महेन्द्रनगर । छाडाचौपायाले हैरान गरेको भन्दै स्थानीयले कञ्चनपुरको वेदकोट नगरपालिकाका भित्र छाडाचौपाया हुलिएपछि सो घटनाले उग्र रुप लियो ।
स्थानीयले छाडाचौपाया व्यवस्थापनको जिम्मेवारी नगरपालिकाको भएको भन्दै आन्दोलन गरे । केही दिन नगरपालिका तनावग्रस्त बन्यो । सेवा प्रभावीत भयो । नगरपालिकाभित्र गाई हुलिएपछि नगरपालिकाले व्यवस्थापन गर्नका लागि नगरपालिकाकै वडा ६ मा रहेको गौशाला लग्यो । त्यस क्रममा गाई व्यवस्थापन गर्दा केही अराजक समुहले अवरोध गरेको नगरपालिकाको दावी छ । त्यसको भोलीपल्ट सामाजिक सञ्जालमा गाडिएका गाई उत्खनन गरिएको भिडियो सार्वजनीक गरियो । नगरपालिकाले जिउदै गाई गाडेको भन्दै चर्को आलोचना समेत भयो ।
तर छाडाचौपाया व्यवस्थापनको जिम्मेवारी नगरपालिकाको भएपनि यसतर्फ आम नागरिक समेत सचेत हुन जरुरी छ । दुध दिने बेलासम्म गाई घरमा राख्ने र दुई दिन छोडेपछि गाई सडकमा छोड्ने परम्पराले गर्दा यो समस्या बल्झिएको हो । यसको व्यवस्थापनका लागि स्थानीय सरकारहरुले करोडौ खर्च गरेपनि दिगो व्यवस्थापन गर्न भने सकेका छैनन । साहित्यकार तथा सुदूरपश्चिम प्रदेशका जानकार हेमबाबु लेखकले भने छाडाचौपायाको मुख्य दोषी नागरिक भएको बताए । “यो समस्याका मुख्य दोषी हामी नागरिक भनिनेहरु नै हौ दोस्रो दोषी स्थानीय तहका जनप्रतिनिधिहरु हुन ।” उनले भने–“गाईको व्यवस्थापनका लागि दीर्घकालीन उपाय योजनावद्ध तरिका आफु निकटका मान्छेहरुलाई गाई व्यवस्थापनका लागि बजेट दिने स्थानीयसरकारका जनप्रतिनिधिहरु दोषी छन ।”
उनले विगतका स्थानीय सरकारहरुले यसमा ठोस समाधान निकाल्न नसकेको र अहिलेका स्थानीय सरकारहरुले पनि यसमा परिपक्वता देखाउन नसकेको बताए । उनले छाडा चौपाया कुनैपनि राजनीतिक दलले सडकमा छाडेर निम्तिएको समस्या नभई आम नागरिकहरुमध्येबाटै दूध दुहेर खाइसकेपछि र खेत जोतिसकेर बुढो भएपछि छाडिएपछिको समस्या भएको बताए ।
त्यसैगरी स्थानीय विष्णु जोशीले छाडा चौपाया सडकमा छोड्नु नागरिकको गल्ती भएको बताउदै सिर्जत समस्याको समाधान गर्न नसक्नु नगरपालिकाको कमजोरी रहेको बताए । “हाम्रो राष्ट्रिय जनावर पनि गाई भन्छौ ती गाईलाई हामी हिन्दुले पुजा गर्छौ तिनै गाई सडकमा छोडेका छौ ।” उनले भने–“हामीले हिन्दु हौ भन्न पनि लाज लाग्ने अवस्था आएको छ यसको समाधानका लागि सरकार र नागरिक उत्तिकै जिम्मेवार हुनुपर्छ ।” वेदकोट नगरपालिकामा छाडाचौपायाको विषयले उग्ररुप लिएपछि नगरपालिकाले नगरपालिका माथी लगाएका आरोप निराधार रहेको भन्दै पत्रकार सम्मेलन गरेर स्पष्टिकरण दिएको छ । नगरपालिकाले गाई गाडिएको विषय छानविनका लागि छानबीन समिति समेत बनाएको छ । जसमा सबै दलका प्रतिनिधि र पत्रकार महासंघका प्रतिनिधि समेत छन ।
बेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराले छाडाचौपायाले बालीमा नोक्सानी गरेर हैरानी गर्न थालेको गुनासो लिएर कार्यालयमा किसान आएपछि आफुले बेदकोट नगरपालिकाको वडा ६ स्थित गौशालामा पुगाउन भनेको बताएका छन । उनले गौशालामा गाई लैजाने क्रममा स्थानीय द्धारा अवरोध भएपछि गाई नगरपालिका भित्र हुलिएको बताए ।
नगरपालिकाभित्र हुलेका चौपाया चुनेपानीको शिद्धसरोवरमा लगेर राख्ने बेला ट्रकमा हालेर लैजाने क्रममा अराजक तत्वले लैजान नदिएर बाटोमा ट्रक रोकिएर राखेको अवस्थामा १४ घण्टा बाटोमा रहँदा कतिपय चौपायाले खान र पानी नपाएर मृत्यु वरण गरेको उनले दाबी गरे ।
“वडा नम्वर ५ धरमपुरको सडकबाट १ सय ५३ वटा गाई जान दिईयो भने ती सुरक्षीत गौशालामा पुगे ।” उनले भने–“त्यो बाटो खराव भएपछि दोसा्रे पटक १ सय वटा गाई रहेको ट्रकलाई वडा नम्वर ७ मा रहेको पुतली बजारमा केही अराजक तत्वहरुले १४ घण्टासम्म सडकमा गाइ रोकेपछि गाईहरुको मृत्यु भएको हो ।” जुन व्यक्तिहरुले पालिकाबाट गाई लैजान अबरोध गरिरहेका थिए तिनै व्यक्तिहरुले १ लाख रुपैँया रकमको बार्गेनिङ गरेको नगर प्रमुख बोहराले बताए । ट्रकमा गाई लैजाँदै गरेका व्यक्तिहरुसँग १ लाख दियो भने गाईलाई लैजान दिने भन्दै ती अराजक तत्वहरुले रकमको पनि माग गरेको उनले बताए ।
“मरेका गाईहरुलाई व्यवसथथत गर्नुपर्ने नगरपालिकाको जिम्मेवारी हो गाईहरुलाई व्यवस्थापन गरेको र जिउँदै गाईहरुलाई मारेर पुरेको भन्ने निराधार आरोप हो ।” उनले भने–“छाडाचौपाया व्यवस्थापनका लागि काम भइरहेको छ केही समय लाग्छ ।” उनले बेदकोट नगरपालिका ४ मा रहेको बाल ज्योती माबि नजिक बैतडामा रहेको १२ बिगाह जमिनमा गाई व्यवस्थापनको काम भइरहेको बताए ।
छाडाचौपाया व्यवस्थापनका लागि उपमेयर तुलसी जोशीले आफ्नो संस्थामा बजेट हाल्न खोजेको आरोप छ । नगरपालिकाले जोशी पूर्व अध्यक्ष रहेको सहकारी संस्थासंग कर्मचारी व्यवस्थापन र चौपायाका लागि चारो व्यवस्थापनका लागि सम्झौता गरेको छ । तर नगरपालिकाले हालसम्म उनको संस्थालाई भुक्तानी भने नगरेको नगरपालिकाको दाबी छ ।
.gif)