महेन्द्रनगर । पश्चिम नेपालको कञ्चनपुर–कैलालीमा बसोबास गर्ने रानाथारु समुदायले पृथक तरिकाले तिहार मनाउने गरेका छन ।
यो समुदाय एक महिना अघि देखि नै घरलाई लिपपोत गरेर सजाउने र खानाका विभिन्न परिकार बनाउन तयारीमा पनि जुट्छन । यो समुदायले तिहारलाई दिवारीका रूपमा मनाउने गर्छ । घरको जेठो महिलाले पूजा गर्ने भएकाले पनि उनीहरूका लागि दिवारीले विशेष अर्थ राख्ने गर्छ ।
कार्तिक शुक्ल पक्षको दोस्रो दिन मनाइने भएकाले यसलाई दिवारी भन्ने गरिएको कञ्चनपुरको भीमदत्त नगरपालिका–१६ नयाँ कटानका नाथुराम रानाले बताए । ‘यसपटक भाइटीकाकै दिन दिवारी परेको छ । त्यही दिन शुभ रहेकाले दिवारी मनाउने तयारीमा जुटेका छौ ।’ उनले भने ‘दिवारीको पूजा घरको जेठो महिलाले गर्ने चलन छ ।’ बिहानै उठेर सरसफाइ गरी घरमा देवताको बास होस्, राक्षसको नाश होस् भनी पूजा गर्ने गरिएको उनले बताए ।
पूजापाठ सकेपछि कुखुराको भाले पूजा गर्ने र काटेर खाने चलन छ । यसबाहेक विभिन्न परिकार समेत बनाइन्छ । ‘गाउँभरिका सबैले सबैको घरमा पुगेर खाना खान्छौं ।’ उनले भने– ‘कुखुरा हुनेहरू त्यही काट्छन्, नहुनेहरू दूध, दही र अन्य परिकार तयार गर्छन ।’
भीमदत्त–१४ का चेतराम रानाका अनुसार पहिला–पहिला भाइटीका र लक्ष्मी पूजा गरिँदैनथ्यो । अहिले अन्य समुदायको सिको गरेर राना थारू पनि भाइटीका र लक्ष्मी पूजासमेत गछन ।