महेन्द्रनगर । स्थानीय तह निर्वाचनमा शान्तिसुरक्षा व्यवस्थापनको दृष्टिकोणले २ हजार ९४५ वटा मतदानस्थललाई अतिसंवेदनशील क्षेत्रको सूचीमा राखिएको छ । त्यस्ता मतदानस्थलको शान्ति सुरक्षा व्यवस्थापनका लागि तीन किसिमको सुरक्षा घेरा बनाइएको छ । पहिलो घेरामा नेपाल प्रहरी र म्यादी प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना परिचालन गरिने भएको छ । यसअधि गृह मन्त्रालयले ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना’ कार्यान्वयनका लागि ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको थियो ।
स्थानीय निर्वाचनअन्तर्गत मतपत्र छपाइको सुरक्षा, दुर्गम स्थानमा मतपत्र तथा मतपेटिका पु¥याउने र मतदानपछि गणनास्थलसम्म ल्याउने जिम्मा नेपाली सेनालाई तोकिएको छ । निर्वाचनको ३० दिनअघिदेखि निर्वाचनस्थलको ‘पट्रोलिङ’ गस्तीसमेत नेपाली सेनाले गर्नेछ । निर्वाचनस्थलमा सेनाको बम डिस्पोजल टोली र मतदान केन्द्रबाट बढीमा ३० मिनेटको दूूरीमा सेनाका फौज तैनाथ गरिनेछ । मतदानको समयमा बाहिरी सुरक्षा घेरामा सेना परिचालित हुनेछ । सेनाले आवश्यकताअनुसार हवाई गस्ती पनि गर्नेछ ।
मुलुकको ७७ वटै जिल्ला प्रशासन कार्यालयले अन्तर्राष्ट्रिय सीमा नाका, अराजक समूह, प्रमुख राजनीतिक दलबीच कडा प्रतिस्पर्धा, कार्यकर्ताबीच हुन सक्ने मुठभेड र विगतको निर्वाचन सुरक्षा अवस्थाको समीक्षा तथा मूल्याङ्कन गरी अतिसंवेदनशील क्षेत्रको सूची तयार पारिएको हो ।
.gif)