महेन्द्रनगर । ब्रिष्टन कलेजले आयोजना गरेको तीन दिने रोजगार मेला आज (शनिवार) सम्पन्न भएको छ ।
तीन दिनसम्म चलेको मेला विद्यार्थीहरूका लागि उत्साहपूर्ण रह्यो । मेलामा यहाँका स्थानीय,व्यवसायीहरू विभिन्न विद्यालयका विद्यार्थी तथा शिक्षक लगायत २० हजार भन्दा बढीले मेलाको अवलोकन गरेको कलेजले जनाएको छ ।

कलेजले आफू कसरी स्वरोजगार बन्ने र त्यसका लागि कस्तो शिक्षा वा सीप सिक्ने भन्ने विषयमा जानकारी दिन तीन दिने ‘रोजगार मेला’ आयोजना गरेको हो । स्थानीय उत्पादन र सीपलाई विशेष महत्त्व दिइएको उक्त कार्यक्रममा यस क्षेत्रमा प्रयोग हुँदै आइरहेका परम्परागत खानाका परिकार, उत्पादन सामग्रीहरू प्रदर्शन एवम् बिक्रि वितरणका लागि राखिएका थिए । जसमा कोदाको मःम, कोदाको रोटी, मकैको रोटी, मट्का चिया मुख्य आकर्षण रहेको थिए ।
विद्यार्थीहरूले विद्यालयमा सिकेको सैद्धान्तिक ज्ञानलाई स्थानीय स्तरमा कसरी व्यवहारमा प्रयोग गर्ने र त्यसबाट कसरी रोजगारीको सिर्जना गरी मुनाफा कमाउन सकिन्छ भन्ने ज्ञानको व्यवहारिक प्रयोग रोजगार मेलाका माध्यमबाट सिकाउन खोजिएको थियो ।

कलेजले विद्यालयमा अध्ययनरत उत्कृष्ट व्यापारिक योजना भएका १० वटा समूहलाई बिना धितो, बिना ब्याज व्यवसाय सञ्चालन गर्न रु ४० हजार रकम ऋण समेत प्रदान गरेको थियो । विद्यार्थीले उक्त ऋणबाट विभिन्न खानाका परिकार लगायत रचनात्मक खेल खेलाउने सम्मका स्टलहरू राखेका थिए । उक्त ऋण सिर्जनात्मक विद्यार्थीका लागि ठुलो सहयोग बन्यो । विद्यार्थीका विभिन्न समूहले सञ्चालन गरेका १८ वटा स्टलहरुमा विद्यार्थीहरूले उत्साहका आफ्नो कला प्रस्तुत गरे ।

मेलामा यहाँका स्थानीय उत्पादन र खानाका परिकारहरु अवलोकनकर्ताका लागि आकर्षणको केन्द्र बने । ब्रिष्टन कलेजका प्रिन्सिपल निशा भट्टले विद्यार्थीहरुलाई व्यवहारिक ज्ञानको सिर्जना गर्न र क्षमता विकासका लागि मेला आयोजना गरिएको बताए ।


.gif)