शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

रानाथारुको पृथक होली


पश्चिम प्रेस
बिहीबार , चैत ३ २०७८
  • 1.7K
    Shares

  • images
    images
    रानाथारुको पृथक होली

    महेन्द्रनगर । अन्य समुदायको भन्दा रानाथारू समुदायले होली पर्व पृथक तरिकाले मनाउने गरेका छन । रानाथारू समुदायको प्रमुख पर्वको रूपमा रहेको होली पर्व ३८ दिनसम्म मनाइने गरिन्छ ।रानाथारू समुदायको होली माघ पूर्णिमादेखि सुरु हुन्छ । रानाथारू समुदायमा दुई चरणमा होली पर्व मनाइने गरिन्छ । पहिलो चरणअन्तर्गत माघपूर्णिमादेखि फागुन पूर्णिमासम्म जिउँदो होली मनाइन्छ । भने त्यसपछिको आठ दिनको समय मृत होली मनाउने प्रचलन छ । फागु पूर्णिमा पछि रानाथारू समुदायमा बल्ल रौनक छाउँछ ।

    गाउँभरिका महिला पुरुष, वृद्धदेखि बालकसम्म सबैजना होलीमा रमाउँछन । होली खेलेकै घरमा खाना खाने र रातभरि होली खेलेर रमाइलो गर्ने गरेको कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ केसमती रानाले बताईन । तर पछिल्लो समय रानाथारु सुमदायमा होली पर्व छोटिदै गएको उनको भनाई छ । “पुरुषहरु रोजगारीको लागि बाहिर जान्छन घरमा भएका केटाकेटीहरु समेत पढाई या अन्य काममाव्यवस्त हुन्छन ।” उनले भनिन–“ हाम्रोे १ महिनासम्म खेलिने होली छोटिदै गएको छ अहिले एकदुई दिनमै सिमित भएको छ ।”

    रानाथारू समुदायका जानकारहरूका अनुसार हिरण्यकश्यपले विष्णु भगवान्का भक्त आफ्नो छोरा प्रल्हादलाई अग्निमा नजल्ने वरदान पाएकी आफ्नी बहिनी होलिकासंग आफ्नो काखमा राखेर जलाउने भनी आदेश दिएका थिए । प्रल्हादले पनि आफ्नो बुवाको कुरा नकाटी फुपू होलिकाको काखमा बसे । जब होलिकालाई आगो लगाइयो, त्यस समय होलिका जलेर राख भइन् भने प्रल्हादलाई अग्निले केही गर्न सकेन । त्यस दिनदेखि असत्यमाथि सत्यको विजय भयो भनेर होलीपर्व रानाहरूले मनाउँछन ।
    होलीको गीतमार्फत मथुराबाट होली मगाउने प्रचलन रहेको छ । परम्परागत रुपमा मनाइदै आएको होली १ महिना ८ दिनसम्म खेलीने भीमदत्तनगरपालिका–१४ की सोमन रानाको भनाई छ ।“हामीले परम्परागत पहिरनमा होली खेल्ने गरेका छौ ।” उनले भनिन–“विगतको जस्तो रातभरी त आजभोली खेलिदैन मान्छे पनि थोरै हुन्छन ।”

    परम्परा अनुसार एक रातमा एक घरमा मात्रै होली खेल्ने गरिन्छ । जुन घरमा होली खेल्यो त्यही घरमा खाना खाने र रातभर होली खेल्ने प्रचलन छ । पूर्णिमाको दिन होली दहन पछि ८ दिन मृत होली मनाउने चलन छ । होली दहन गरेको ठाउँमा चामल चढाएर सु–स्वास्थ्य र लामो आयुका लागि  आर्शिवाद माग्ने चलन रहेको कैलासु रानाको भनाई छ । महिलाहरूले घगरिया, अङिया, फतुई (सिक्काको माला) र पुरुषले घगिया पहाना, तुल फेरा (परम्परागत पहिरन) लगाएर रातभरि होली खेल्ने प्रचलन छ पछिल्लो समय  डिस्को डिजेमा मात्रै सीमित हुने र होली खेल्ने समय पनि छोटिँदै गएको प्रति पाका राना सुमदायले चिन्ता व्यक्त गरेका छन । 


  • सम्बन्धित विषय:

  • # होली पर्व
  • # रानाथारु
  • प्रतिक्रिया दिनुहोस