सोमबार, मंसिर १८ गते २०८० || Dec 4, 2023
images
images

पितृहरूसँग भावनात्मक निकटता गाँस्ने मनोविज्ञान 'श्राद्ध'


मंगलबार, असोज ९ २०८०
  • 1.3K
    Shares

  • images
    images
    पितृहरूसँग भावनात्मक निकटता गाँस्ने मनोविज्ञान 'श्राद्ध'
    images
    images
    images
    images

    आश्वीन कृष्ण पक्षलाई पितृपक्ष वा सामान्य बोलीचालीको भाषामा सोह्र श्राद्ध भनिन्छ। अज्ञात लोकवासी पितृहरू पनि हाम्रा आनन्दोत्सवमा सम्मिलित होऊन्, शरीरले सम्भव नभए पनि आत्माले हामीसँग रहून्  भनेर उनीहरूप्रति श्रद्धावनत हुनु स्वाभाविक हो । यसरी पितृहरूलाई शास्त्रीय मन्त्रहरूद्वारा मानसिक आवाहन एवं पूजन गर्नु नै श्राद्ध हो, उनीहरूप्रतिको श्रद्धा एवं समर्पण भाव हो ।  एक पक्षमा १५ तिथि हुने भए पनि भाद्र शुक्लपूर्णिमादेखि आश्वीन औँसी सम्मका १६ तिथिमा श्राद्ध गरिने भएकाले यस समयमा गरिने श्राद्धलाई सोह्र श्राद्ध भनिएको हो। कसैकसैले सोह्र दिनको गणना गर्दा आश्व्वीन कृष्णपक्ष प्रतिपदादेखि आश्वीन शुक्ल प्रतिपदा मातामह श्राद्धसम्मका सोह्र दिनलाई लिने गर्दछन्। यसलाई पार्वण श्राद्ध पनि भनिन्छ। असाेज कृष्णपक्षमा गर्नुपर्ने श्राद्धको महिमा विभिन्न पौराणिक ग्रन्थमा समेत उल्लेख गरिएको  छ । आश्वीन महिनाको कृष्ण पक्ष पितृहरूलाई तृप्त तुल्याउने समय हो, त्यसैले यसलाई पितृपक्ष भन्दछन्। एक पक्षमा १५ दिन हुन्छ तर यतिबेला गरिने श्राद्धलाई किन सोह्र श्राद्ध भनिएको भन्ने जिज्ञासा उठ्नु स्वाभाविक हो । खासगरी असाेज कृष्ण प्रतिपदा तिथिदेखि औंसीसम्म १५ दिन र भाद्र शुक्ल पूणिर्माको एक तिथि जोडेर जम्मा सोह्र दिनको समयलाई सोह्रश्राद्ध भनिएको हो। कतै असोज शुक्ल प्रतिपदा तिथिमा गरिने मातामह श्राद्धको दिनलाई समेत गणना गरिएको पनि भेटिन्छ।पन्ध्र दिनको यस पक्षमा मानिस आफ्ना पितृहरूलाई प्रतिदिन जल तर्पण गर्दछन् र तिनको मृत्युतिथि समातेर श्राद्ध गर्दछन्। बाबुआमा दुबै परलोक भएको अवस्थामा बाबुको तिथिको दिनमा नै श्राद्ध गर्ने चलन छ तर आमा मात्र परलोक भइ बुवा जिवित भएको अवस्थामा मातृ नवमिको दिनमा श्राद्ध गर्ने चलन रहीआएकाे पाइन्छ । कहिँ कतै बुवाले हजुर बुवाको श्राद्ध गर्ने दिनमा सम्मिलित भइ आमाको श्राद्ध गर्ने चलन पनि रहेको छ ।

    श्राद्धकाे दिन पिण्ड दान कार्यमा पिण्ड पकाउदा गाईको दुध प्रयोग गर्ने चलन वढी छ । यदि, गाईको दुध अपुग भएमा भैंसीको दुध  मिसाउने चलन पनि छ । यस विषयका जानकारहरु भैसीको दुध प्रयोग गर्न नहुने बताउदै बरु गाईको घ्यू राखी पिण्ड पकाउन उपयुक्त हुने कुरा बताउँछन् ।

