शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

आजदेखि निःशुल्क ‘एचपीभी खोप’ लगाउन सुरु


पश्चिम प्रेस
मंगलबार, माघ २२ २०८१
  • 717
    Shares

  • images
    images
    आजदेखि निःशुल्क ‘एचपीभी खोप’ लगाउन सुरु

    महेन्द्रनगर । १० देखि १४ वर्षका किशोरीलाई आजदेखि निःशुल्क ‘एचपीभी खोप’ लगाउन सुरु गरिएको छ । 

    विश्व क्यान्सर दिवसको अवसर पारी कञ्चनपुरमा निःशुल्क ‘एचपीभी खोप’  लगाउन सुरु गरिएको हो । 

    कञ्चनपुरको भीमदत्त नगरपालिका स्थित जानकी कन्या माध्यमिक विद्यालयमा खोपको उद्घाटन गरिएको छ । कक्षा ६ कि छात्रा दीक्षा पन्तले पहिलो खोप लगाइन । खोप कार्यक्रमका अध्यक्ष एवम् जिल्ला खोप समन्वय समितिका प्रमुख दुर्गा दत्त बोहराले खोप लगाउन सबैमा आग्रह गरे  उनले खोप लगाउन कोही पनि नछुट्न आग्रह गरे । 

    कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाले किशोरीहरूलाई अनिवार्य रुपमा खोप लगाउन आग्रह गरे  । स्वास्थ्य कार्यालय कञ्चनपुरले  आजदेखि जिल्लाभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपीभी खोप’ दिँदै छ ।

    विद्यालय केन्द्रित यो खोप अभियान आजदेखि फागुन ६ गतेसम्म जिल्लाभर एकै पटक सञ्चालन गर्न लागिएको कार्यालयले बताएको छ । 

    महिलाहरूमा हुने क्यान्सरमध्ये पहिलो स्थानमा रहेको पाठेघरको मुखको क्यान्सरको जोखिमबाट जोगाउने उद्देश्यले एचपीभी खोप अभियान सञ्चालन गर्न लागिएको हो । स्वास्थ्य कार्यालयका अनुसार  जिल्लाभर करिब २७ हजार किशोरीलाई खोप दिन लागिएको छ । 

    यस अभियानमा २७ हजार ७५५ जना किशोरीलाई खोप दिइने लक्ष्य स्वास्थ्य कार्यालयले राखेको छ । विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका किशोरीलाई खोप दिन लागिएको स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख ओम प्रकाश जोशीले बताए । 

    कार्यालय प्रमुख जोशीले जिल्लाभर आजदेखि तोकिएको उमेर समूहका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) खोप दिन लागिएको बताउँदै सबै जना आआफ्नोतर्फबाट अभियानमा जोडिन आग्रह गरे ।  

    वरिष्ठ जनस्वास्थ्य अधिकृत  ओम प्रकाश जोशीले खोप अभियानमा ३४४ विद्यालयका खोप केन्द्र र ८२अन्य खोप केन्द्र रहने बताए । उनका अनुसार ८५२  स्वयंसेवक खटाइएका छन् । 

    चिकित्सकका अनुसार पाठेघरको मुखको क्यान्सरबाट बच्न सुरुवातीअवस्थामा निदान भई उपचार गर्न सकिए यो रोगबाट बच्न सकिन्छ । पाठेघरमा हुने क्यान्सरबाट जोगिनका लागि एचपिभी खोप लगाइन्छ ।

    पाठेघरको मुखको क्यान्सरको प्रमुख कारण ह्युमन प्यापिलोमा भाइरसको सङ्क्रमणले हुने महाकाली प्रादेशिक अस्पतालका प्रमुख डा. अर्जुन भट्टले बताए । मुलुकभर महिलामा हुने क्यान्सरमध्ये यो पहिलो स्थानमा र विश्वमा चौथो स्थानमा रहेको उनले जनाए । 

    उनका अनुसार पाठेघरको मुखमा हुने क्यान्सरमध्ये ९० प्रतिशतभन्दा बढी क्यान्सर एचपीभीले गराउँछ । “एचपीभी खोपले पाठेघरको मुखको क्यान्सरको जोखिम घटाउन सहयोग गर्छ । विश्वमा यसको सफल परीक्षण भइसकेको छ । यो सुरक्षित र प्रभावकारी पाइएको छ,” उनले भने, “नकारात्मक असर देखिएको छैन । बाँझोपन हुने वा महिनावारी गडबडी हुनेलगायत बुझाइ गलत हुन्  । ढुक्क भएर लगाउँदा हुन्छ ।” 

    जनस्वास्थ्य अधिकृत जोशीले जिल्ला भरीका नौ ओटै पालिकाहरूमा खोप अभियान आज देखि सुरु भएको बताए ।


    प्रतिक्रिया दिनुहोस