प्राकृतिक सिङारपटारमा ब्यहुली सजिएजस्तै ठाउँ । पाण्डवकालीन इतिहास बोकेको पौराणिक ठाउँ । बाइसे चैबीसे राज्यका राजाका कोट भएको ऐतिहासिक ठाउँ । पहाडको माल वा उपत्यकाको स्वरुपमा रहेको ठाउँ । मौलिक कला र परम्पराले भरिएको ठाउँ जे भने पनि हुन्छ, डोटीको जोरायललाई । एकातिर कर्मनाशाका छालहरू छचल्किरहेका छन् भने अर्कातिर मान्छेका मनहरू नाचेका छन् । बरम छहरासँगै, भीमक्षेदन शीलासँगै, द्रोपदी चौतारासँगै, मुलाइचका खानसँगै, प्राचीन कालीन गुफासँगै, ज्वालादेवीमा झुल्किने घाम र बाँझिलेकको खानबाट अस्ताउने घामसँगै । यिनैसँग छ मेरो पिरती, यिनैसँग छ मेरो गौरव र यिनैसँग छ मेरो अपनत्वको साइनो ।
कैयौं मीठा पल–पल बिते, यादले याद राख्ने,
बाख्रा हेर्दै वनसित भुली, प्रीतको गीत डाक्ने ।
सम्झी बस्थें दिन रहरका लाख तस्वीर हेरी,
खेलानाला अनि बगरको, सम्झना आज फरि ।।
कर्मनाशाका छालहरूको अनुकरण गरी हृदयमा छाल हानिरहने यादहरूको बाढीमा पौडी खेल्नुको मजा बेग्लै हुँदो रहेछ । यो मन तिनै छालहरूसँगै छचल्किँदै पखानमा ठोकिन्छ, ढुङ्गामा रोकिन्छ त कहिलै सल्सल्ति बग्दछ ह¥याल परेका चिफला ढुङ्गामा चिफल्किदै । कहिलै वाफ बनेर बादलमा परिणत हुन्छ र त्यहीँ सिक्दछ, पानीको हाड देखाउने सीप र धर्ती आकाशको खुर्कुटिको कला । कहिलै एकोहोरो टोलाउँछ र प्राकृतिक सौन्र्दयले सज्जित जोरायलको चित्र सम्झी चित्त बुझाउँछ ।
जहाँ छन् प्राचीन सभ्यताका शील्पकला र ऐतिहासिक परिदृष्यहरूत्यहीँ छ यो मन पनि । जब नजरमा परी मनमा सर्दछ भीमक्षेदन शीलाको चित्र तब उब्जिन्छन् मनमा अचम्मका भावहरू ! भीमको साहस देखेर छक्क पर्छु । कसै बेला विश्वास लाग्दैनन् बाजेहरूले सुनाएको कथा । जब विश्वास लाग्दैन किंबदन्तीमा तब पुनः पुनः हेर्छु, भीमक्षेदन शीलालाई । हातले मुसार्छु र सोच्छु साँच्चै त्यो तरबार त्यो बल र त्यो पौरख कस्तो हुँदो हो ! जसले चक्कुले आलु काटेझैं दुई टुक्रा बनाइदिएछ सिङ्गो ढुङ्गालाई । मलाई सम्झना आइरहन्छ, मेरा बाजे उमेरका तमाम व्यक्तिले सानै उमेरमा मेरा कान भरिदिएका कुराको । “यो ढुङ्गो अरूजस्तो सामान्य होइन, द्वापर युगमा राक्षस जरासन्धलाई तर्सउन भीमले काटेको हो । ”
जहाँ जोरायल छ त्यहाँ द्रोपती चौतारो छ, बरम छहरा छ, सिङ्गो पाण्डवकालीन इतिहास छ र बाइसे चौबीसे राज्यका भग्नाशेष कोटहरू छन् अर्थात् जहाँ अनेक खोलानाला छन्, मैदानी भूभाग छ र हरियो जङ्गल छ, मनमोहक दृश्य छ, त्यहाँ जोरायल छ । हरियो जङ्गलभित्र लालीगुराँस मात्रै फुल्दैनन्, पल्लवीको कोखमा कोइली मात्रै गीत गाँउदैनन् त्यहाँ स्वतन्त्र तरिकाले स्रजकहरू खुल्दछन् र सृजनाहरू फुल्दछन् अनि सुनिन्छ ठाडी भाकाको मनमुग्ध गुञ्जायमान । जोरायली प्रकृतिको छत्रछाया र मायामा कर्मनाशा मात्रै बगिरहेको छैन, सिङ्गो नवरस बगिरहेको छ । अलंकार, रीति र छन्दको सुगन्ध मग्मगाइरहेको छ ।
