सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

धनधान्यकी देवी महालक्ष्मीको व्रत आरम्भ


शनिबार, असोज ६ २०८०
  • 1.9K
    Shares

  • images
    images
    धनधान्यकी देवी महालक्ष्मीको व्रत आरम्भ

    हिन्दु  सनातन धर्मावलम्बीले भाद्र शुक्ल सप्तमी अर्थात् आश्विन ५ गते शुक्रबारदेखि १६ दिन लामो महालक्ष्मी व्रत आरम्भ गरेका छन्।

    धनधान्यकी देवी महालक्ष्मीलाई प्रसन्न गराउने अवसरका रुपमा यस पर्वलाई लिइन्छ। शुक्रबारदेखि १६ दिन अर्थात् आश्विन कृष्ण सप्तमीसम्म विधिपूर्वक यो व्रत गरिन्छ। यस वर्ष असोज १९ गते शुक्रबारसम्म यो व्रत गरिने भएको छ । यो व्रतका क्रममा ब्रह्मचर्यमा रहनुपर्ने, भूमिमा सुतेर व्रत पूरा गर्नुपर्ने नियम समेत रहेको छ।

    प्रत्येक दिन हविष्य भोजन अर्थात् एक छाक फलाहार र दिनमा एकपटकमात्र नुन खाएर महालक्ष्मी व्रत गरिन्छ। सोह्र दिनसम्म प्रत्येक दिन बेलुकी चन्द्रमालाई अर्घ्य दिने गरिन्छ। यसरी व्रत गरेमा धन, सम्पत्ति, वैभव प्राप्त हुने भक्तजनको विश्वास रहेको छ। यो व्रत विशेष गरेर नारीले गर्ने गरेका छन्। यो व्रतले घरमा महालक्ष्मीको वास भई दुःख दारिद्रय नाश भई सुख शान्ति मिल्ने धार्मिक विश्वास समेत रहेको छ। साक्षात भगावन् शङ्करले यो व्रत विधि माता पार्वतीलाई बताएको विभिन्न ग्रन्थमा उल्लेख गरिएको पाइन्छ । यसका प्रभावले मृत्युपछि पनि दिव्यधाम प्राप्त हुने, अलक्ष्मी नाश हुने विश्वास छ। देवराज इन्द्रले समेत महालक्ष्मीको व्रत एवं पूजा आराधना गरी महालक्ष्मी अष्टकम् नामक स्तोत्रसमेत रचना गर्नुभएको महालक्ष्मी व्रत विधिमा उल्लेख गरिएको छ। बिहान, मध्याह्न र साँझसमेत तीन पटक महालक्ष्मी अष्टकम् पाठ गरेमा धनधान्य, सुख वैभव प्राप्त गर्नुका साथै शत्रुसमेत नाश हुने मान्यता रहेको छ ।

        प्रत्येक वर्ष भाद्र शुक्ल सप्तमीदेखि आश्विन कृष्ण सप्तमीसम्म १६ दिन, आश्विन शुक्ल पूर्णिमा र कार्तिक कृष्ण आमावास्या गरी तीन पटक विशेषरुपमा महालक्ष्मीको पूजा आराधना गर्ने वैदिक परम्परा रहेको पाइन्छ । आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्मको दुर्गा पक्षका क्रममा पनि महाकाली र महासरस्वतीसँगै महालक्ष्मीको पनि विशेष पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा समेत रहिआएको उल्लेख छ।

     

     

     




    प्रतिक्रिया दिनुहोस