बिहीबार , चैत १६ गते २०७९ || Mar 30, 2023

श्रीमद्भगवत् गीता परिचय तथा भावार्थ


शनिबार, कात्तिक २६ २०७९
  • 286
    Shares

  • images
    images
    श्रीमद्भगवत् गीता परिचय तथा भावार्थ
    images
    images

    ‘वेदोऽखिलं धर्म मूलम्’
     सम्पूर्ण धर्मको मूल वेद हो । विश्व वाङ्मयको आदिस्रोत हो, जसको उत्पत्ति परब्रह्मको निश्वासबाट भएको हो । वेदमा ब्रह्मलाई ‘सहस्रशीर्षापुरुष’ भनेर पुरुष शब्दले पुकारिएको छ । पुर भनेको शरीर तथा ब्रह्माण्ड भन्ने हुन्छ, त्यसमा रहने अर्थात् शयन गर्नेलाई पुरुष भनिन्छ । यो जगत् त्यसै पुरुषको गर्भमा रहने हुनाले ब्रह्मको अण्ड अर्थात् ब्रह्माण्ड भनिन्छ । त्यसैब्रह्मलाई हिरण्यगर्भ भनिन्छ । त्यसै हिरण्यगर्भ पुरुषलाई पौराणिक वाङ्मयमा ‘सनातनोऽयं पुरुष पुराण’ सनातन शब्दले व्यवहृत भरिएको छ । त्यही सनातन ब्रह्मद्वारा संस्थापित र संरक्षित धर्मलाई ‘एषः धर्मः सनातन’ भनेर सनातन धर्मको संज्ञा दिइएको छ । सनातन धर्मको रक्षार्थ शिवले पिनाक नामक धनुष धारण गरेको कुरा आद्य शङ्कराचार्यले यसरी उल्लेख गरेका छन कि – पिनाक हस्ताय सनातनाय ।” त्यस्तै ‘ब्रह्माविष्णु महेशानां ज्योतिरेतत् सनातनम्’ अर्थात् ब्रह्मा, विष्णु र महेशको ज्योतिलाई सनातनको नाम दिइएको छ ।
    सनातनं विष्णुमनन्तरुपं श्रियपतिं सत्यपतिं ससत्यम् ।
    सनातनं दिव्यसहस्रमौलिम् अनन्तसंज्ञ पुरुषं ददर्श । (स्कन्दपुराण मानसखण्ड संहिता)
     यसरी वेदद्वारा निर्देशिक धर्म नै सनातन हो । जसलाई वैदिक धर्म, जीवन धर्म, मानव धर्म, आर्य धर्म, प्रकृति धर्म, ॐकार धर्म पनि भनिन्छ भने यस वैदिक सनातन धर्मको बहुप्रचलित नाम हिन्दूधर्म हो । 


    १. सनातन वाङ्मयको उत्पत्ति
     सनातन हिन्दू धर्मको मूल ज्ञान नै वेद हो । वेद ब्रह्मको वाङ्मय स्वरुप हो । आँखाले हेर्न सकिने कानले सुन्न सकिने, मुखले बोल्न सकिने र मन–बुद्धिले अनुभव गर्न सकिने पुराण पुरुषोत्तम ब्रह्मको साकार रुप वेद हो । वेद अध्ययन अध्यापनको अभावका कारणले वैदिक ज्ञानलाई क्लीष्ट मानियो र लोकले वेदलाई वास्तविक रुपमा बुझ्न र बुझाउन सकेन । फलतः वैदिक ज्ञानलाई प्रष्ट गर्न अनेक उपनिष दर्शन एवं वेदाङ्गहरु प्रकाश आए, अनि वेदका उपासनाकाण्ड, ज्ञानकाण्ड र भक्तिकाण्डका अनेक मार्गहरु स्वतन्त्र अस्तित्वमा देखिए । ती मार्गको मार्गदर्शन गराउन अनेक ऋषिमुनिहरुद्वारा रामायण, महाभारत, पुराण, स्मृति, सूत्रग्रन्थ, काव्य साहित्य आदिको रचना गरियो । यसप्रकार वैदिक वाङ्मयको आधारशीलामा लौकिक वाङ्मयको अङ्कुरण भएको देखिन्छ । 

