महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगर बजार क्षेत्रलाई आधुनिक सहर बनाउने लक्ष्यसहित सुरु गरिएको सडकलगायत पूर्वाधार निर्माणको ८५ प्रतिशत काम सकिएको छ । एसियाली विकास बैंक एडीबी को सहयोगमा तीन वर्षअघि देखि महेन्द्रनगर बजारका सडक, यहाँस्थित एयरपोर्ट रोड, सडक पेटी, नाली, फुटपाथ, साइकल लेन र पार्किङ लगायतको निर्माणका लागि रु एक अर्बमा ठेक्का भएको थियो ।
आधुनिक सहर निर्माणको जिम्मेवारी पाएको जेडआइसी–लामा जेभीले निर्माण अन्तिम चरणमा पुगेको र केही प्रक्रियागत अल्झन्का कारण मात्रै ढिलाइ भएको जनाएको छ । उक्त योजनाअन्तर्गत महेन्द्रनगर बजार र आसपासको क्षेत्र गरी १४ किलोमिटर सडक कालोपत्र, २२ किलोमिटर नाली, फुटपाथ लगायतका संरचना निर्माणको काम रहेको थियो । जेडआइसी–लामा जेभीका इन्जिनियर भूपेन्द्रबहादुर सिंहले मदनचोक क्षेत्रको सडकमा पर्ने २१ वटा सटर खाली गराउनुपर्ने र बजार क्षेत्रमा बिजुलीका पोल सार्ने कामको ढिलाइले निर्माणको अवधि लम्बिएको बताए । “बिजुलीका पोल सार्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ, भीमदत्त नगरपालिकाले सडक हटाउन पनि पहल गरेको छ ।” उनले भने “त्योबाहेक अधिकांश काम अन्तिम चरणमा रहेको छ ।”
यता भीमदत्त नगरपालिकाले फोहरमैला प्रशोधन केन्द्रका लागि जग्गा प्राप्ति गर्न नसक्दा उक्त शीर्षकको बजेट भने फिर्ता गएको छ । नगरपालिकाले प्रशोधन केन्द्रका लागि जग्गा खोजबिन गरे पनि केही स्थानमा स्थानीयवासीको अवरोधपछि सो विषयले सार्थकता पाउन सकेको छैन । नगरपालिकाका प्रवक्ता महेन्द्र पाण्डेयले एसियाली विकास बैङ्कको सहयोगमा महेन्द्रनगरमा थप पाँच किलोमिटर सडक निर्माण हुने बताए। “दोस्रो चरणका लागि सडक छनोटका कार्य नगरपालिकाले गरिसक्यो,” उनले भने, “सो विषय नगरपालिकाले एडिबीलाई निर्णय गरेर प्रदान गरिसकेको छ ।” उनले फोहरमैला प्रशोधन केन्द्रका लागि जग्गा खोजिएको स्थानमा स्थानीयवासीले विरोध गर्दा समस्या भएको बताए।
एसियाली विकास बैंकले सुदूरपश्चिमका चारवटा पालिकालाई छनोट गरी आधुनिक सहर निर्माणलाई अघि बढाएको छ । जसमा कैलालीको धनगढी उपमहानगरपालिका, अत्तरिया नगरपालिका र कञ्चनपुरको शुक्लाफाँटा र भीमदत्त नगरपालिकामा निर्माणकार्य भइरहेको छ । योजनाअन्तर्गत धनगढी उपमहानगरपालिकामा फोहरमैला प्रशोधन निर्माणका लागि स्थान उपलब्ध गराइए पनि वन लगायतको प्रक्रियागत कारणले निर्माण व्यवसायीले प्रशोधन केन्द्रको काम गर्न पाएको छैन । अत्तरिया र शुक्लाफाँटा नगरपालिकामा भने प्रशोधन केन्द्रको निर्माण धमाधम भइरहेको छ ।
.gif)