मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

३६ वर्षदेखि कुखुराको व्यापारमा तल्लिन छविलाल


पश्चिम प्रेस
बुधबार, फागुन २ २०८०
  • 585
    Shares

  • images
    images
    ३६  वर्षदेखि कुखुराको व्यापारमा तल्लिन छविलाल

    महेन्द्रनगर । तीन दशकअघिदेखि शुक्लाफाँटा नगरपालिका– ९ सिसैयाका ५४ वर्षीय छविलाल सार्की साइकल चढेर बिहानीको झिसमिसेमै गाउँबस्तीमा स्थानीय जातका कुखुरा खोज्छन। स्थानीय जातका कुखरा गाउँघरबाट खरिद गरी उनले बेच्ने गर्दै आएका छन ।

    कुखुरा बेचेर आउने रकमले सार्की परिवारको घरखर्च चल्ने गरेको छ । दैनिक १० देखि २० किलोसम्म कुखुरा बेच्ने गरेको उनी बताउँछन  । “साइकल चढेर दैनिक गाउँघरमा पुग्छु”, उनले भने, “गाउँबाट खरिद गरिएका कुखुरा महेन्द्रनगर, अत्तरियालगायतका बजारमा पुर्याएर बेच्ने गर्छु, यो कार्य ३६ वर्षअघिदेखि गर्दै आएको छु ।” अठार वर्षको उमेरदेखि कुखुरा खोज्ने र बेच्ने कार्यमा सार्की संलग्न छन् । “घरको आर्थिक अवस्था कमजोर हुँदा विद्यालय पढ्न पाइनँ”, सार्कीले भने, “आमाबुवाले विद्यालय पठाएनन्, दलित समुदायको भएर होला पढ्नुपर्छ भन्ने त्यसबेला चेतना नै थिएन, जीवन चलाउनका लागि केही त गर्नैपर्यो, त्यही भएर कुखुरा खोज्ने बेच्ने कार्यमा लागेँ ।”

    आर्थिक अवस्था निकै नाजुक भएकाले बुवाले घरमै पालिएको कुखुरा बेच्न बजार पठाए, त्यसबेला कुखुरा प्रतिकिलो रु ३० मा बिक्री हुन्थ्यो”, विगत सम्झै सार्कीले भने, “कुखुरा बेचेर नगद रकम हातमा पर्यो, खरिद गर्ने व्यक्तिले अरु कुखुरा भए ल्याउन भने, मनमनै सोचे यसै कार्यलाई व्यापार बनाएर जीविका चलाउने आधार बनाए अघि बढ्ने निधो गरेँ ।” त्यसपछि कुखुरा खोज्ने, बिक्री गर्ने कार्य गर्न थालेको उनले बताए । कुखुरा खरिद गर्नका लागि पैसा नभएपछि आफन्तसँग केही रकम सापटी मागेर कुखुरा खरिद गर्न थालेको उनी स्मरण गर्छन । महेन्द्रनगर बजार पुर्याएर बेच्ने गर्न थालेपछि आम्दानी सोचेजस्तै भएपछि यस कार्यलाई अहिले पनि नछाडेको उनले बताए ।

    गाउँघरबाट रु छ सय प्रतिकिलोका दरले सार्कीले कुखुरा खरिद गरेर बजारमा पुर्याएर रु छ सय ५० मा बिक्री गर्छन । जसबाट उहाँको मासिक आम्दानी रु २० देखि २५ हजारसम्म हुने गरेको छ । कुखुरा बेचेर आएको आम्दानीबाट सार्कीले गाउँमा तीनकोठे पक्की घर ठड्याएका छन  । उनले चार छोरीको पढाइसँगै विवाह खर्च कुखुरा बेचेकै पैसाबाट व्यहोर्नुभएको छ । उनका एक छोरी विद्यालयमा पढ्दैछिन् भने छोरा यस वर्ष कमाउनका लागि भारततर्फ लागेका छन् । “पहिले स्थानीय जातका कुखुरा विशेषगरी थारू समुदायका घरघरमा निकै बढी हुने हुँदा खोज्न बढी परिश्रम गर्नु पर्दैनथ्यो”, उनले भने, “हाल थोरै परिवारका घरमा मात्रै स्थानीय जातका कुखुरा पाइने गरेका छन्, कुखुरा खोज्नका लागि टाढाटाढाका गाउँसम्म पुग्नुपर्ने हुन्छ ।” कुखुरा पाइएका दिन आम्दानी हुने भए पनि कुखुरा नपाइएका दिन रित्तो हात घर फर्कनुपर्ने अवस्था पनि हुने गरेको उनले सुनाए । घरमा उनको आफ्नो स्वामित्वको सात कठ्ठामात्रै जग्गा छ ।

    वर्षभरिका लागि जग्गामा उत्पादन हुने अन्नले नपुग्दा बजारबाट कुखुरा बेचेकै पैसाले खरिद गरी साँझ बिहानको छाक टार्नुपर्ने अवस्थासमेत उहाँलाई आइलाग्ने गरेको छ । नुन, तेल, सोडा साबुन, लुगाफाटोलगायतका घरायसी खर्च कुखुरा बेचेकै पैसाले व्यहोर्दै आएको उनी बताउछन। वर्षौँदेखि यसै पेसामा लागेकाले अधिकांश गाउँका बासिन्दाले उनलाई चिन्छन् । चिनजान बढ्दै जाँदा कुखुरा खोज्न सहज हुने गरेको बताए । “यस व्यापारमा लागेपछि अरुसँग हात फैलाएर माग्न गएको छैन”, उनले भने, “अरुलाई आपत्विपत् पर्दा सहयोग गरेको छु, आफू र परिवार खर्च सहजरूपमा चलाउँदै आएको छु, यसमै खुसी छु, ।” 
    वडाध्यक्ष रमेशबहादुर ऐर छविलाललाई पौरखीका रूपमा चिन्ने गर्दछन् । “आफैँ पौरख गरेर जीविका चलाउने व्यक्तिका रूपमा उहाँलाई चिनेको छु”, उनले भने, “आफ्नो कार्यमा सधैँ खटिरहन्छन्, युवाहरूका लागि उहाँ प्रेरणाका स्रोतका रूपमा रहेका छन् ।” रासस 


  • सम्बन्धित विषय:

  • # कुखुराको व्यापार
  • # छविलाल सार्की
  • प्रतिक्रिया दिनुहोस