    २. धर्म सम्प्रदाय, दर्शन र वाद एवं सिद्धान्तको मौलिक स्रोत 
    सनातन ग्रन्थ वेदमा ‘अग्निर्देवता वातोदेवता सूर्योदेवता चन्द्रमा देवता वसवोदेवता रुद्रादेवता आदित्यादेवता मरुतोदेवता विश्वेदेवादेवता बृहस्पतिर्देवतेन्द्रोदेवता वरुणोदेवता भनिएको छ । मन्त्रमा अग्नि, वायु, सूर्य, चन्द्रमा, पृथ्वी, रुद्र, विष्णु, मरुत्, विश्वेदेव, बृहस्पति, इन्द्र, पानी आदि सम्पूर्ण शक्तिलाई देवताका रुपमा स्थापित गरेको पाइन्छ । संसारमा प्रचलित धर्म, सम्प्रदायमध्ये कसैले अग्नि कसैले सूर्य, कसैले चन्द्रमा, कसैले जल, वायु, प्रकृति त कसैले जीव– जगत्मध्ये कुनै एक अथवा दुई शक्तिलाई मात्र स्वीकारेको पाइन्छ । यही एकाकी दृष्टिकोणको आधारशीलामा विश्वका अन्यान्य धर्म सम्प्रदाय दर्शन, वाद र सिद्धान्तको स्थापित भएको पाइन्छ भने वैदिक सनातन चिन्तनमा ब्रह्माण्डका प्रत्येक वस्तुलाई ईश्वरको स्वरुप मानेको छ । 
    ईशावास्यामिदं सर्वं यत्किञ्च्यजगत्यां जगत्’ (ईशोपनिषद्) यस आधारमा मनन गर्दा विश्वका प्रत्येक धर्म–सम्प्रदाय, दर्शन वाद एवं सिद्धान्तको मौलिक स्रोत वेद नै देखिन्छ । यसैबाट पञ्चमवेदका रुपमा महाभारतको जन्म भएको पाइन्छ । 


    ३. महाभारतका लेखक 
    अथातो हिमशैलाग्रे देवदारु वनालये ।
    व्यासमेकाग्रमासीनमपृच्छन्नृषय पुरा ।। (पराशर स्मृति १।१)
     हिमालयमा अवस्थित देवदारु वनालय (हालको दार्चुला) मा साधनारत महर्षि वेदव्यासले सनातन श्रुतिज्ञान परम्परालाई विधाता ब्रह्माको आज्ञाले गणेशजीसँग महाभारत ग्रन्थको लेखक बनिदिन आग्रह गर्नुभयो । व्यासजीको कुरामा गणेशजीले एउटा शर्त राख्नुभयो कि ‘लेखक बन्न त म तयार छु, तर लेखन गर्ने बेला बीचमा मेरो कलम रोकिने छैन । रोकिएपछि चल्ने छैन, त्यसपछि वेदव्यासले यो कुरा स्वीकार गर्दै आफूले पनि एउटा शर्त राख्नुभयो – कुनै पनि प्रसङ्गमा हजुरले पनि एक अक्षरको पनि अर्थ नबुझी लेख्नु पर्ने छैन ।’ दुवैका शर्तहरु दुवैले स्वीकार गरे । अनि वेदव्यास महाभारत लेखाउन थाल्नुभयो । गणेशजी लेख्न थाल्नुभयो । बीच बीचमा वेदव्यासजी केही यस्ता कूटश्लोक (गूढ अर्थ दिने श्लोक) भन्नुहुन्थ्यो र जसको अर्थ लगाउन गणेशजीलाई समय लाग्थ्यो त्यसै बीचमा वेदव्यास अर्को प्रसङ्ग सोच्नु हुन्थ्यो । यसरी रचना भएको ग्रन्थको नाम महाभारत हो । वैदिक तथा लौकिक संस्कृत वाङ्मयका संस्थापक व्यास नै हुन् ।


