शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

श्रम गरी जीविका चलाउँदै झलारीका मुक्तकमैया


मंगलबार, चैत ८ २०७८
  • 643
    Shares

  • images
    images
    श्रम गरी जीविका चलाउँदै झलारीका मुक्तकमैया

    महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिका–१० झलारीका वीरेन्द्र चौधरीले मजदुरी नगरे परिवारको खर्च चल्दैन । तीन वर्षदेखि उहाँले झलारी बजारमा सिमेन्ट, सरिया लोड अनलोडको कार्य गर्दै आउनुभएको छ । लोड अनलोडको कार्य गरेबापत आउने रकमले घर खर्च चल्दै आएको उहाँले बताउनुभयो ।    
        
     “दैनिक व्यापारीले ट्रकमार्फत ल्याउने सिमेन्ट झार्ने राख्ने कार्य गर्दै आएका छौँ”, उहाँले भन्नुभयो, “यस कार्यमा दश जना संलग्न छौँ ।” संलग्न दश जना सबै पूर्वमुक्तकमैया परिवारका हुन् । आर्थिकरुपमा विपन्न भएकै कारण जीविका चलाउनका लागि युवाले सो कार्य गर्दै आएका छन् ।    “कुन गाडीमा कति सिमेन्ट आउँछ त्यहीअनुसार कमाइ हुन्छ”, जितराम चौधरीले भन्नुभयो, “औसतमा एक जनाले दैनिक रु एक हजारदेखि रु एक हजार ५०० सम्म कमाइ गर्दै आएका छौँ । सामान नआएका बेला कमाइ हुँदैन ।” ढुवानीका साधनमा सिमेन्ट राख्दा प्रतिबोरा रु १० पाउने गरेका छन् । झार्दा भने प्रतिबोरा रु आठ मात्रै पाउने गरेका छन् ।    
        
     सिमेन्ट सरिया राख्ने झार्ने कार्य गर्नु निकै जोखिमपूर्ण भएकाले श्रमको मूल्य बढाउन माग गर्दै आए पनि व्यापारीले नबढाउँदा थोरै रकममा काम गर्नुपरेको उहाँहरुको भनाइ रहेको छ । “सिमेन्ट लोड अनलोड गर्दा धुलो पूरै नाक, आँखा र मुखभित्र पस्ने गरेको छ । शरीर पूरै धुलोका कारण ढाकिने गरेको छ । यस्तो जोखिम हुँदाहँुदै पनि परिवार पाल्ने अर्को माध्यम नहुँदा यस कार्यलाई निरन्तरता दिँदै आएका छौँ”, सन्तोष रानाले भन्नुभयो, “यस कार्य गरेबापत पाइने पारिश्रमिकले परिवाका लागि आवश्यक पर्ने नुन, तेल, चामल, तरकारी, लत्ताकपडासहित घरको सबै खर्च बेहोर्नुपर्ने हुन्छ । बालबालिकाको विद्यालयको खर्चसमेत यसबाटै चल्ने गरेको छ ।”    

    जोखिमको कार्य भए पनि व्यापारीले सुरक्षाका साधन उपलब्ध नगराएको उनीहरुको गुनासो छ । उहाँले भन्नुभयो, “आफ्नातर्फबाट मुख छोप्ने, मास्क लगाउने गरे पनि सिमेन्ट मुखभित्र पस्छ । त्यसबाट खोकीलगायत श्वासप्र्रश्वासको समस्या बेला बखत देखिने गरेको छ । पारिश्रमिकका रुपमा पाइने थोरै कामले सुरक्षाका साधन खरिद गरेर ल्याउने क्षमता पनि छैन”, उहाँले भन्नुभयो । थारै पाइने रकमले पौष्टिक खानेकुराको जोहो मिलाउन नसक्दा धेरैले यस कार्य छाड्दै जान थालेको उहाँहरुको भनाइ रहेको छ । सरिया सिमेन्ट लोड अनलोडको कार्य पहिला भारतीय मजदुरले मात्रै गर्दै आएका थिए ।    
        
     त्यस कार्यलाई यहाँका युवाले अपनाउन थालेपछि भारतीय मजदुर विस्थापित भएका छन् । यस कार्यमा संलग्न युवा भन्छन्, “निकै जोखिमको कार्य छ । मजदुरको सरकारले बीमा गर्ने व्यवस्था गरिदिए यस कार्यलाई निरन्तरता दिन सकिन्छ ।” झलारीका सो कार्य गर्दै आएका युवाले आफैँले कोष स्थापना गरी आपत्विपत् परेका बेला रकम परिचालन गर्दै आएका छन् । कोषमा रु एक लाख जम्मा गरेका छन् । बिरामी परे, चोटपटक लागे, घरमा अन्य आकस्मिक कार्य गर्नुपरे कोषबाट निश्चित समयका लागि न्यूनतम ब्याजमा रकम उपलब्ध गराइने गरिएको छ । सो काम गर्दा बाँड्नबाट बचेको रकम युवाले कोषमा राख्ने गरेका छन् ।    




    प्रतिक्रिया दिनुहोस