महेन्द्रनगर । निर्वाचन क्षेत्र रणनीतिक सडक विकास कार्यक्रम अन्तर्गत कैलाली र कञ्चनपुरमा ८० किलोमिटर सडक कालोपत्र गर्ने तयारी भएको छ । यहाँको प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा उक्त कार्यक्रम अन्तर्गत प्रत्येक निर्वाचन क्षेत्रमा दश किलोमिटर सडक कालोपत्र हुने सडक डिभिजन महेन्द्रनगरले जनाएको छ ।
सडक डिभिजन महेन्द्रनगरका प्रमुख नरेन्द्र भट्टले प्रत्येक निर्वाचन क्षेत्रमा दश किलोमिटर सडक निर्माणका लागि २५ करोडका दरले सङ्घीय सरकारबाट बजेट विनियोजन भएको जानकारी दिए । उनले चालु आर्थिक वर्षबाट काम थाल्ने गरी कञ्चनपुरका तीन वटा र कैलालीका पाँच वटा निर्वाचन क्षेत्रमा सडक निर्माणका लागि ठेक्का प्रक्रियामा गइसकेको बताए । सडक डिभिजन महेन्द्रनगर अन्तर्गत अहिले कञ्चनपुर र कैलालीमा गरी २२ वटा पक्की पुल निर्माणाधीन अवस्थामा छन् । “साना र ठूला गरी निर्माण भइरहेका २२ वटा पुलमध्ये अधिकांश यही आर्थिक वर्षमा बनिसक्छन् ।”, भट्टले भने,“ यहाँ प्राविधिकलगायतका कारणले रोकिएका पुललाईसमेत निर्माणका लागि पहल भएको छ ।”
सडक डिभिजन महेन्द्रनगरले पूव–पश्चिम महेन्द्र राजमार्गको नियमित, पट्के र आवधिक मर्मतलाई पनि निरन्तरता दिएको छ । उक्त कार्यालयले कञ्चनपुरको गड्डाचौकीदेखि कैलालीको चिसापानीसम्मको राजमार्ग मर्मत, संरक्षण र सुधार गर्दै आएको भट्टको भनाइ थियो । “कैलालीको चौमालादेखि गर्भा दरबारसम्मको सडक अन्तर्गत वातावरणीय प्रभाव मूल्याङ्कनको काम बाँकी रहेकाले उक्त निर्वाचन क्षेत्रको सो कार्यक्रम ढिलो हुने देखियो”, सडक डिभिजन महेन्द्रनगरका प्रमुख भट्टले भने,“अरु यहाँका सबै निर्वाचन क्षेत्रमा काम स्ुरु गर्न निर्माण व्यवसायीलाई सम्झौताका लागि बोलाउने तयारी छ ।” निर्माणको अवधि दुई वर्षको हुनेछ । त्यसैगरी पछिल्ला वर्षमा कैलाली र कञ्चनपुरमा सडक, पुललगायतका पूर्वाधार निर्माण धमाधम भइरहेका छन् ।
.gif)