    ४. महाभारत लेखनको उद्देश्य र कारण
     वैदिक वाङ्मय सम्पादन, लेखन पश्चात् व्यासद्वारा लौकिक संस्कृत वाङ्मयको लेखन गरियो । जसमा वाल्मीकिकृत रामायण तथा स्वयं वेदव्यासकृत महाभारतलाई ऐतिहासिक साहित्य मानिन्छन् भने पुराण, स्मृति, सूत्रग्रन्थ, काव्य साहित्यग्रन्थलाई पृष्ठपोषक भनिन्छ जसमध्ये महाभारत हिन्दू जीवन पद्धतिको प्राचीन इतिहास हो । यसमा एक लाख श्लोक भएका हुनाले यसलाई शत्साहस्री भनिन्छ, ‘इतिहास पुराणानां पञ्चमो वेद उच्यते ।’ इतिहास तथा पुराणलाई पाँचौ वेद भनिन्छ । त्यस्तै छन्दोग्योपनिषद्मा महाभारतलाई ‘पञ्चमवेद’ भनेको छ । ‘स्त्रीशूद्रद्विजबन्धुनां त्रयी न–श्रुतिगोचर’ का अनुसार वेद पढ्ने अधिकार सबैलाई सबै अवस्थामा दिइएको छैन । वेद अध्ययन र अध्यापनको एक विशिष्ट परम्परा रहेको छ भने पञ्चम वेद महाभारत पढ्ने र सुन्ने अधिकार भने सबैलाई दिइएको छ । जातीय वा लैङ्गिक आधारमा वैदिक ज्ञानबाट कोही पनि वञ्चित नरहुन् भन्ने महान् उद्देश्यले कृष्णद्वैपायन वेदव्यासले महाभारत ग्रन्थको रचना गरेका हुन् । ‘भारतं पञ्चमो वेद’ यस श्रुतिका आधारमा महाभारत पाँचौ वेद हो, महाभारत पढ्नु र सुन्नु वेद नै पढ्नु र सुन्नु हो । 
    धर्मे अर्थे चकामे च मोक्षे च भरतर्षभ ।
    यदिहास्ति तदन्यत्र यन्नेहास्ति न तत्क्वचित् ।। (महाभारत)
     धर्म, अर्थ, काम र मोक्षको सम्बन्धमा जो महाभारतमा भनिएको छ वा लेखिएको छ त्यसपछि अब केही भन्न र लेख्न सकिदैन । यस अर्थमा आजका प्रत्येक घटनाहरु महाभारतकालमा घटिसकेका थिए । महाभारत र महाभारतकालीन तिनै घटनाहरु प्रकारान्तर रुपले आज घट्दैछन् र लेखिदैछन् । सारांशमा भन्नुपर्दा महाभारत पञ्चम वेद हो, जसको पठन पाठनमा सबैको अधिकार 
    छ । जो ज्ञान–विज्ञान र इतिहासको महासागर हो । मनको विज्ञान अर्थात् अध्यात्म ज्ञान र बाह्य ज्ञान अर्थात् भौतिक विज्ञानको जननी महाभारत नै हो । यसैको अन्तर्गभबाट श्रीमद्भगवत् गीताको जन्म भएको हो । 


