सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

महाकाली सिचाँइ : नहरमा पानी छोड्ने तयारीमा भारत,नेपालको बेजोग (भिडियो सहित)


पश्चिम प्रेस
शनिबार, पुस १७ २०७८
  • 1.7K
    Shares

  • images
    images
    महाकाली सिचाँइ : नहरमा पानी छोड्ने तयारीमा भारत,नेपालको बेजोग (भिडियो सहित)

    महेन्द्रनगर ।  महाकाली सिचाँइ तेस्रो चरण नहर निमार्णको काम सुरु भएको १५ वर्ष बितिसक्दा आयोजनाले १२ किलोमिटर नहर मात्रै निमार्ण सम्पन्न गरेको छ । आयोजना अन्तर्गत भारतीय पक्षले निमार्ण गनुपर्ने टनकपुर ब्यारेज देखी नेपाल भारत सीमानासम्मको १२ सय मिटर नहर निमार्ण कार्य अन्तिम चरणमा पुगाएको छ । 
    भारतीपक्षले अबको एक महिना भित्रै नहरमा पानी छोड्ने तयारी गरेको छ । तर नेपालतर्फ भने मुल नहर निमार्णको काम पनि सम्पन्न हुन सकेको छैन । भारतीय पक्षले नहरमा पानी छोड्ने तयारी गरिरहदा नेपालले भने उक्त पानी कहाँ प्रयोग गर्ने भन्ने अन्योल छ । 
    आर्थिक वर्ष ०६२÷६३ देखि नहर निर्माणको काम सुरु भएको आयोजनाको नेपालतर्फ ब्रह्मदेवदेखि मुसेपानीसम्म १२.८ किलोमिटर नहर निर्माण भएको छ  । भने १६ किलोमिटर नहर अहिले तीनवटा प्याकेजमा निमार्णाधीन छ । किसानको खेतसम्म पानी पुगाउनका लागि शाखा नहरहरु निमार्ण नभएकाले भारतले पानी छोडे मुसेपानीको खोलासम्म पानी पुगाउने आयोजनाको लक्ष्य रहेको आयोजनाका निर्देशक रण वहादुर बमले बताए ।
    आयोजनामा हालसम्म ४ अर्ब ४८ करोड बजेट खर्च भइसकेको छ । तर भौतिक प्रगति भने १३ प्रतिशत मात्रै छ । नेदरल्यान्ड्सको नेडिको नामक कन्सल्टेन्सीले २००१ मा गरेको सर्भेअनुसार आयोजनाको कार्ययोजना २० वर्षको र लागत अनुमान ११ अर्ब थियो । यो कार्ययोजनालाई आधार मान्ने हो भने नहर निर्माण सुरु भएको डेढ दशकको अवधिमा भौतिक प्रगति ७५ प्रतिशत हुनुपर्ने हो । तर बजेट अभाव, मुआब्जा विवादलगायत समस्याका कारण आयोजनाले गति लिन सकेको छैन । निर्माण सुरु भएको १३ वर्षसम्म वार्षिक बजेट ३०÷४० करोड मात्रै हुन्थ्यो ।

    गत वर्षको बजेट भाषणमा यो आयोजनालाई राष्ट्रिय गौरवको आयोजनामा राखिएपछि बजेट बढ्न थालेको हो । राष्ट्रिय गौरवको आयोजना घोषणा गरिए पनि गत आर्थिक वर्षमा ४१ करोड मात्रै बजेट आएको थियो । चालु आर्थिक वर्षमा १ अर्ब २२ करोड बजेट सुनिश्चित भएको आयोजना कार्यालयले जनाएको छ ।
    आयोजनाले बजेट अभाव लगायतका विभिन्न समस्याले अपेक्षीत प्रगती गर्न नसकेको राष्ट्रिय योजना आयोगका सदस्य सुरेन्द्र लाभको भनाई छ । महाकाी सिचाँइ आयोजना राष्ट्रिय गौरवको आयोजना भइसकेकाले अब सरकारको प्राथमीकतामा रहने भएकाले कामले गति लिने उनले बताए ।महाकाली सिचाँइ आयोजना समयमै राष्ट्रिय गौरवको आयोजनामा समावेश नहुँदा कामले गति लिन नसकेको उर्जा मन्त्रालयका सह–सचिव नुर मोहवद खाँले बताए ।


