बिहीबार , भदौ ४ गते २०८३ || Aug 20, 2026
  • यो साता चर्चामा :

रानाथारुको पृथक तीज


पश्चिम प्रेस
बिहीबार , साउन ५ २०७९
  • 849
    Shares

  • images
    images
    रानाथारुको पृथक तीज

    महेन्द्रनगर । तीज भन्ने बित्तिकै महिलाहरूले श्रीमानको दीर्घायु, सुस्वास्थ्य र प्रगतिको कामना गर्दै र युवतीहरूले राम्रो वरको आशमा ब्रत बस्ने पर्वको रुपमा बुझिन्छ । तर, सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरका रानाथारु समुदायका महिला तथा युवतीहरूले मनाउने तीजको उद्देश्य फरक छ । 
     उनीहरूले दाइभाइ र भतिजाको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामना गर्दै निर्जला ब्रत बस्छन । रानाथारु समुदायमा श्रावन शुक्ल तृतीयामा तिजियागुडिया (तीज) मनाउने चलन छ । साउन महिनाको १ गतेबाटै ‘सावनको डोला’ (लिंगेपिङ) खेल्दै मनाउने पर्वमा रानाथारु समुदायका महिला र युवतीहरूले तीजको दिन दिनभरि ब्रत बसेर आफ्ना दादुभाइ र भतिजाहरूको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामना गर्छन् । उनीहरूले दिनभरि पानीसमेत नपिएर व्रत बसेर खानाको परिवार बनाउने, गीत गाउने, नाच्ने र पिंगखेल्ने चलन छ ।
     परापूर्वकालमा राना समुदायमा दुःख बिमार परेर पुरुष मानिसको मृत्यु र गरिबी बढेपछि महिलाहरूले भाइभतिजाहरूको सुस्वास्थ्य, दीर्घायु र समृद्धिको कामना गर्दै तीजको ब्रत बस्न थालेको रानाथारु समुदायमा विश्वास छ । त्यति बेला रानाथारु समुदायको महिलाले ब्रत बसेर भगवान श्रीकृष्णको अर्चना गरेपछि समाजबाट दुःख हटेर समाजमा खुशी, सुख र शान्ति आएको किम्वदन्ती छ ।
     दिनभरि ब्रत बसेका महिलाहरूले साँझ भएपछि एक साथ नदी किनारमा गएर दाभ (कुस) को बोटमा एकै हातले झुर्खी (चुल्ठी) बाँधेर त्यसमा विभिन्न परिकारलाई प्रसादको रुपमा चढाउने गरेको रानाथारु समुदायका जानकारहरुको भनाई छ । नदी किनारमा जानु भन्दा पहिले लिंगेपिंगको डोरीको टुप्पा काटेर लग्ने र झुर्खीसंगै बिसर्जन गर्ने चलन रहेको शुक्लाफाँटा नगरपालिकाकी सञ्जु रानाले बताईन ।
     ‘जति ठूलो नदीको धार, त्यति लामो मेरो दाजुभाइ, भजिताको आयु’ भन्दै झुर्खी विसर्जन गर्ने गरेको उनको भनाई छ । उनले नदीको लम्बाई जस्तै आफ्ना दाजुभाइ र भजिताको उमेर बढ्ने विश्वास रहेको बताइन् । यसरी बनाएर बगाइने झुर्खीमा विवाहित महिलाले सात गाँठो र अविवाहित महिला पाँच गाँठो बाध्ने चलन छ ।
     सबै भन्दा पहिले रानाथारु समुदायले पूजा गर्ने गरेको देवी बेमैयाँले तीजको ब्रत बसेकी थिइन् भन्ने गरिएको छ । बेमैयाँले भाइको नाममा एउटा गाँठो बाँधेर बगाउँदा बगेन । गाँठो त्यही दुब्यो । दुई वटा गाँठो बाँधेर बगाउँदा बग्यो । फेरि एउटा गाँठो बाँधेर बगाउँदा बगेन । बेमैयाले भाइको नामा एउटा गाँठो बनाएर बगाउने धेरै प्रयास गरिन् । कुनै पनि नबगेपछि उनी रुन थालिन् । त्यसपछि महादेवको उत्पत्ति भयो र महादेवले भजिताको नामको गाँठो समेत बाँधेर बगाउन अनुरोध गरे । बेमैयाँले भाइ र भजिताको नाममा दुई वटा गाँठो बाँधेर बगाइन् । त्यो झुर्खी लामो दूरीसम्म बग्यो । पछि गएर यो परम्पराम बन्यो । यसैलाई पुस्तान्तरण हुँदै जाँदा बिवाहितले सात र अविवाहितले पाँच गाँठो बाँधेर झुर्खी बगाउने चलन रानाथारु समुदायमा छ ।
     झुर्खी विसर्जनपछि आपसमा प्रसाद बाँडेर ब्रत तोड्ने र त्यसपछि घर आएर दिनभरि लगाएर बनाएका परिकारहरू सिमही, खुजुरिया, गुलगुला, पुरी, अचार लगायतका खाने र छरछिमेकमा बाँड्ने चलन छ । नेपाली अरु महिला जस्तै रानाथारुको तीज पनि महिलाहरूको लागि छुट्टै महत्वको पर्व रहेको छ । 
     दाजुभाइ र भतिजाहरूको दीर्घायुको कामना गर्दै महिलाहरूले बस्ने व्रतले पारिवारिक सम्बन्धलाई अझै प्रगाढ बनाउने गरेको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका, कृष्णपुर, पुनर्वास, बेलौरी, शुक्लाफाँटा, वेदकोट, महाकाली नगरपालिका, लालझाडी गाउँपालिकामा राना थारु समुदायको बसोबास बाक्लो छ । 


  • सम्बन्धित विषय:

  • # रानाथारु
  • # तीज
  • प्रतिक्रिया दिनुहोस