बरम छहराको परम आनन्दमा निमग्न भएर छहरासँगै मीठा कुरा गरेका अपूरा झल्का पनि छँदै छन् मनभरि । हेर्न रहर लागिरहने तर हर्नलाई पनि डर सहनु पर्ने कठिन परिस्थिति अलि सहज भइदिएको भए त कति पुग्थे होला मेराजस्तै रहरका भोका मनहरू बरम छहरासाँग पिरती गाँस्न । साँच्चै ! भौगोलिक कठिनाइलाई बुझी हेर्नेबाटो निर्माण गरेको भए, सोहीअनकूलको संरचना निमार्ण गरेको भए, पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकेको भए, मेरी आमाले सुनाउनु पर्ने थिएन भूतको कथा । साना छन्जेल आमा भन्नुहुन्थ्यो, “बरम छहरामा नजानू त्यहाँ त तारेफुर्के राङ्गाको स्वरुपमा भूत आउँछ ।” खासमा त्यहाँ भूत थिएन । थियो त केबल अप्ठ्योरो बाटो र डर लाग्दो वातावरणीय परिवेश । जति डर लाग्दो र जोखिमपूर्ण छ यात्रा त्योभन्दा बढी रहर लाग्दो मनमोहक दृश्य छ बरम छहराको । पूरै नदीको पानीले तीस फिट माथिबाट हामफल्दाको दृश्य कति आकर्षक हुँदो रहेछ भन्ने कुरा बोध गराइरहेको छ : बरम छहराले ।
सुँगालको डाँडाको सल्लेघारीको बीचमा अवस्थित सिद्ध बाबाको गुफाले पनि यो मनलाई निमन्त्रणा गरिरहन्छ । मैले सानैदेखि सुनेको थिएँ गुफाको बारेमा तर पनि हेर्ने अवसर धेरैपछि जु¥यो जसको याद पनि धेरैपछिसम्म रहिरहने छ । चारपाँच जना आरामले अट्ने ठाउँ, कति फराकिलो ! कति चिटिक्क ! कति कलाले भरिएको कलामया संरचना ! सँगै गएका साथीहरूले कुरा पनि ग¥योैँ । कसैले तास खेल्नका लागि उपयुक्त देखे । कसैले गोठाला आउँदा पानी प¥यो भने ओत लाग्ने ठाउँको रुपमा हेरे । कसैले प्रेमिकासँगको उपयुक्त भट्ने स्थलको रुपमा त कसैले घरमा रिसाएको दिन लुक्ने ठाउँको रुपमा । मैले भने कल्पना गरिरहँे यस्तो गुफा मेरो घर नजिकै भएको भए गुफाभित्रको एकान्तमा बसेर कति कविता लेख्थेँ होला । गुफाको सुन्दर बनोटलाई हेरेँ र सोचेँ, कडा चट्टानमा यति राम्रो कला प्रदर्शन गर्नेको जीवन कति सुन्दर हुँदो हो । वर्तमान समयमा करोडौँका मेसिनले आकार दिन नसक्ने आकार ढुङ्गा वा चट्टानमा पाउँदा म अचम्भित भएँ । काम गर्नेले गरिसके तर म कल्पनासम्म गर्न सकिरहेको छैन ।
जोरायलको काखमा थुप्रै प्राकृतिक सौन्दर्यका परिदृश्यहरू छन् । मसँग तिनै दृश्यबाट प्राप्त अदृश्य आनन्द छ । मानसिक पीडा, छटपटी, थकान आदि विस्मरण गराउने कयौँ स्मरणीय क्षणहरू छन् ! वर्तमान समयमा निकै भाइरल हुन पुगेको बुडरको छहराले, प्रायः सबैलाई मोहनी लगाएको छ । फेसबुक छहराकै चित्र सजाउँछ, युबट्युब छहराकै भाषा बोल्छ, टिकटक छहराकै सौन्दर्य बाँडेर लाइक र फलोर्स बढाउँछ । सामाजिक सञ्जालमा यसरी आउनुभन्दा पहिले नैमेरो लागि छहरा गन्तव्यको लक्ष्य थियो । नदेखेर पनि देखिएको चित्र थियो । सुनेकै आधारमा मनभित्र कोरिएको थियो छहराको नक्सा । “द्वापर युगमा भगवान श्रीकृष्णले बाँझिलेकको दक्षिणपट्टि रहेको सच्चौरामा एक पाद र अर्को त्यसकै पारि फल्टुडे डाँडाको मध्यभागमा पाद राखी यस छहरामा शिर नुहाएका थिए ।” सानै उमेरमा सुनेको यही भनाइले मेरो खोजीको विषय बनेको थियो छहरा । जेसुकै होस् बुडर छहरा सबैलाई लोभ्याउन सफल भएको छ । आऊ आऊको सङ्गीत बोलिरहेको छ । एकान्तस्थलमा ‘झर्झर–झर्झर’को श्रुतिमधुर स्वरले गुञ्जयमान छ । तिनै मनमुग्ध दृश्य र परिवेशलाई थप ओजस्वी बनाइरहन्छन्, मेराजस्तै रहडी मनहरूले ।
