मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

सीमा पुलबाट समृद्धिको आशा


शनिबार, फागुन २८ २०७८
  • 1.5K
    Shares

  • images
    images
    सीमा पुलबाट समृद्धिको आशा

    महेन्द्रनगर । भारत ब्रिटिसको उपनिवेश रहेका बेला महाकाली नदीमा फलामको पुल बन्यो । करिब डेढ शताब्दीअघि बनेको उक्त पुललाई भारतले शारदा नदीको पुल भन्ने गर्छ । नेपालले महाकालीको पुल भने पनि अंग्रेजहरूले बनाएको उक्त पुल पूरै भारतमा पर्छ ।चलचित्रका सो जस्तै दिनमा तीन पटक मात्रै ढोका खोल्ने पुल पश्चिम नेपालको समृद्धिको बाधक छ । नेपाल सरकारले नेपालकै भूमिमा पर्ने गरी महाकालीमा चार लेनको पुल निर्माण गरिरहेको छ । करिब तीन अर्बको लगानीमा २०७४ सालदेखि निर्माण सुरु भएको चार लेनको पक्की पुलको निर्माण ८१ प्रतिशतभन्दा बढी भइसकेको छ । 

    कञ्चनपुरको भीमदत्त नगरपालिकाको वडा नम्बर–१२ ओदाली र पारि दोधारा र चाँदनी नगरपालिकामा चार लेनको पुल बन्न लागेको हो । सुदूरपश्चिमको मुख्य नाकाका रूपमा रहेको महाकालीमा बन्न लागेको चार लेनको पक्की पुल त्रिदेशीय नाकाको रूपमा विस्तार गर्न सके सुदूरपश्चिम प्रदेशकै समृद्धि हुने अपेक्षा गरिएको छ । महाकाली पारिका गाउँ भनेर चिनिने दोधारा चाँदनीवासीलाई समेत यस पुलले भारतीय बाटो प्रयोग गरेर महेन्द्रनगर आवतजावत गर्नुपर्ने बाध्यताबाट मुक्त गर्नेछ । भारतका प्रमुख व्यापारिक सहरहरू यहाँबाट छोटो दूरीमा पर्छन । भारतको राजधानी दिल्ली त्यो पुलबाट साढे ३ सय किलोमिटरको मात्रै दूरीमा छ । अझ भारतका औद्योगिक क्षेत्रहरू नोयडा, गुडगाउँ, रुद्रपुरलगायतका औद्योगिक क्षेत्र नेपालको पश्चिमी सीमाबाट नजिक छन ।

    कञ्चनपुरको आर्थिक विकास र नेपाल–भारत सहज आवागमनका लागि पनि महाकाली नदीमा बन्न लागेको पुल महत्वका साथ हेरिएको छ । हालसम्म प्रयोगमा आएको शारदा ब्यारेजको पुल भारतीय एकाधिकारका कारण यहाँका व्यवसायीहरूले सहज रूपमा आयात निर्यात गर्न पाएका छैनन । सीमित समयका लागि खुल्ने शारदा ब्यारेजमा ठूला सवारीसाधनसमेत आवतजावतमा रोक लगाएका कारण यहाँको व्यवसायमा ठूलो प्रभाव परेको व्यवसायीहरू बताउँछन । सुदूरपश्चिमको मुख्य नाकाका रूपमा रहेको महाकालीमा बन्न लागेको चार लेनको पक्की पुल त्रिदेशीय नाकाको रूपमा विस्तार गर्न सके सुदूरपश्चिम प्रदेशकै समृद्धिको कोसे ढुङ्गाको रुपमा साबित हुने व्यवसायिहरुको भनाई छ ।

    हाल महाकालीमा रहेको शारदा ब्यारेज दैनिक सात घण्टा मात्रै खुला हुन्छ त्यसमा पनि ठूला मालवाहक सवारीलाई आवागमनमा रोक लगाएको छ । भने भारत निर्यात हुने कच्चा पदार्थ र भारतमा उत्पादित वस्तु आयात गर्न लामो बाटो घुमाएर ल्याउनुपर्ने बाध्यता रहेको छ । बिहान ६ बजेदेखि ८ बजेसम्म दिउँसो १२ बजेदेखि ३ बजेसम्म र साँझ ६ देखि ८ बजेसम्म गरी दिनमा तीन घण्टा मात्रै ब्यारेज खुल्ने भएकाले नेपाली व्यापारी परेसान छन । सो समयमा सात टनभन्दा बढी सामान ल्याउन निषेध गरिएको छ । अर्कोतर्फ पर्यटनको समेत ठूलो सम्भावना बोकेको सुदूरपश्चिम भारतको राजधानी दिल्लीमा रहेको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलसंग छोटो दुरीमा पर्नेछ । जसका कारण तेस्रो मुलुकका नागरिकहरुले समेत पश्चिममी सिमानाका भएर आवतजावत गर्ने र यहाँको पर्यटट व्यवसाय पनि फष्टाउने छ ।

    अर्कोतर्फ महाकाली पारीको गाउँ भनेर चिनिने दोधारा चादनी नगरपालिका पनि महेन्द्रनगरसंग जोडिने छ । महेन्द्रनगरदेखी दोधारा चादनीसम्म सहज यातायात नहुँदा यहाँका स्थानीयले सास्ती खेप्नुपरेको छ । स्वास्थ्य उपचार देखी निमार्ण सामाग्रीहरुका लागि चारपाङ्ग्रे सवारी भारतको बाटो प्रयोग गरेर ल्याउनुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन । दोधारा–चाँदनी नगरपालिकालाई दुई दशकअघि बनेको १ हजार ४ सय ९५ मिटर लामो झोलुंगे पुलले पनि निकै राहत दिएको थियो । व्यक्ति र दुईपांग्रे सवारीले महाकाली तर्न यही झोलुंगे बनेपछि मात्र सम्भव भएको थियो। दोधारा चाँदनीमा ५४ हजारभन्दा बढी जनसंख्या छ ।महाकाली पुल निमार्ण कम्पनीले पुल निमार्णको काम सम्पन्न भइसकेको जनाएको छ । पुल निर्माण कम्पनी कुमार श्रेष्ठ सीएफईसी जेभीका इन्जिनियर किशोर पाण्डेयले पुललाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नेगरी नदीका दुवै किनारतर्फको ६००÷६०० मिटरसम्म ठूलो पोखरीसमेत  निर्माण भइरहेको बताए ।

    यो पुल नेपालमा पहिलो चोटी सबैभन्दा ठूलो लगानीमा बन्न लागेको हो । नेपालमा क्षेत्रफलको हिसाबले ठूला पुल बने पनि ठूलो लागतमा पहिलो चोटी कञ्चनपुरमा चार लेनको पक्की पुल बन्न लागेको यो पुल निमार्ण सम्पन्न पछि सुदूरपश्चिम प्रदेशको समृद्धिको कोसे ढुङ्गाको रुपमा साबित हुने विश्वास गरिएको छ ।

     

     


  • सम्बन्धित विषय:

  • # महाकाली नदी
  • # सीमा पुलबाट समृद्धिको आशा
  • # कञ्चनपुरको आर्थिक विकास
  • # महाकालीमा चार लेनको पुल निर्माण


  • प्रतिक्रिया दिनुहोस