आमा तिमी जन्मदिने मलाई
आमा तिमी प्राण दिने मलाई
आमा तिमी बोट, म फूल त्यसको
हो दान तिम्रै जति जे छ मेरो ।
युगकवि सिद्धिचरण श्रेष्ठले आमा कवितामा गाएको यो महिमाले नै झल्काउँछ आमाको महिमा । आज वैशाख कृष्ण औंसी अर्थात आमाको मुख हेर्ने दिन ।
सामाजिक सञ्जाल फेसबुकका भित्ताहरु ती महान आमाका तस्वीरले सजिएका छन । टिकटक प्रयोगकर्ताहरुले आमाको महिमा बोकेका संगीतले आमाप्रति श्रद्धा व्यक्त गरेका छन । यसरी श्रद्धा, भक्ति, सम्मान र आदर गरिएकी आमालाई मिठो खान तथा राम्रो लगाउन दिई छोराछोरीहरुले आमाबाट शुभ आशिर्वाद ग्रहण गर्ने र आजको दिन आमाप्रति सम्मान र आमालाई सम्झने दिन हो ।
संसारको सबैभन्दा पवित्र नाता आमा, संसारको सबैभन्दा पवित्र सम्बोधन आमा । हामी मध्ये धेरैले सर्वप्रथम बोल्न सीकेको शब्द आमा । अनि पल पलमा संझना आउने सुख, दुखमा झझल्को आउने एउटा अनुहार आमा । सृष्टिकी सर्जक आमा । हरेक मानिसको जीवनको सुरुवात आमाको कठिन साधनापछि मात्रै सम्भव छ । नौ महिनासम्म आफ्नो कोखमा राखेर जटिल प्रसव पीडा सहेर पनि सन्तानलाई यस धर्तीमा जन्म दिने महान् देवी हुन् आमा ।
त्यति मात्र नभएर जन्म दिइसकेपछि पनि आफ्नो दुःख, पीडालाई छिचोल्दै सन्तानकै पालन पोषणमा सदा समर्पित हुन्छिन् आमा । आमा ममताकी खानी हुन् र आफ्ना सन्तान प्रतिको उनको माया निस्वार्थ हुन्छ । आफूले केही फाइदा नचाहेर यदि कसैले अरुको लागि गर्छ भने त्यो मात्र आमाको व्यवहार हो, अन्यथा आजका हरेक व्यक्तिमा हामी स्वार्थ लुकेको देख्न सक्छौँ । आमा सगरमाथा भन्दा अग्लि छन । पृथ्वी भन्दा महान र विशाल छन । समुन्द्र भन्दा गहिरी छन । त्यसैले संसारभरीका महान आमाहरुप्रति उच्च सम्मान ।
.gif)