मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

नेताका कमीले.....


पश्चिम प्रेस
आइतबार, असार १९ २०७९
  • 606
    Shares

  • images
    images
    नेताका कमीले.....

    काँ जान्छै पानी ए.. 
    उद उदै बर्खा, उदै काँ जान्छै पानी ए ! !
    नेताका कमीले..
     ढाई विघा जमिन बगाइदियो नेताका कमीले ! !
    आकाशमा कालो मडारिएको बादल । धमिलो पानीसँगै छेउमा बेग्दै थियो जोगबुडा नदी । त्यहि छेउमा गीतको भाकामा आफ्ना बेदना पोख्दै हिलोमा आली लगाउदै थिइन् डम्मरी वली । 
     दोधाराचाँदनी १० स्थित १८ नम्बर पिल्लर बस्तीकी बासिन्दा हुन् उनी । विगत २५ वर्षदेखि बसोबास गर्दै आएकी उनका धेरै आफन्त तथा छिमेकी जोगबुडा नदीको बाढी र कटानले विस्थापित भइसके । कतिपयले त्यहि नदीका कारण आफन्त गुमाएका छन् भने धेरै सपनाहरु जोगबुडा नदीमा विलाएका छन् ।खेतमा अरु रोपारहरु पनि थिए । तर उनी आफ्नै धुनमा मगन थिइन् । उनको भाकामा कारुणीकता झल्किन्थ्यो । सरकार र नेताहरुप्रति उनका धेरै गुनासो थिए । तर त्यसलाई व्यक्त गर्ने शब्द थिएन । अढाई विघा जमिन आँखा अगाडी नदीमा विलिन भएको त्यो पीडाले उनलाई अहिले पनि पछ्याइरहेको छ ।  “२५ वर्षदेखि बस्दै आएका छौ ।
      अढाई विघा जमिन थियो ” उनले भनिन् “राम्रो नेता नभएपछि त्यो सबै नदीमा विलिन भयो ।”नेपाल भारत सीमासँग जोडिएको यो बस्ती झण्डै ४० वर्षअघि बसेको हो । त्यतिबेला यहाँ  एकसय बढी घर थिए । तर अहिले ६ घर मात्रै बाँकी छन् । भएका परिवारहरुलाई पनि कहिले विस्थापित भइन्छ भन्ने चिन्ताले सताइरहेको छ ।  “जमिन त धेरै थियो तर के गर्नु सबै जोगबुडा नदीले लगिसक्यो,” अर्का स्थानीय महेश सिंहले भने “समयमै दीर्घकालिन समाधान नखोज्ने हो भने यो पनि कुन दिन बग्छ । ” 
     जोगबुडा नदी पारीको यो बस्ती हरेक वर्ष कटानीको चपेटामा पर्ने गर्छ । तर त्यसको दीर्घकालिन समाधानका लागि कसैको ध्यान जान सकेको छैन । जसले गर्दा यहाँका स्थानीयलाई देशमा तीन तहको सरकार भएपनि त्यसको महशुस हुन सकेको छैन । “खेती त गर्छौ तर त्यसलाई भित्र्याउन पाइन्छ भन्ने कुनै विश्वास छैन”, वलीले भनिन् “त्यहि भएर बर्खा लागेपछि खेती गराँै कि नगरौँ भन्ने दोधार हुन्छ । ”  यता मनसुन भित्रिएसँगै नदीले कटान सुरु गरेपछि स्थानीय सरकारले जैविक तटबन्ध निर्माणका लागि काम अगाडी बढाएको छ । तर त्यसले नदीको कटान रोक्न नसक्ने स्थानीय बताउछन् । “अहिले नदीले कटान सुरु गरेपछि वडार नगरपालिकाले जैविक तटबन्ध निर्माण गर्न बाँस ल्याएर छोडेको छ, ” प्रश्न गर्दै उनले भनिन् “नदीमा पानी बढिसक्यो । अब कसरी तटबन्ध निर्माण गर्ने ?” 
     यता मनसुन सुरु भएसँगै कञ्चनपुरमा नदीको कटान सुरु भएको छ । वर्षौदेखि बाढी र कटानको समस्या भएपनि सरोकारवालाले ध्यान नदिदा आफूहरु विस्थापित हुनुपर्ने अवस्था आएको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् । यसको दीर्घकालिन समाधानका लागि सरकारले जैविक तटबन्ध नभइ पक्की तटबन्ध गर्नुपर्ने उनीहरुको माग छ । 


  • सम्बन्धित विषय:

  • # नेताका कमीले
  • # जोगबुडा नदी
  • # जैविक तटबन्ध
  • प्रतिक्रिया दिनुहोस