       श्राद्धको अघिल्लो दिनलाई एक छाके भनिन्छ । सो दिनमा श्राद्ध गर्ने कर्ताले (पुरुषले) दारि, कपाल र नङ काटी एक छाक खाई शुद्ध हुने चलन छ । श्राद्ध गर्ने ठाउँ समेत शुद्ध हुनुपर्छ । हात्ती, घोडा आदि जनावर बसेको ठाउँ, खनजोत गरिएको ठाउँ र अर्काको घर श्राद्धको लागि उपयुक्त हुदैनन् भन्ने परम्परा रही आएको छ । तर, आजभोलि भाडामा बसेको घरलाई समेत आफ्नै घरसरह मान्ने गरिएको छ । काग, गिद्दको दृष्टि नपुग्ने, घरपालुवा कुकुर आदि जनावरको पहुँच नभएको र प्राङ्गण भएको ठाउँ श्राद्ध कार्य गर्न उपयुक्त मानिन्छ । श्राद्धकर्ता पूर्व वा दक्षिण फर्केर श्राद्ध गर्ने चलन छ । घरको दक्षिण वा अन्य उपयुक्त ठाउँमा श्राद्ध सम्पन्न गर्नुपर्दछ । श्राद्ध गर्ने ठाउँ नजिकै घन, झ्याम्फल, कुटो, कोदालो, काटी जस्ता फलामयुक्त सामानहरु राख्नु हुँदैन । यस्ता सामान यमराज अर्थात् यमदण्डको प्रतिक भएकाले यिनलाई देखेमा पितृहरु डराइ भाग्छन्, प्रवेश गर्दैनन् भन्ने विश्वास समेत रहेको  छ ।

    images

    हाम्रा पौराणिक शास्त्रअनुसार मृत व्यक्तिहरु मृत्यु भएको एक वर्षसम्म प्रेत मार्गमा रहन्छन् अर्थात् पितृ बनिसकेका हुँदैनन् भन्ने मान्यता छ । पितृहरु मोक्ष वा आ–आफ्नो कर्मको परिणाम स्वरुप विभिन्न ठाउँमा पुगि दुःख-सुख भोगीरहेका हुन्छन् भन्ने मान्यता रही आएको छ । जसअनुसार कोही पितृहरु स्वर्ग वा पितृलोक जस्ता ठाउँमा पुगेका हुन्छन्, र उनीहरुलाई कुनै कष्ट भोग्नु पर्दैन भने काेही पितृहरु निच योनिमा जन्मेका, कुनै देहधारण गर्न नसक्ने भई वायु बनेर भौतारी रहेका वा विभिन्न नरकमा परि दुःख पाइरहेका पनि हुन सक्छन् भन्ने बुझाइ रहेको छ ।

    केही मानिस, जसलाई आफ्ना परिजनहरूको मृत्युतिथि थाहा हुँदैन, तिनको समस्यालाई ध्यानमा राखी पितृपक्षका त्यस्ता केही विशेष तिथिहरू निर्धारित गरिएको छ जुन दिन श्राद्ध गर्नाले हाम्रा समस्त पितृजनहरूको आत्मालाई शान्ति प्राप्त हुन्छ। यी प्रमुख तिथिहरू यस प्रकार छन्-

    १) असाेज कृष्णपक्ष पञ्चमी श्राद्ध -   यस तिथिमा ती परिजनहरूको श्राद्ध गर्नु महत्त्वपूर्ण मानिन्छ जसको मृत्यु अविवाहित स्थितिमा भएको छ। यसलाई कुमार पञ्चमी पनि भन्दछन्।

    २) असाेज कृष्णपक्ष नवमी श्राद्ध -  यो तिथि माताको श्राद्धका लागि उत्तम मानिन्छ। त्यसैले यसलाई मातृनवमी भन्दछन्। यस तिथिमा श्राद्ध गर्नाले कुलका सबै दिवङ्गत महिलाहरूको श्राद्ध सम्पन्न हुन्छ भन्ने विश्वास गरिन्छ।

    ३) असाेज कृष्णपक्ष एकादशी एवं द्वादशी श्राद्ध -  यस तिथिका दिन परिवारका ती व्यक्तिहरूको श्राद्ध गर्ने विधान छ जसले संन्यास लिएको छ।

    ४) असाेज कृष्णपक्ष चतुर्दशी श्राद्ध -  यो तिथि ती परिजनहरूको श्राद्धका लागि उपयुक्त छ जसको अकाल मृत्यु भएको छ, जस्तै- दुर्घटना, हत्या, आत्महत्या, शस्त्रद्वारा मृत्यु आदि।

    ५) असाेज कृष्णपक्ष अमावस्या -  कुनै कारणले पितृपक्षका सबै तिथिमा पितृहरूको श्राद्ध सम्पादन गर्न विघ्न परेमा अथवा कुनै पनि पितृको तिथि सम्झना नभएको अवस्थामा यस तिथिमा सबै पितृहरूको श्राद्ध गर्न सकिन्छ। यस दिन श्राद्ध गर्नाले कुलका सबै पितृहरूको श्राद्ध सम्पन्न हुन्छ भन्ने मान्यता रहेको पाइन्छ ।

    ६) असाेज कृष्णपक्ष शुक्ल प्रतिपदा -  यो तिथि मावली बाजेबज्यैको श्राद्धका लागि उत्तम मानिन्छ। यदि मावलीको परिवारमा श्राद्ध गर्ने व्यक्तिको अभाव छ र तिनको मृत्युतिथि पनि थाहा छैन भने यस तिथिका दिन श्राद्ध गर्नाले तिनको आत्मालाई शान्ति प्राप्त हुन्छ भन्ने मान्यता छ र यसबाट घरमा सुख-समृद्धिको प्राप्ति समेत हुने  बताइएको छ।

