नभएका खोला तथा ढाप खेतमा धान रोपाइँ सुरु भएको हो । 

    खोलीखतेका फाँटमा अहिले वर्षे धान रोप्ने चटारो छ । विशेष गरी खोला खेतमामा हलगोरुले रोपाइँ गर्न किसान व्यस्त छन्।  

    जिल्लामा करिब १० हजार हेक्टर क्षेत्रफलमा वर्षे धान लगाइने कृषि ज्ञानकेन्द्र डोटीको दाबी छ । जिल्लाको बोगटान फुड्सिल, बडीकेदार र जोरायल गाउँपालिकालगायतका ठाउँमा धमाधम रोपाइँ सुरु भएको छ । 

    कृषि ज्ञानकेन्द्र डोटीका अनुसार जिल्लामा ३२ हजार दुई सय ७६ हेक्टर क्षेत्रफल जमिन खेतीयोग्यमध्ये करिब  २५ हजार पाँच सय हेक्टर क्षेत्रफलमा खेती गर्दै आए पनि  १० हजार छ सय ८० हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । जिल्लाका अधिकांश पाखा खेतमा भने साउनसम्म पनि रोपाइँ हुने गर्दछ ।

    पछिल्ला वर्षमा श्रमशक्ति र रोपाइँका लागि गोरुको अभाव हुँदै आएको छ । गोरुको अभाव भएसँगै अधिकांश कृषकले पछिल्ला वर्षहरुमा हाते ट्र्याक्टरको प्रयोगबाट पनि खेत रोप्दै आएको ज्ञान केन्द्र डोटीका प्रमुख नरेन्द्र पनेरुले बताए ।    

    जिल्लाका किसानले राघा, सुक्का तिन, हल्दीनाथ, खुमल,  पाल्लपाली, कुशुम, राधा ४,  झिनुवा, मार्सी बाँकी स्थानीय जातका धान लगाउँदै आएका छन् । 

    सिँचाइका लागि राम्रो व्यवस्था गर्नसके जिल्लामा धान खेती पनि विस्तार गर्न सकिने बडीकेदार गाउँपालिका कृषि  शाखा प्रमुख सुरेन्द्र शाहले बताए ।स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारले किसानका लागि सिँचाइ योजना बनाई बाह्रै महिना सिँचाइको सुविधा विस्तार गर्नसकेमा डोटीका अन्य फाँटमा पनि समयमै वर्षे धान रोप्न सकिने  भएकाले  सरकारले सिँचाइ सुविधा वृद्धिमा ध्यान दिन जरुरी रहेको बडीकेदार–५ का किसान तेज भुमीले बताए । 

    साथै स्थानीय सरकारबाट उन्नत जातको धानको बीउसँगै मलखादको व्यवस्था भए किसानलाई राहत हुने पनि भूमीले बताए ।

     

     


  • सम्बन्धित विषय:

  • # रोपाइँ
  • प्रतिक्रिया दिनुहोस