बुधबार, चैत १५ गते २०७९ || Mar 29, 2023

श्रीमद्भगवत् गीता परिचय तथा भावार्थ (भाग - २)


आइतबार, कात्तिक २७ २०७९
  • 307
    Shares

  • images
    images
    श्रीमद्भगवत् गीता परिचय तथा भावार्थ  (भाग - २)
    images
    images

    ७. श्रीमद्भगवत् गीतामा छन्द र श्लोक श्रृङ्खला
     वर्तमान श्रीमद्भगवत् गीतामा सातसय श्लोक सङ्ख्या रहेको छ । जसमा बत्तीस अक्षरको एक श्लोक हुने अनुष्टुप छन्द, छत्तीस अक्षरको एक श्लोक हुने बृहती छन्द, चवालीस अक्षरको एक श्लोक हुने त्रिष्टुप छन्द एवं अठचालीस अक्षरको एक श्लोक हुने जगती छन्द गरी चार प्रकारका छन्दको प्रयोग गरिएको छ । 
     महर्षि वैशम्पायनले श्रीमद्भगवत् गीतामा कुल श्लोक सङ्ख्या सात सय पैचालीस रहेको कुरा बताएका छन् –
     षट्शतानि सविंशानि श्लोकानां प्राह केशवः ।
     अर्जुनः सप्तपञ्चाशत् सप्तषष्टिँ तु सञ्जयः । 
     धृतराष्टः श्लोकमेकं गीताया मानमुच्यते ।। (भीष्मपर्व ५३।४५)
     गीतामा भगवान् श्रीकृष्णले छ सय बीस श्लोक (६२०) अर्जुनले सन्तावन्न (५७), सञ्जय सत्सठ्ठी (६७), धृतराष्टले एक (१) श्लोक भनेका छन् । यो नै गीताको परिमाण मानिन्छ । तर प्रचलित गीतामा भगवान्ले पाँचसय चौहत्तर (५७४) अर्जुनले चौरासी (८४), सञ्जयले एकचालीस (४१), धृतराष्टले एक (१) गरी सातसय श्लोक रहेका छन् । बाँकी रहेका पैचालीस श्लोकको हकमा श्री भगवानुवाच, अर्जुन उवाच तथा अध्यायका अन्तमा आउने पुष्पिकाहरु (ॐ तत्सदिति......।) मा प्रयोग भएका अक्षर सङ्ख्या सहित जोडेर महाभारतमा भनिएको गीताको परिणामसँग मिल्दछ भन्ने कुरा स्वामी रामसुखदासजीले लेख्नु भएको छ । 
    ८. मानव उद्धारको मार्ग भगवत् गीता 
     सनातन हिन्दू परम्परामा मानव जातिको उद्धारको लागि तीनओटा मार्गहरु प्रस्थानत्रयीका नामले प्रसिद्ध छन् । 
    क) वैदिक प्रस्थान
     वैदिक प्रस्थान भनेको ब्रह्मसँग पुग्न अनुशरण गरिने वैदिक मार्ग हो । यस अन्तर्गत ईशादि एकादश उपनिषद्हरु रहेका छन् । जसमा मन्त्रको माध्यमबाट जीवन, जगत् र ईश्वरलाई चिनाएको छ । यी वैदिक ग्रन्थको अध्ययन अध्यापनका लागि नीति र नियमहरु निर्धारित गरिएका छन् । शिखा–सूत्रधारी वेदाधिकारीले मात्र अध्ययन गर्न सक्दछन् सबैको अधिकार छैन । असाधारणले मात्र अनुशरण गर्ने पथ हो ।

     ख) दार्शनिक प्रस्थान
     परमतत्त्व प्रात गर्न दर्शनलाई आधार बनाएर हिँड्ने मार्गलाई दार्शनिक प्रस्थान भनिन्छ । यस अन्तर्गत मीमांश, न्याय, वैशेषिक, साङ्ख्य योग र वेदान्त गरी ६ ओटा आस्तिक दर्शन रहेका छन् । जैन, बौद्ध र चार्वाक गरी तीन नास्तिक दर्शनहरु पनि आर्य दर्शन अन्तर्गत मानिन्छन् । यी मध्ये वेदान्त दर्शनलाई ब्रह्मसूत्र भनिन्छ । यसमा ब्रह्म, जीव र जगत्लाई सूत्रात्मक ढङ्गले बुझाउन खोजिएको छ । ब्रह्मसूत्र लगायत अन्य दर्शनको अध्ययन सर्वसाधारणको पहुँचभन्दा बाहिरको छ यसमा विद्वान र विदुषीको आवश्यकता पर्छ । दार्शनिक व्यक्ति नै यो मार्गमा जाने गर्छ । 
    ग) स्मार्त प्रस्थान
     स्मृतिलाई आधार बनाएर ब्रह्म चिन्तन गर्ने मार्ग नै स्मार्त प्रस्थान हो । श्रुति अर्थात् वेदपछि स्मृतिको नै नाम आउँछ । स्मृतिहरुले श्रुति (वेद) लाई प्रष्ट्याउने काम गर्छ । स्मृतिहरुमा सबैभन्दा प्रसिद्ध स्मृतिको नाम ‘भगवत् गीता’ हो । यो श्लोकात्मक रहेको छ । भगवत् गीतामा सबैको अधिकार छ । पञ्चमवेदका रुपमा रहेको महाभारतको एक अंश भएको हुनाले गीता आफैमा वेद हो । यसमा जातीय तथा लैङ्गिक कुनै भेदभाव छैन । देवालयदेखि शिवालय गृहस्थदेखि विरक्त तथा सूतक–मृतक सबै बेलामा सबैले अध्ययन, मनन, चिन्तन गर्न सक्छन् । कुनै निश्चित नियम विना पनि पाठ गर्न सकिन्छ । भगवत् गीताको मार्ग सरल, सहज र सुगम छ । गीताको अन्तिम लक्ष्य शान्ति प्राप्ति हो । द्वैत, अद्वैत, विशिष्यद्वैत, द्वेताद्वैत, शुद्धाद्वैत, अचिन्त्यभेदाभेद आदि कुनै पनि वादविवाद र सम्प्रदायको सिद्धान्तलाई लिएर यो चल्दैन, गीताको मुख्य लक्ष्य मानव कल्याण कसरी हुन्छ भन्ने हो । 




    प्रतिक्रिया दिनुहोस
    images