मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

‘लालपूर्जा छ, जग्गामा टेक्न पाउदैन’


पश्चिम प्रेस
सोमबार, पुस १२ २०७८
  • 937
    Shares

  • images
    images
    ‘लालपूर्जा छ, जग्गामा टेक्न पाउदैन’

    महेन्द्रनगर ।  कञ्चनपुरको पुनर्वासका करनबहादुर सुनारले आफ्नो जग्गामा खुट्टा टेक्ट नपाएको दशक बित्यो । २०५९ सम्म आफ्नो खेत भोगचलन गरिरहेका स्थानीयबासी सुनारलाई यतिबेला सोही खेतमा जान असहज भइरहेको छ । 
    भारतीय पक्षले सुनारको १५ कट्ठा खेतीयोग्य जमिन भोगचलन गर्न दिएको छैन । ‘सीमा विवाद समाधान गरेर जग्गा तेरो होइन, दशगजामा प¥यो भन्दिए पनि टन्टैसाफ हुने थियो ।’ उनले भने ‘हरेक वर्ष तिरो तिर्छु तर, जग्गामा खुट्टा राख्न पाइँदैन ।’ सुनारले भारतीय पक्षले उक्त भूमि आफ्नो क्षेत्रको भन्दै आफूलाई भोगचलनमा रोक लगाएको गुनासो गरे । ‘अहिले पनि लाल पुर्जा मसित छ र बेलौरी नगरपालिकामा तिरो तिर्दैछु ।’, उनले भने ’ जग्गाका लागि धेरै गुहारेँ तर कहीँ कतैबाट सुनुवाइ नै भएन ।’

    सुनारले आफ्नो जमिनसँगै जोडिएको जग्गाधनी मानबहादुर सुनारले भने भोगचलन गरिरहेको बताए । ‘मानबहादुरजीले जग्गा भारतीयलाई बन्धकी दिएका छन् ।’ सुनारले भने, ‘मैले जग्गामा टेक्न नपाएर अरूको मजदूरी गरेर खाद्यान्न जोहो गर्नुपरेको छ ।’ शहीद गौतमको घटनापछि नेपाल–भारतबीच संयुक्त सर्भेक्षण टोली बनाएर सीमा विवाद समाधान, सीमास्तम्भ पुनःनिर्माण र व्यवस्थान गर्न टोली गठन भएको थियो । कैलाली र कञ्चनपुरसित सीमा जोडिएको क्षेत्रको स्थलगत अनुगमन र सीमाको व्यवस्थापनका लागि गठित संयुक्त सर्भेक्षण टोलीले आफूहरूको क्षेत्रको विवाद तत्काल समाधान गर्नुपर्ने पुनर्वासबासीको माग छ ।


    साढे चार वर्षअघि कञ्चनपुरको पुनर्वास नगरपालिकास्थित नेपाल–भारत सीमा क्षेत्रको विवादमा गोविन्द गौतम शहीद बने । नगरपालिका–४ कारगिलडाँडा नजिकै नेपाली भूभागमा कल्भर्ट निर्माणको विषयले उग्ररुप लिँदा भारतीय सुरक्षाकर्मीको गोली लागेर गौतमले सीमामै शहादत प्राप्त गरेका थिए ।सिङ्गो मुलुकको ध्यान पुनर्वासतिर तानियो । स्थानीयस्तरदेखि राष्ट्रिय राजनीतिमा समेत चर्चा पाएको उक्त विषय अहिले सेलाए पनि त्यहाँ नेपाल–भारतबीचको सीमा समस्या उस्तै छ 


    प्रतिक्रिया दिनुहोस