महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा १५ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । आज (शनिवार) देखि भीमदत्त नगरपालिका वडा नम्बर ४ स्थित कबडहलमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता र प्रथम आधारभूत तह स्तरीय खेलकुद प्रतियोगिता सुरु भएको हो ।
शनिवार कबर्डहलमा भीमदत्त नगरपालिकाका मेयर पदम बोगटीले प्रतियोगिताको उद्घाटन गर्दै खेलकुदमा अनुशासन अपरिहार्य रहेको बताए । उनले प्रतियोगितामा सहभागी विद्यालयका विद्यार्थीहरूले आफ्नो अनुशासनमा रहेर खेलमा भाग लिन आग्रह गरे ।
मेयर बोगटीले मार्च पास कार्यक्रमलाई सलामी अर्पण गरेका थिए । मार्च पासमा ४५ विद्यालयको सहभागिता रहेको थियो । यसै गरी शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख हरि दत्त जोशीले विद्यार्थीहरूको चौतर्फी विकासका लागी खेलकुद अपरिहार्य रहेको बताए ।
खेलकुद खेलकुद सदस्य दिवाकर जोशीका अनुसार, राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ५६ विद्यालय र प्रथम आधारभूत स्तरीय खेलकुद प्रतियोगितामा ६१ विद्यालय सहभागी रहेका छन् ।
प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, मार्सल आर्ट्सका खेलहरू हुने भएका छन् । यी खेलमा एथलेटिक्स अन्तर्गत १३ विधा, भलिबल र कबड्डी छात्र र छात्रा दुवै तथा मार्सल आर्ट्समा कराँते र तेक्वान्दो र उसुको खेल हुने छन् । तेक्वान्दो र कराँतेका ६ र ६ इभेन्ट समावेश गरिएको छ ।
यस्तै, आधारभूत तह अन्तर्गत दौड प्रतियोगिता, लङजम, कबड्डी छात्र–छात्रा र बुद्धिचाल प्रतियोगिता (चेस) हुने भएका छन् ।
प्रतियोगिता पुस २४ गते सम्म चल्ने आयोजकले जनाएको छ ।
.gif)