शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

उम्मेदवारका एजेण्डा उस्ताउस्तै


पश्चिम प्रेस
शनिबार, वैशाख २४ २०७९
  • 759
    Shares

  • images
    images
    उम्मेदवारका एजेण्डा उस्ताउस्तै

    भजनी। यतिबेला स्थानीय तहमा चुनावी सरगर्मी निकै बढेको छ । उम्मेदवार जनताको घरदैलोमा व्यस्त छन् । चुनाव जित्नका लागि जनताको माझमा जाँदा लोकप्रिय एजेण्डा बनाउने उम्मेदवार निर्वाचित भएपछि कति कार्यान्वयन गर्छन् वा गर्दैनन् त्यो पछिको पाटो भए पनि अहिले जनताले पनि कसले लोकप्रिय र प्रमुखरूपमा कस्ता एजेण्डा उठाएका छन् भन्ने कुरा पनि महत्वपूर्ण हुन्छ ।

    कैलालीको  टीकापुर नगरपालिकामा विभिन्न राजनीतिक दलबाट चुनाव लडेका उम्मेदवार हुन् वा स्वतन्त्र सबैका चुनावी एजेण्डामा खासै भिन्नता देखिएको छैन । सबै उम्मेदवारले विकास, समृद्धि र सुशासनलाई पहिलो प्राथमिकतामा राखेका छन् । तीन दलीय गठबन्धन नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टीबाट टीकापुर नगरपालिका प्रमुखका साझा उम्मेदवार नवराज रावलले पाँच वर्षमा १० वटा गौरवका आयोजनालाई चुनावी एजेण्डाका रूपमा अगाडि सार्नुभएको छ ।

    रावलले विकास, समृद्धि, सुशासन, शिक्षा, स्वास्थ्य, रोजगारलाई नै बढी जोड दिएको पाइन्छ । प्रत्येक वर्ष टीकापुरमा लगानी सम्मेलन गरेर औद्योगिक क्षेत्रको विकासलाई अगाडि बढाउने र समग्र टीकापुरलाई समृद्धिको क्षेत्रमा अगाडि बढाउन नगरपालिकाको नेतृत्वमा आफू आउनुपर्ने बताउनुहुन्छ । “पहिलो प्राथमिकता भनेकै नगरपालिकाको विकास र सुशासन हो । जहाँ सुशासन हुन्छ त्यहाँ अन्य कुराले प्राथमिकता पाइहाल्छन्”, नगरप्रमुखका उम्मेदवार रावलले भन्नुभयो, “एजेण्डा बनाएर मात्रै पनि जनताको विश्वास जित्न सकिने अवस्था अहिले छैन । पहिलेको जस्तो निर्वाचन सहज देखिँदैन तर पनि हामीले समुदायमा आजसम्म गरेको कामको मूल्याङ्कन गरेर नगरपालिकाको नेतृत्व गर्ने अवसर पाइनेमा ढुक्क छौँ ।”

    त्यस्तै एमालेबाट नगरपालिका नगरप्रमुखका उम्मेदवार श्याम खत्रीले टीकापुरको विकासका लागि  एघार खम्बे विकास योजनालाई अगाडि सार्नुभएको छ । उहाँको पनि जनतामाझ भोट माग्न जाँदा नागरिकलाई भन्ने कुरा विकास र सुशासन नै हो । उहाँले सार्वजनिक गर्नुभएको घोषणापत्रमा समेत विकास, समृद्धि, सुशासन, रोजगारी र कृषि क्षेत्रलाई प्राथमिकताका साथ उठाएको बताउनुहुन्छ । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा पनि एमालेको तर्फबाट नगरप्रमुख पाएको बताउँदै खत्रीले  कोभिडका कारण वर्तमान स्थानीय सरकारले चाहेको काम गर्न नसकेको बताउनुभयो । 

      टीकापुर नगरपालिकाका स्वतन्त्रबाट प्रमुखका उम्मेदवार ललित थापा जनताका लागि बिनास्वार्थ काम गर्नका लागि उम्मेदवारी दिएको बताउनुहुन्छ । उहाँले पनि ३१ बुँदे घोषणापत्र सार्वजनिक गर्नुभएको छ । पौरखी किसानका नामले चिनिनुभएका थापा विसं २०७४ को स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट चुनाव लड्नुभएको थियो । उहाँ नेकपा एमालेका तपेन्द्रबहादुर रावलसँग पराजित हुनुभएको थियो । उहाँले  सार्वजनिक गरेको घोषणापत्रमा पनि विकास, समृद्धि र सुशासनलाई विशेष प्राथमिकता दिइएको छ । कृषि, रोजगार, प्राविधिक शिक्षालाई समेत थापाले जोड दिनुभएको छ । “म कर्म गरेर खाने किसान हो । टीकापुरवासीले स्थानीय सरकारको अनुभूति हुने गरी काम गर्ने छु । त्यसका लागि म कद्धिबद्ध छु”, थापाले भन्नुभयो, “टीकापुरमा कृषि क्षेत्रको विकास हुन सकेन भने समृद्धिको सम्भावनालाई पनि साकार पार्न सकिने अवस्था छैन । पहिलो आधार हाम्रो लागि कृषि हो ।”

    नागरिक उन्मुक्ति पार्टीबाट नगरपालिकाको प्रमुखका उम्मेदवार रामलाल डगौंरा थारूले पनि आफूहरुको मुख्य एजेण्डा शान्ति, विकास, समृद्धि र सुशासन नै रहेको बताउनुभयो । उहाँले अहिलेको असमानतालाई समानतामा ल्याएर सामाजिक सद्भाव कायम गर्न सकेपछि मात्रै विकास, समृद्धि र सुशासनलाई प्रभावकारी बनाउन सकिने बताउनुभएको छ । उहाँले केही सीमित व्यक्तिको बीचमा नेतृत्व घुम्ने भएका कारण पनि टीकापुरको विकासमा समानता नभएको बताउँदै विकासलाई आवश्यकताका आधारमा निर्धारण गरिने बताउनुभयो । अन्य राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले पनि विकास, समृद्धि र सुशासनलाई विशेष महत्व दिएको पाइन्छ । रासस


  • सम्बन्धित विषय:

  • # स्थानीय तह निर्वाचन
  • प्रतिक्रिया दिनुहोस