          सनातन शास्त्रअनुसार साेह्रश्राद्धकाे पक्ष एक प्रकारले हेर्दा पितृहरूको सामूहिक मेला हो । यो पक्षमा सबै पितृहरू पृथ्वीलोकमा बस्ने आफ्ना सन्तानहरूकहाँ बिना आह्वान नै आउँछन् अनि उनीहरूले अर्पण गरेका तर्पण, पिण्ड आदि प्रसादबाट तृप्त भएर उनीहरूलाई आशीर्वाद प्रदान गर्दछन् । त्यसैले पितृको आशिष प्राप्त गर्नका लागि श्राद्ध गर्नुपर्छ समेत भनिएको छ ।

    श्राद्ध पक्षमा आफ्ना पितृहरूको सन्तुष्टि तथा अनन्त एवं अक्षय तृप्तिको कामनाले श्राद्ध गरिन्छ । साथै उनीहरूको शुभ आशीर्वाद प्राप्त गर्ने उद्देश्यले हरेक मानिसले आआफ्ना पितृहरूको श्राद्ध अनिवार्य रूपमा गर्नुपर्छ । जो मानिस आफ्ना पूर्वजहरूको सम्पत्ति उपभोग गर्छ तर उनीहरूको श्राद्ध गर्दैन त्यस्ता मानिसले आफ्ना पितृहरूद्वारा श्राप पाउँछ । फलस्वरूप उसले अनेक प्रकारका शारीरिक एवं मानसिक कष्टको सामना गर्नुपर्ने हुन्छ । उनीहरूको जीवन शान्त हुँदैन भनेर उल्लेख गरिएको पाइन्छ ।

    कुनै आमाबाबुको एकभन्दा धेरै छोरा छन् र उनीहरूबीच धनसम्पत्ति वा अंशबण्डा भएको छैन भने सबैले संयुक्त रूपमा एकै ठाउँमा जम्मा भएर श्राद्ध गर्नुपर्छ । यस्तो स्थितिमा जेठो छोरोले नै श्राद्ध आदि पितृकर्म गर्नुपर्छ । सबै भाइले अलगअलग गर्नु हुँदैन तर

    अंशबण्डा भएर भिन्दाभिन्दै बसेका भए सबै छोराले अलगअलग श्राद्ध गर्नुपर्छ । प्रत्येक सनातनधर्मीले आफूअघिका तीन पुस्ता बाबु, हजुरबुबा र बूढो हजुरबुबाको श्राद्ध गर्नैपर्छ । तर्पण दिँदा तथा पितृपक्षको महालय श्राद्धमा बाबुतर्फका तीन पुस्ता बाहेक आमातर्फका तीन पुस्ता अर्थात् मामाघरको हजरबुबा, बूढो हजुरबुबा तथा कुप्रा हजुरबुबाको श्राद्ध गर्नुपर्छ ।यसका अतिरिक्त आवश्यक परेकाे खण्डमा पुराेहित, गुरु, ससुरा, ठूलोबा, काका, मामा, भाइ, ज्वाइँ, भतिजा, शिष्य, भानिज, फुपू, सानिमा, ठूल्यामा, पुत्र, मित्र, विमाताका पिता तथा उनका पत्नीको पनि श्राद्ध गर्नुपर्छ भन्ने शास्त्रीय निर्देशन पाइएकाे बताइएको छ ।

         जसले श्रद्धापूर्वक श्राद्ध गर्छ, उसको बुद्धि, पुष्टि, स्मरणशक्ति, धारणाशक्ति, पुत्रपौत्रादि एवं ऐश्वर्यको वृद्धि हुन्छ । आनन्दपूर्वक सांसारिक सुखभोग गर्न पाउँछ भन्ने शास्त्रीय कथन छ ।तसर्थ अज्ञात लोकवासी पितृहरू पनि हाम्रा आनन्दोत्सवमा सम्मिलित होऊन्, शरीरले सम्भव नभए पनि आत्माले हामीसँग रहून् भनेर उनीहरूप्रति श्रद्धावनत हुनु स्वाभाविक हो । यसरी पितृहरूलाई शास्त्रीय मन्त्रहरूद्वारा मानसिक आवाहन एवं पूजन गर्नु नै श्राद्ध हो, उनीहरूप्रतिको श्रद्धा एवं समर्पण भाव हो । मनको भावना प्रबल हुन्छ भन्ने सत्यलाई इन्कार गर्न सकिँदैन । श्रद्धाभिभूत मनका अगाडि स्वर्गीय आत्मा सजीव एवं साकार भएर उपस्थित हुन्छन् ।

    श्राद्धमा मातापिता एवं अन्य पितृका रूपको ध्यान गर्नु आवश्यक कर्तव्य बताइएको छ । यसरी आफ्ना पितृहरूसँग भावनात्मक निकटता गाँस्ने मनोविज्ञान श्राद्धसँग जोडिएको छ ।




    प्रतिक्रिया दिनुहोस