महेन्द्रनगर । पूर्वपश्चिम राजमार्ग अन्तर्गत मर्मतका नाममा भइरहेको निमार्णकार्यले दुुर्घटनाको जोखिम बढेको छ ।
सडक डिभिजन कार्यालय महेन्द्रनगरले पूर्वपश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको गड्डाचौकीदेखी कैलालीको चिसापानी सडकखण्ड मर्मतको काम गरिरहेको छ । तर मापदण्ड विपरीत निमार्णकार्य भइरहेकाले यसले दुर्घटनाको जोखिम बढाएको हो । एक ईन्जिनियरका अनुसार सडक मर्मत गर्दा पुरानो सडक र नयाँको लेयर बराबर हुनुपर्ने हो तर हाईवेमा मर्मत गरेको ठाउँमा पुरानो भन्दा लेयर बढी छ । यसले सडक दुर्घटनाको जोखिम बढाएको छ ।
सडक डिभिजन कार्यालय महेन्द्रनगरका अनुसार खाल्डाखुल्डी पुर्ने र उप्केको कालोपत्रे मर्मत भइरहेको छ । भीडभाड बढी हुने चोक र चौराहाहरूमा सडक स्तरोन्नति गरेर चार लेनसम्मको बनाइन लागेको हो । कञ्चनपुरका महेन्द्रनगर–दैजी खण्डको सडकमा ठाउँठाउँमा खाल्डाखुल्डीले यात्रा गर्न निकै समस्या भएकाले अहिले उक्त क्षेत्रमा सडक मर्मतको काम भइरहेको छ । ‘सडक भत्केको वा बिग्रेको ठाउँमा मर्मत गर्ने र केही चोकहरूमा विस्तार गर्ने गरिदै छ ।’ सडक डिभिजन कार्यालय महेन्द्रनगरका प्रमुख नरेन्द्र भट्टले भने– ‘बढी भीडभाड हुने चोकहरूमा सडक विस्तार गरेर चार लेनसम्मको पारिदैछ ।’ चोकहरूमा सडक विस्तारको काम गतवर्षदेखि नै सुरु भएको हो । उनले दुर्घटनाको जोखिम हुने गरी निमार्ण नभएको दाबी गरे । महेन्द्रनगर बजार क्षेत्र, भासी, लालपुर, दैजी, झलारी, बाणी र गुलरिया चोकमा सडक चौडा पारिदै छ ।
.gif)