छहरा मेरो आत्माका लागि धार्मिक आस्थाको केन्द्र हो, हृदयका लागि आनन्दानुभूतिको सात्विक भोजन हो, मनलाई पुलकित गर्ने वा ! क्या ! गजबको आनन्द हो । नयनको नजरमा परेको उत्कृष्ट रोजाइ हो । छहरामा बेगले उछिट्टिएका बाछिटहरू जीवनकै बाछिटहरू हुन् । छहराको बाह्रमासे इन्द्रेनी शोभा जीवनका रङ्गहरू हुन् । समग्र छहराको दृश्य भविष्य बोलिरहेको छ । बस् ! मैले यत्ति बुझेको छु ।
समय र संयोगकै खेल हो जीवन । संयोग नमिले आफ्नै परिवारका सदस्यसँग भेट त हुँदैन भने अरू त के ! खासमा यो मेरो चित्त बुझाउने तर्क हो । आफ्नै गाउँको छिमेकी पल्लो गाउँमा रहेको ’रानी गुफा’ हेर्ने रहड धेरैपछि पूरा भयो । हेर्नलाई तमाम सोचिएको थियो, योजना पनि बनाइएकै हुन् खै के के मिलेन र हर्न भ्याइएनँ । लकडाउनको एकदिन अनौठो संयोग आफै जु¥योन योजना बनाउनु प¥यो न त घण्टौँ मनमा कुरा खेलाउनु नै प¥यो। ऐतिहासिक एवम् पुरातात्विक क्षेत्र ‘रानी गुफा’को अवलोकनले आनन्दित बनायो । जोरायल गा पा –३, नवलपुरको पूर्वतिरको डाँडामा रहेको गुफा प्राचीन राजाकी रानीले पानी भर्न जाने बाटो हो भन्ने सुनिन्छ । जोरायलमा सानातिना यस्ता सुरुङ्गीमार्ग त थुप्रै ठाउँमा छन् जो पुरिसकेका छन् तर रानी गुफा भनिएको सुरुङ्गीमार्ग भने पुरिन अझै धेरै बाँकी छ । संरक्षण नगरे त यसको पनि नियति त्यस्तै हो यद्यपि अहिले आधा बन्द र आधा खुलाको स्थितिमा छ । कुन इन्जीनियरले नक्साङ्कन गरेका हुन् खै कुन्नि ! लगभग डेढ ÷दुई सय मिटर लम्बाइ भएको सुरुङ्गीमार्गमा प्रकाशको व्यवस्थाका लागि ठाउँठाउँमा झ्याल छन् भनौँ । जहाँ लगभग ५० मिटर वा एउटा झ्यालसम्मको भित्रीमार्गमा सजिलै जान सकिन्छ । जानका लागि भित्री मार्ग पर्याप्त चौडा छ साथै चट्टानमै निर्मित खुर्कुट्टी रहेका छन् ।
जब तिहार नजिक आउँछ तब मनमा आइहाल्छन् भौलो, देउसी र भोस्सोका लयात्मक स्वरहरू । “ए भोस्सा – भोस्सी रे भोस्से, यो भोस्सो कैको – भोस्सी रे भोस्से ।”प्रत्येक वर्ष कार्तिक कृष्ण पक्ष द्वितीया (भाइटीका) का दिन लाग्ने जोरायलको प्रसिद्ध मेला दुत्तेमा रमाउनुको आनन्द शब्दमा अट्ने त कुरै भएन ।जोरायलका प्रत्येक गाउँगाउँबाट देविदेवताका पञ्चेबाजा घन्किने र चौलो नाचका साथमा भोस्सो खेल्ने परम्पराले सबैलाई तान्द छ र त घर पुग्दछन् परदेशीहरू । जोरायलको तल्लो पीडी र मल्लो पिडीका मानिसहरू फरक फरक लायनमा संगठित भएर आफ्नो शक्तिसहित एक अर्काको समूहमाथि उत्तेजित भएर कृत्रिम भिडान्त गर्दाको दृश्य, ठट्टा मजाकपूर्ण बल प्रदर्शनको प्रबलता दृश्य, रोचक र हेर्न लायक हुन्छ ।