    ५. उपनिषद्का रुपमा श्रीमद्भगवत् गीता
     श्रीमद्भगवत् गीता मानव मात्रको सनातन अध्यात्म शास्त्र हो । मानव सृष्टिको आदिमकालमा योगेश्वर श्रीकृष्णको मुखबाट निस्किएको अविनाशी सनातन ज्ञान हो, जो वेद र उपनिषद्को समन्वयात्मक रुप हो । 
     ॐ तत्सदिति श्रीमद्भगवत् गीतासूपनिषत्सु ब्रह्मविधायां योग–शास्त्रे कृष्णार्जुन संवादे.......। भनेर प्रत्येक अध्यायको समापनमा भनिएको पुष्पिकाका आधारमा भगवत् गीता वेदको प्रथम अक्षर ॐ को विस्तारित रुप हो । ‘ॐ इत्येकाक्षरं ब्रह्मः’ एक अक्षरको ॐ लाई ब्रह्म भनिएको छ । त्यस्तै एक अक्षर ‘ॐ तत्सदिति निर्देशो’ भनेर गीतोपनिषद्मा ॐ तत् सत्लाई ब्रह्का तीन नाम भनेको छ । ऋग्वेदको महावाक्य– सर्वं खल्विदं ब्रह्म (निश्चय नै यो ब्रह्म हो) यजुर्वेदको महावाक्य– तत्त्वमसि (त्यही ब्रह्म तिमी हौ) सामवेदको महावाक्य अयमात्मा ब्रह्म (यो आत्मा नै ब्रह्म हो), अथर्ववेदको महावाक्य– सोऽहम् (म नै त्यो ब्रह्म हुँ) लाई व्याख्या र विस्तार गीताले गरेको छ, गीता आफैमा उपनिषद् हो । ब्रह्मविद्या हो । 
    सर्वोपनिषदोगावो दोग्धागोपाल नन्दनः ।
    पार्थो वत्सः सुधीभोक्ता दुग्धं गीतामृतं महत् ।।
     सबै उपनिषद् गाई हुन् गोपाल श्रीकृष्ण दोहक भई, अर्जुनलाई बाच्छो बनाएर दोहन गरिएको दुधरुपी गीता–अमृतको सुधी (संत) जनहरुले पान गरुन् भनिएको छ । 
     ‘ऋषिभि बहुधागीतम्’ अर्थात् ऋषिहरुले अनेक पटक जसको गीत गाएका छन् । गीता त्यस्तो विश्वज्ञानको धरोहर हो । विश्वसम्पदा हो । ज्ञानको जीवित वाङ्मयीमूर्ति हो । यस मानवशास्त्रको श्रवण, अनुशरण र सम्मान गरेर विश्वशान्ति कायम गर्न सकिन्छ । गीता मनको वाणी हो, हृदयको पुकार हो । जुन मनुष्य जुन भाव र मान्यताका अनुसार गीताको अध्ययन चिन्तन, मनन गर्दछ । भगवत् गीता पनि त्यसलाई त्यसै भाव र मान्यताका अनुसार देखिन्छ । जस्तै दर्पण (ऐना) का सामुन्ने मानव आफ्नो जस्तो अनुहार लिएर जान्छ । आफूलाई आफ्नो अनुहार त्यस्तै देखिन्छ । यसरी नै गीतारुपी दर्पणमा कर्मयोगीलाई कर्मशास्त्र, ज्ञानयोगीलाई ज्ञानशास्त्र, भक्तियोगीलाई भक्तिशास्त्र, वैरागीलाई वैराग्य देखिन्छ । गीता यस्तो गोल फल हो जसले जहाँबाट जसरी खाए पनि हुन्छ । त्यसैले गीता एक उपनिषद् हो, सूर्य हो, चन्द्र हो, पृथ्वी हो । यसको नजिक गएर बस्नुपर्छ । पात्रताका आधारमा फल पाइन्छ । भगवन् गीता मूलतः आत्मा र परमात्मा बीचको सनातन संवाद हो । ब्रह्म र जीवको अन्तर्सम्बन्धको कथा हो । चेतनशील हृदयको सनातन अनुभूति नै गीता हो ।


    ६. महाभारत र गीताको अन्तरर्सम्बन्ध
     महाभारतमा कुन अठारह पर्व छन् । ती पर्वभित्र पनि अवान्तर पर्वहरु छन् । त्यसैमा भीष्मपर्व अन्तर्गत श्रीमद्भगवत् गीता पर्व छ । जो भीष्म पर्वको तेह्र अध्यायदेखि बयालीस अध्यायमा समापन हुन्छ । जसमा तेह्र अध्यायदेखि चौबीससम्म सञ्जयले धृतराष्ट्रलाई युद्ध सम्बन्धका कुरा बताउनु भएको छ भने पच्चीसदेखि बयालीस अध्याय श्रीकृष्ण–अर्जुन संवाद नामले प्रसिद्ध छ । यो अठारह अध्यायलाई नै श्रीमद्भगवत् गीता भनिन्छ । यसमा महर्षि वैशम्पायन–जनमेजय संवाद अन्तर्गत धृतराष्ट्र–सञ्जय संवाद रहेको छ । त्यसैभित्र कृष्णार्जुन संवाद छ, यसैलाई ‘श्रीमद्भगवत् गीता’ भनिन्छ ।


  • सम्बन्धित विषय:

  • # श्रीमद्भगवत् गीता


  • प्रतिक्रिया दिनुहोस
    images