मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

लालझाडीमा अझै चलेन सार्वजनिक यातायात


पश्चिम प्रेस
मंगलबार, चैत २२ २०७८
  • 750
    Shares

  • images
    images
    लालझाडीमा अझै चलेन सार्वजनिक यातायात

    महेन्द्रनगर । सुगम जिल्ला भए पनि त्यहाँको एक पालिकाका नागरिकले अझै सार्वजनिक यातायात सेवा लिन पाएका छैनन् भन्दा पत्यार नलाग्न सक्छ ! हो, कञ्चनपुरको लालझाडी गाउँपालिकावासीले दशकौँदेखि यस्तो समस्या भोग्दै आएका छन् ।

    स्थानीय जनप्रतिनिधि आएपछि केही वडामा छिटपुटरूपमा सडक कालोपत्र भए पनि गाउँपालिकाका अधिकांश सडक कच्ची छन् । छवटा वडा रहेको गाउँपालिका कञ्चनपुरको भौगोलिकरूपमा निकै विकट मानिन्छ । “चालु आर्थिक वर्षमा विभिन्न वडामा गरी करिब साढे तीन किलोमिटर सडक कालोपत्र गर्ने योजनाका साथ अघि बढेका छौँ”, लालझाडी गाउँपालिकाका सबइञ्जीनियर सन्तोषप्रसाद जोशीले भन्नुभयो, “अहिलेसम्म यहाँ चान्देउ–बल्मी क्षेत्र र अन्यमा सडक कालोपत्र छ ।”

    उहाँले स्थानीय जनप्रतिनिधि आइसकेपछि पालिकाका सबै वडाका मुख्य तथा शाखा सडक ग्राभेल भएको जानकारी दिनुभयो । “पालिकाको पनि आफ्नो बजेट छ”, उहाँले भन्नुभयो, “भौतिक पूर्वाधारदेखि अन्य विकासमा सङ्घ र प्रदेश सरकारको बजेटले पनि काम भइरहेको छ ।” बीच भागमा पर्ने दोदा नदीका कारण पालिका दुई भागमा विभाजित रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रसिंह रावलले जानकारी दिनुभयो ।“अहिलेसम्म राम्रोसित यहाँ सार्वजनिक यातायात सञ्चालन भएको छैन”, रावलले भन्नुभयो, “एकाध वडाबाहेक सबैतिर यातायात सेवा पुग्न सकेको छैन ।” उहाँले पालिकामा दोदा नदी कटान र डुबानका साथै वन्यजन्तुबाट हरेक वर्ष जनधनको क्षति हुने गरेको बताउनुभयो । लालझाडीको वडा नं २ र ३ को बीचमा पर्ने खर्रानालामा पक्की मोटेरेबल पुल बनेपछि मात्रै पालिकामा आवागमनमा सहजता मिलेको स्थानीयवासीको भनाइ छ ।

    “पहिले त वर्षातमा बिरामी हुँदा पनि एम्बुलेन्स गाउँमा ल्याएर बिरामी लैजान सक्ने अवस्था थिएन”, कञ्जका स्थानीयवासीले रामप्रसाद रानाले भन्नुभयो, “अहिले पनि देखतभूली भएर जान दोदा नदीमा बनाउनुपर्ने पक्की पुल नबन्दा समस्या नै छ”, राना थारू समुदायको बाहुल्यता रहेको लालझाडीमा बितेको चार वर्षमा विद्यालय भवनसमेत बनेको पालिकाले जनाएको छ । “गाउँपालिकाको वार्षिक आयव्यय भनेको रु ४७ करोड हो”, प्रमुख प्रशासकीय अधिकृत रावलले भन्नुभयो, “गाउँमा बसपार्क बनाउने विषयमा पनि गृहकार्य हुँदैछ ।”

    चौध हजार १६ मतदाता रहेको गाउँपालिकामा सडक सञ्जाल विस्तार एवं स्तरोन्नतिका लागि सङ्घीय सरकारले प्राथमिकतामा राख्नुपर्ने स्थानीयवासीको भनाइ छ । “यसै क्षेत्रबाट निर्वाचन जितेर मन्त्री भए तर गाउँको अवस्थामा खासै सुधार भएन ।” कञ्जकै श्याम रानाले भन्नुभयो, “चुनावका बेला भोट माग्ने, आश्वासन दिने तर पछि वास्ता नगर्ने प्रवृत्तिले लालझाडीको विकास नभएको हो ।” गाउँपालिकाका अध्यक्ष मदनसेन वडायक खर्रानालामा बनेको पुल आफ्नो कार्यकालमा बनेको बताउनुभयो । “त्यो पुल बनेपछि जनतालाई हिँड्डुल गर्न सहज भयो”, उहाँले भन्नुभयो, “गाउँमै १० शय्याको अस्पताल पनि बनायौँ ।” उहाँले चालु आवमा सडक कालोपत्रका लागि रु ५० करोडको ठेक्का भइसकेको बताउनुभयो ।

    “अबको दुई वर्षमा धेरै सडक कालोपत्रे हुन्छन्”, अध्यक्ष वडायकले भन्नुभयो, “यहाँ करिब १७–१८ किलोमिटर सडक कालोपत्र भएको छ ।” दोदा नदीमा दुईवटा झोलुङ्गे पुल बन्नुका साथै रु पाँच करोडको लागतमा लालझाडी उद्यानसमेत निर्माण भइरहेको उहाँको भनाइ छ । रासस 


    प्रतिक्रिया दिनुहोस