जरासन्धलाई कुल्चिने, उसलाई माथि उठ्न नदिने हेतुले प्रत्येक वर्ष भोस्सो खेलिन्छ जोरायलमा । भोस्सो नखेलेमा जराजन्धको कुप्रभाव बढ्न गई अशान्ति हुने विश्वास रहेको छ । भोस्सो खेल्दा जरासन्ध त कुल्चिन्छ कि कुल्चिन्न तर कुल्चिन्छन् मनका अशान्ति, पीडा, र कुण्ठाहरू । अनि उब्जिन्छन् मनमा उत्साहका रङ्गहरू ।
मैले गजल सुन्नु, गजल पढ्नु र गजल लेख्नुभन्दा पहिले नै भजन सुनेको थिएँ र गाएको थिएँ चण्डेश्वर मन्दिरमा । बिसौंको मेलामा खलेको सिस्नु र शिवरात्रीमा गाएका भजनहरूले बेलाबखत झस्काई रहन्छन् मलाई । बिसौंका राति शिव मन्दिरमा कतिका विवाह हुन्थे, कतिका व्रतिबन्ध, कहीँ डेउडा खेल त कतै भजन गायन । सम्झिन्छु ती दिनलाई लाहुरेहरू ठूलाठूला टेप बोकेर बडा सानका साथ आएका हुन्थे, हातमा टेप हुनेको कति ठूलो इज्जत हुन्थ्यो । हामी तिनै दृश्यहरू हेरेर रात बिताइदिन्थ्यौँ । तर अब यी कुराहरू कथाजस्तै भइसके । मैले पनि याद राखिराख्नु पर्ने छ, बिसौं र शिवरात्रीका गौरवमयी कहानीहरू । किनकि सुनाउनु छ सन्तानलाई र देखाउनु छ सामाजिक मर्यादाको सुनौलो मार्ग ।

शिवरात्री मेला, चनकट्टे, शिव मन्दिरजोरायल
अग्लो डाँडाको अग्लो धुरामा बसेर चारैतिर नजर घुमाउनुको स्वाद क्या ! मीठो लाग्छ मलाई । पद प्रतिष्ठालाई महत्त्वपूर्ण ठन्ने व्यक्ति माथिल्लो पोष्टमा पुग्न पाउदा, सांसदले मन्त्री पाउदा, प्रतीक्षारत प्रेमीप्रेमिका आपसमा भेट्न पाउदा जति खुशीको अनुभूति गर्छन् म त्योभन्दा बढी खुशीको अनुभूति गर्छु अग्ला डाँडामा बसेर मीठा कल्पनासँगै रमाउँन । ज्वालादेवी त्यसका लागि उत्तम ठाउँ हो, जो जोरायलकै शीरमा रहेको छ । जहाँबाट हेर्न मिल्दछ सुन्दर जोरायलको फाँटको समग्र दृश्य । ज्वालादेवी मैले भनेजस्तो उच्चो टकुरो मात्र होइन, भक्तिको केन्द्र हो, जोरायलको संरक्षणार्थ विराजमान ज्वालालेवीको पवित्र धार्मिक स्थल हो जोसँग मानिसका विश्वास जोडिएका छन्, आस्था जोडिएका छन् र भरोसाका भावहरू सबैसबैका मनमा सजिएका छन् ।
डाँडाले हरियो सुदृष्य पहिरी, शोभा थुपार्यो कति !
नाँच्यो खेतमहाँ बुझेर पसिना, वास्ना दिँदै बास्मती ।
कर्नासा नद बग्छ भर्छ रमिता, मैदानमा चञ्चल ।
मेरो लागि सदैव पूज्य धरणी, प्यारो छ जोरायल ।।
जोरायल मेरो जन्मथलो र कर्मथलो मात्र होइन । ज्ञानको पाठ सिकाउने पाठशाल हो । साङ्गाबाङ्गा अक्षर लेख्न सिकाउने असल गुरु हो । रहडकी कोशेली दिने प्रेमिका हो । त्यसैले पनि होला यो मनले सदैव जोरायलको सचित्र वर्णन गरिरहन्छ ः
तिम्रो फोटो नयनभरि नै टल्कियो आज फेरि
पल्केकैथ्यो मन अझ बढी पल्कियो आज फेरि ।
आशा होलान् मधुरस छुने फूल फुल्ला सुनौलो,
‘सुक्ने डाली’ मलजल हुँदा हल्कियो आज फेरि ।
लेख्न बाँकी रहरहरू :
(छतिवन तालजोरायल फोटो :स्वयम् पङ्क्तिकार)

.gif)