महेन्द्रनगर । नेपाल सरकारले यही माघ २२ गतेदेखि एचपीभी खोप अभियान सुरु गर्ने भएको छ । १० देखी १४ वर्ष उमेर समूहका किशोरीहरूलाई लक्षित गरेर सरकारले अभियान नै सञ्चालन गरी पाठेघरको मुखको क्यान्सर विरुद्धको उक्त खोप लगाउन थालेको हो । अभियान अन्तर्गत कञ्चनपुर सहित सुदूरपश्चिमका विभिन्न जिल्लामा खोप लगाउने कार्य अन्तिम चरण्मा पुगेको छ ।
यसैबिच कंचनपुरमा २७ हजार ७५५ किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप (एचभीपी) लगाइने भएको छ । विद्यालय जाने (कक्षा ६–१० मा अध्ययनरत) २७ हजार ७५५ किशोरीलाई एचपीभी खोप लगाउन लागिएको हो ।
माघ २२ देखि फागुन ४ गतेसम्म सञ्चालन हुने उक्त खोप कार्यक्रमका लागि ४२६ खोप केन्द्र तोकिएको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ । जसमा ३४४ खोप केन्द्र विद्यालय र ८२ खोप केन्द्र स्वास्थ्य संस्थाहरूमा तोकिएको स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख ओम प्रकाश जोशीले बताए ।
उनले खोप कार्यक्रमका लागि सबै जिल्लाका ९ वटै पालिकामा ४२६ खोप स्वास्थकर्मी र ८५२ स्वयंसेवक पठाइने उनले बताए ।
पाठेघरको क्यान्सरको मुख्य कारण एचपीभी संक्रमण भएकाले यसको निदानका लागि खोप लगाउन सरकारले अभियान सञ्चालन गरेको जोशीले जानकारी दिए । उनका अनुसार एचपीभी भाइरस २०० भन्दा बढी प्रजाति हुन्छन् । उक्त भाइरसहरू मध्ये मानव शरीरमा क्यान्सर गराउने प्रजाति भने १२ प्रकारका मात्रै हुने उनले बताए । जसमा १६, १८, ३१, ३३, ३५, ३९, ४५, ५१, ५२, ५६, ५८ र ५९ रहेका जोशीको भनाई छ । जोशीका अनुसार एचपीभीको १६ र १८ नम्बर प्रजातिले क्यान्सर गराउने सबैभन्दा बढी जोखिम हुन्छ । ती दुई प्रजातिबाट मात्रै करिब ८० प्रतिशत पाठेघरको मुखको क्यान्सर भएको तथ्याङ्कले देखाउने गरेको उनले बताए ।
के हो पाठेघरको मुखको क्यान्सर
यो रोग महिलाहरूको पाठेघरको मुखमा हुने रोग हो । यो क्यान्सर मुख्य गरेर एचपीभी भाइरसको संक्रमण बाट हुने गर्दछ । पाठेघरको मुखको क्यान्सरबाट नेपालमा हरेक दिन ४ जना महिलाहरूको मृत्यु हुन्छ भन्ने अनुमान रहेको जोशीले बताए । नेपालमा महिलाहरूमा हुने क्यान्सरहरू मध्ये यो क्यान्सर दोस्रो नम्बरमा रहेको तर क्यान्सरबाट महिलाहरूको मृत्यु हुनेमा भने यो क्यान्सर पहिलो नम्बरमा रहेको उनको भनाई छ ।
पाठेघरको मुखको क्यान्सर यौन सङ्क्रमणबाट फैलने भाइरस भएको उनले बताए । यौनजन्य क्रियाकलापमा संलग्न व्यक्तिहरू कुनै न कुनै समयमा यो भाइरसबाट सङ्क्रमित हुने उनको भनाई छ । उनका अनुसार यो पाठेघरको मुखको क्यान्सर भए सुरुको अवस्थामा कुनै पनि लक्षणहरू देखिँदैनन् । तर सो क्यान्सर भएमा भने तल्लो पेट दुख्ने, योनीबाट गन्हाउने पानी बग्ने, अनियमित रूपमा रगत बग्ने, धेरै रगत बग्ने, रक्त अल्पता हुने, कमजोर महसुस हुने जस्ता लक्षणहरू देखिन सक्ने जोशीले बताए ।
खोप कत्तिको प्रभावकारी र सुरक्षित छ ?
जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख ओम प्रकाश जोशीका अनुसार एचपीभी खोप नेपालका अन्य खोपहरू जस्तै सुरक्षित र प्रभावकारी रहेको छ । उनले विश्व स्वास्थ्य संगठनबाट गुणस्तरीय भएको प्रमाणित भएकाले पनि यसलाई प्रभावकारी मान्न सकिने बताए । त्यस्तै खोपहरू औषधी व्यवस्था विभागमा पनि दर्ता हुने गरेको उनले बताए । उनका अनुसार उक्त खोप नेपालमा प्रयोग गर्नका लागि गत वर्ष नै औषधी व्यवस्था विभागबाट अनुमति प्राप्त भएको थियो । तत्कालीन अवस्थामा उक्त खोप सात वटै प्रदेशका १४ वर्षका करिब १० हजार किशोरीहरूलाई लगाइएको थियो । सो समयमा कुनै पनि किशोरीलाई गम्भीर प्रकारको समस्या नदेखिएको जोशीले बताए ।
खोपका असरहरू के के छन् ?
यो खोप सुरक्षित भएकाले त्यस्ता कुनै पनि असामान्य असरहरू नदेखिने स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ । कार्यालय प्रमुख समेत रहेका जोशीका अनुसार खोपका कारण कुनै असामान्य समस्या नदेखिए पनि सामान्यतया केही असरहरू देखिन सक्छन् । जसमा सुई लगाएको ठाउँमा दुख्ने, सुन्निने, रातो हुने, ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, रिंगाटा लाग्ने, मांसपेशी दुख्ने, थकाई लाग्ने, पेट दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने लगायत रहेका छन् । तर यस प्रकारका समस्याहरू केही समयपछि आफै ठिक भएर जाने जोशीको भनाई छ ।
.gif)