    २०११ मा गरिएको सर्भे अनुसार आयोजनाको काम सक्न ३५ अर्ब बजेट खर्च हुने अनुमान गरिएको छ । अहिलेकै अवस्थामा एक÷डेढ अर्ब बजेट आए पनि कम्तीमा ३५ वर्ष लाग्ने देखिन्छ । अबको १० वर्षमा आयोजनाको काम सक्ने लक्ष्य छ । गत आर्थिक वर्षदेखि ५ वर्षसम्म पहिलो चरणमा १४ हजार २९० हेक्टर र त्यसपछिको अर्को ५ वर्षमा १९ हजार ३१० हेक्टरमा सिँचाइ सुविधा पु¥याउने आयोजनाको लक्ष्य छ । यसका लागि ५ वर्षभित्र करिब सय किलोमिटर मूल नहरसँगै शाखा प्रशाखाहरू निर्माण गरिसक्नुपर्नेछ । त्यसैगरी अर्को ५ वर्षमा ५१ किलोमिटर नहरसँगै त्यसअन्तर्गतका शाखा प्रशाखाहरूको काम सक्नुपर्ने हुन्छ । 
    आयोजनाको मूल नहर १५१ किलोमिटर, शाखाहरू १७२ किलोमिटर र प्रशाखाहरू १ हजार २४ किलोमिटर निर्माण हुनेछन । जसअन्तर्गत झन्डै एक हजारजति पुल, साइफनलगायत संरचना निर्माण गर्नुपर्नेछ । यो वर्ष मूल नहर निर्माण भएको क्षेत्रमा शाखा र प्रशाखा निर्माणको सर्भे सुरु गरिएको छ । २८ किलोमिटर मूल नहर क्षेत्रमा २२ वटा शाखाको डिजाइन इस्टिमेट र जमिन अधिग्रहणको काम यो वर्ष सुरु गरिनेछ । जसबाट ५ हजार ३ सय हेक्टरमा सिँचाइ सुविधा उपलब्ध हुनेछ ।

    भारतीय पक्षले टनकपुर ब्यारेजदेखि नेपाल–भारत सीमासम्म १२ सय मिटर नहर निर्माण कार्य अन्तिम चरणमा पु¥याएपछि नेपालतर्फ पनि दबाब बढेको छ । १२.८ किलोमिटरदेखि २८ दशमलव ८ किलोमिटरसम्मको नहर निर्माणको काम चलिरहेको छ । विगतमा सामुदायिक वन र ऐलानी जग्गा अधिग्रहणमा देखिएको समस्याका कारण उक्त क्षेत्रमा नहर निर्माणको कामले गति पाएको थिएन । मुआब्जा विवाद गत वर्ष टुंगिएपछि निर्माण कार्य अगाडि बढेको छ । आयोजना निर्माण सम्पन्न गर्नका लागि १२ सय हेक्टर जमिन अधिग्रहण गर्नुपर्छ । हालसम्म १६७ हेक्टर मात्रै अधिग्रहण भएको छ ।

    टनकपुर ब्यारेजबाट नेपालले सिँचाइका लागि १ हजार क्युसेक पानी पाउने महाकाली सन्धिमा उल्लेख छ । यसैगरी महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत नै शारदा नहरबाट दोधारा–चाँदनीका लागि साढे ३ सय क्युसेक पानी पाउनेछ । टनकपुरतर्फ नहर निर्माणको काम सुरु भए पनि दोधारा–चाँदनीतर्फ भने तयारी नै छैन । उक्त क्षेत्रमा झन् नेपाल–भारतमध्ये कसले सीमासम्मको नहर बनाउने भन्ने टुंगो लाग्न बाँकी छ ।


    प्रतिक्रिया दिनुहोस