महेन्द्रनगर । एक महिनाअघि गोबरको गुइँठा थुपारेर राखिएको ‘होरी’ फागु पूर्णिमाको दिन दहन गरिन्छ । त्यसको दास्रो दिन टीका लगाएर होली खेल्न सुरु हुन्छ । परम्परागत पहिरनमा सजिएर महिला र पुरुष एउटै घेरामा लाग्छन् । दिउँसोदेखि रातभरि एउटै घरमा होली खेलिन्छ । साँझको खाना पनि होली खेल्ने घरमा खान्छन् । फागु पूर्णिमादेखि सुरु भएको होलीले रानाथारू गाउँमा एक महिनासम्मै रौनकता देखिन्छ । उनीहरूले होलीलाई ‘होरी’ भन्ने गर्छन् । सोमबार होलीका दहनपछि दोस्रो टीका लगाएर होली खेल्न सुरु हुन्छ । कञ्चनपुर र कैलालीमा मात्रै बसोबास भएका रानाथारू समुदायको होली मंगलबारदेखि सुरु भएको छ ।
यो समुदायमा माघ महिनाको पूर्णिमाको दिन होलीको प्रतीक पुतला स्थापना गरी होलीको सुरुवात गरिन्छ । यस दिन दाजुभाईहरू गुइँठा, काठदाउरा, तोरीको सुकेको डाँठ एकै ठाउँमा थुपार्छन । गाउँको चौकीदारले घर घरबाट ल्याएको पूजा सामग्री सहित यसरी होली राख्ने परमपरागत चलनलाई रानाथारु भाषामा “होरी धरन” भनिन्छ । यसको उद्देश्य होलीलाई मथुराबाट आफ्नो गाउँसम्म बोलाउने वा निमन्त्रणा गर्ने हो भन्ने जनविश्वास रहेको जानकारहरु बताउँछन । यसरी होलीको प्रतीक स्थापना गर्ने क्रममा र गरिसकेपछि उपस्थित सबै मिलेर ढोल बजाउने, गीत गाउँदै नाच्ने प्रचलन गहिआएको छ ।
राना थारूहरूमा होलीको प्रतीक स्थापना गरेको दिनदेखि एक महिना अर्थात फागुन महिनाको पूर्णिमाको दिनसम्म खेलिने होलीलाई जिउँदो होली भनिन्छ । प्रायः दैनिकजसो बेलुकीको खाना खाइसकेपछि गाउँको कुनै एक घरमा जम्मा भई सबै दाजुभाई, दिदीबहिनीहरू मिलेर अबेर रातमसम्म जिउँदो होली खेल्ने चलन रहेको कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ असैनाका धनवहादुर रानाले बताउनुभयो । “माघ पूर्णिमा देखि हरेक दिन बेलुकी खाना खाएर होली खेल्छौ यसलाई जिउँदो होली भनिन्छ ।” रानाले भन्नुभयो–“फागुन महिनाको पूर्णिमापछिको आठ दिन मृत होली खेलिन्छ ।” उहाँले होली राना समुदायको महान पर्व भएको बताउनुभयो । रानाथारू समुदायमा दुई चरणमा होली पर्व मनाइने गरिन्छ । पहिलो चरणअन्तर्गत माघपूर्णिमादेखि फागुन पूर्णिमासम्म जिउँदो होली मनाइन्छ । भने त्यसपछिको आठ दिनको समय मृत होली मनाउने प्रचलन छ । फागु पूर्णिमा पछि रानाथारू समुदायमा बल्ल रौनक छाउँछ ।
गाउँभरिका महिला पुरुष, वृद्धदेखि बालकसम्म सबैजना होलीमा रमाउँछन । होली खेलेकै घरमा खाना खाने र रातभरि होली खेलेर रमाइलो गर्ने गरेको कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ का साहेव राना बताउँछन । “हिजोदेखी हामीले होली खेल्न सुरु गरिसकेउ फागुन पूर्णिमासम्म एक महिना हरेक राती होली हुन्छ ।” उहाँले भन्नुभयो–“फाुगन पूर्णिमापछि दिनमा परम्परागत पहिरनमा होली खेल्छौ त्यसलाई मृत होली भनिन्छ ।” रानाथारू समुदायका जानकारहरूका अनुसार हिरण्यकश्यपले विष्णु भगवान्का भक्त आफ्नो छोरा प्रल्हादलाई अग्निमा नजल्ने वरदान पाएकी आफ्नी बहिनी होलिकासंग आफ्नो काखमा राखेर जलाउने भनी आदेश दिएका थिए ।
प्रल्हादले पनि आफ्नो बुवाको कुरा नकाटी फुपू होलिकाको काखमा बसे । जब होलिकालाई आगो लगाइयो, त्यस समय होलिका जलेर राख भइन् भने प्रल्हादलाई अग्निले केही गर्न सकेन । त्यस दिनदेखि असत्यमाथि सत्यको विजय भयो भनेर होलीपर्व रानाहरूले मनाउँछन । होलीको गीतमार्फत मथुराबाट होली मगाउने प्रचलन रहेको छ । परम्परागत रुपमा मनाइदै आएको होली १ महिना ८ दिनसम्म खेलीने भएपनि पछिल्लो समय यो समय छोट्टिदै गएको बसन्ती रानाले बताउँनुभयो । “पहिलाको जस्तो रौनक अहिले हुदैन विस्तारै कम हुदै गएको छ ।” उहाँले भन्नुभयो–“युवाहरु कोहि पढाईमा कोही रोजगारीमा लागेका छन होली जान्ने कम छन ।” उहाँले फागुन पूर्णिमाको दिन होली दहन पछि ८ दिन मृत होली मनाउने बताउनुभयो । होली दहन गरेको ठाउँमा चामल चढाएर सु–स्वास्थ्य र लामो आयुका लागि आर्शिवाद माग्ने चलन रहेको राना बताउँछन ।
महिलाहरूले घगरिया, अङिया, फतुई (सिक्काको माला) र पुरुषले घगिया पहाना, तुल फेरा (परम्परागत पहिरन) लगाएर रातभरि होली खेल्ने प्रचलन छ । पछिल्लो समय डिस्को डिजेमा मात्रै सीमित हुने र होली खेल्ने समय पनि छोटिँदै गएको प्रति पाका पुस्ताले चिन्ता व्यक्त गरेका छन ।