महेन्द्रनगर । अन्य समुदायको भन्दा राना समुदायले होली पर्व पृथक तरिकाले मनाउने गरेका छन ।
३८ दिनसम्म मनाइने राना समुदायको होली माघ पूर्णिमादेखि सुरु हुन्छ । रानाथारू समुदायमा दुई चरणमा होली पर्व मनाइने गरिन्छ । पहिलो चरणअन्तर्गत माघ पूर्णिमादेखि फागुन पूर्णिमासम्म जिउँदो होली मनाइन्छ भने त्यसपछिको आठ दिनको समय मृत होली मनाउने प्रचलन रहेको रानासमुदायका अगुवाहरु बताउँछन । “मृत होली अन्य समुदायको होली सकिएपछि सुरु हुन्छ ।”यहाँको भीमदत्त नगरपालिका–१९ का साहेव रानाले भने–“माघ पूर्णिमादेखी फागु पूर्णिमा सम्म जिउँदो होली मनाउँछौ ।” उनले फागू पूर्णिमा पछि रानाथारू समुदायमा बल्ल रौनक छाउँने बताए ।
“गाउँभरिका महिला पुरुष, वृद्धदेखि बालकसम्म सबैजना होलीमा रमाउँछन ।” रानाले भने–“होली खेलेकै घरमा खाना खाने र रातभरि होली खेलेर रमाइलो गर्ने चलन छ ।” राना समुदायका जानकारहरूका अनुसार हिरण्यकश्यपले विष्णु भगवानका भक्त आफ्नो छोरा प्रल्हादलाई अग्निमा नजल्ने वरदान पाएकी आफ्नी बहिनी होलिकासंग आफ्नो काखमा राखेर जलाउने भनी आदेश दिएका थिए । प्रल्हादले पनि आफ्नो बुवाको कुरा नकाटी फुपू होलिकाको काखमा बसे । जब होलिकालाई आगो लगाइयो, त्यस समय होलिका जलेर खरानी भइन् भने प्रल्हादलाई अग्निले केही गर्न सकेन । त्यस दिनदेखि असत्यमाथि सत्यको विजय भयो भनेर होलीपर्व रानाहरूले मनाउँछन ।
होलीको सुरुको दिन होलीको प्रतीक स्थापना गर्ने दिन हो । “माघ महिनाको पूर्णिमाको दिन दाजुभाईहरू गुइँठा, काठदाउरा, तोरीको सुकेको डाँठ एकै ठाउँमा थुपार्छन् ।”भीमदत्त नगरपालिका–१९ का मालती रानाले भने–“गाउँको चाकर अर्थात् चौकीदारले घर घरबाट ल्याएको पूजा सामग्री सहित होलीको प्रतीक पुतला स्थापना गर्छन ।” उनका अनुसार यसरी होली राख्ने परमपरागत चलनलाई राना समुदायमा “होरी धरन” भनिन्छ । यसको उद्देश्य होलीलाई मथुराबाट आफ्नो गाउँसम्म बोलाउने वा निमन्त्रणा गर्ने हो भन्ने जनविश्वास रहेको उनले बताए । यसरी होलीको प्रतीक स्थापना गर्ने क्रममा र गरिसकेपछि उपस्थित सबै मिलेर ढोल बजाउने र परम्परागत परिहनमा गीत गाउँदै नाच्ने प्रचलन रहिआएको छ ।
फागु पूर्णिमाको दिन बिहान सबै सरसफाई गरी मीठा मीठा खानेकुरा पकाइ खाने परम्परा रहेको राना बताउँछन । सोही दिन दिउँसो करिब ३÷४ बजे गाउँका सबै दाजुभाई दिदीबहिनीहरू आ–आफ्नै परम्परागत पहिरनमा सजिएर होलीको पुतला दहन गरिएको ठाउँमा गइ चामल, गहुँ वा जौ चढाउँदै जलेको गुइँठा लगायत अन्य काठ दाउराको खरानीको टीका लगाउँने यहाँका स्थानीय मधोवर राना बताउँछन । “यो दिन बर्ष भरिका दुःख कष्टलाई विर्सने, छर छिमेकमा हुने आपसी मतभेद, लडाई, झगडा एवम् हरेक प्रकारका बेमेलहरू त्यागेर ‘राम राम” भन्दै भेटघाट गर्ने दिन हो ।” रानाले भने–“होलीको टीका लगाउनु पूर्व आगो निभाउन र त्यसपछि टीका लगाउनका लागि खेलिने होलीमा गाइने गीतको छुट्टा छुट्टै भाका हुन्छ ।”
होलीकै अवसर पारी सामाजिक सद्भाव एवं आपसी सम्बन्ध बलियो बनाउन पालैपालो छर–छिमेकमा समेत निम्ता गरी भोज खुवाउने परम्परा चलि आएको उनको भनाई छ । “कहीँ कहीँ राना सामूहिक रूपमा घर घरमा गई गीत गाउँदै होरी नाच गरी दक्षिणा (फगोहा) माग्ने चलन पनि छ ।” उनले भने–“होलीको गीतमार्फत मथुराबाट होली मगाउने प्रचलन रहेको छ ,परम्परागत रुपमा मनाइदै आएको होली एक महिना ८ दिनसम्म खेलीन्छ ।”
परम्परा अनुसार एक रातमा एक घरमा मात्रै होली खेल्ने गरिन्छ । जुन घरमा होली खेल्यो त्यही घरमा खाना खाने र रातभर होली खेल्ने प्रचलन छ । पूर्णिमाको दिन होली दहन पछि ८ दिन मृत होली मनाउने चलन छ । होली दहन गरेको ठाउँमा चामल चढाएर सु–स्वास्थ्य र लामो आयुका लागि आर्शिवाद माग्ने चलन रहेको स्थानीय बताउँछन । महिलाहरूले घगरिया, अङिया, फतुई (सिक्काको माला) र पुरुषले घगिया पहाना, तुल फेरा (परम्परागत पहिरन) लगाएर रातभरि होली खेल्ने प्रचलन रहेपनि पछिल्लो समय डिस्को डिजेमा मात्रै सीमित हुने र होली खेल्ने समय पनि छोटिँदै गएको प्रति पाका पुस्ताले चिन्ता व्यक्त गरेका छन ।
.gif)