महेन्द्रनगर । कुनै बेला सालका रुखहरुले घना जंगल थियो कञ्चनपुरको मुटुमा रहेको सालघारी ।
एक दशक अघिसम्म बस्ती क्षेउमा देखिने हराभरा जंगलको सौन्दर्य बेग्लै देखिन्थ्यो । जानकारहरुका अनुसार यहाँ सालको घना जंगल रहेकाले यसको नाम सालघारी राखिएको हो । एक दशक अघिसम्म हराभरा देखीने सालघारी क्षेत्र अहिले उजाड बन्न थालेको छ ।
थोरै मात्र सालका रुखहरु छन । केही स्थानमा सालका रुखहरु ढालिएका छन । ढालिएका कतिपय रुखहरु दाउराका लागि स्थानीयले काटेर लगेका छन । केहीको जरा मात्रै बाकी छ । हरिया देखीने अधिकांश रुखका फेदहरु ताछिएका छ । केही सुकेका रुखको फेद ताछेर ढल्न मात्रै बाँकि छ । सोही क्षेत्रमा भीमदत्त नगरपालिकाले बनाएको पार्क छ । हेर्दा अस्तव्यस्त जताततै फोहोर । सो क्षेत्रमा सीसाका बोतलमात्रै देखिन्छन मानिस हिड्नै मुस्किल छ । शहरको मुटुमा रहेको यो जंगल क्षेत्र उजाडिदै गएको छ । सरोकारवाला निकाय मौन छन ।

स्थानीय किसन चन्दले सालघारी उजाड हुदै गएको प्रति चिन्ता व्यक्त गरे । “हेर्दा हेर्दै घना जंगल सखाप भएको छ करोडौ मुल्यका सालका रुखहरु कौडीको भाउँमा गइरहेका छन ।” उनले भने–“सम्बन्धीत निकाय मौन छ यसबाट करौडौको राजश्व समेत गुमेको छ ।” उनले यसको संरक्षणमा सम्बन्धीत निकायले ध्यान दिननसकेको बताए ।
यहाँका स्थानीयका अनुसार दुई दशक अघिसम्म घना जंगल रहेको यो क्षेत्रमा मानिस जानै डराउथे तर अहिले यो क्षेत्रमा औलामा गन्न सक्ने मात्रै रुख छन । यहाँका स्थानीय विशन दत्त जोशीका अनुसार दुई दशक अघिसम्म घना जंगल रहेको यो क्षेत्र उजाड बनेको छ । “एक दशक अघिसम्म पनि सालघारीमा घना जंगल थियो ।” उनले भने–“यसको संरक्षण गर्न नसके भविष्यमा आउने पुस्ता संकटमा पर्छ ।” उनले उक्त क्षेत्रको संरक्षण गर्नुपर्नेमा जोड दिए । सालघारी क्षेत्र तत्कालीन महेन्द्रनगर विकास समिति मातहतको जग्गा हो । अहिले नगर विकास भीमदत्त नगरपालिकाको मातहतमा छ । यसको अध्यक्ष भीमदत्त नगरपालिकाको नगर प्रमुख बन्ने प्रावधान अनुसार पदम बोगटी अध्यक्ष छन ।

तत्कालीन नगरविकास समितिले सालघारीको ५ विघा सुदूरपश्चिम विश्वविद्याललाई दिएको थियो । अहिले उक्त जग्गामा विश्वविद्यालयको केन्द्रिय कार्यालय छ । अन्य केही भु–भागमा सुकुम्बासीहरुको बस्ती छ । सालघारीको संरक्षण गर्ने दायित्व भीमदत्त नगरपालिकाको भएपनि नगरपालिकाको वेवास्थाका कारण नगरपालिका आफैले बनाएको ईको पार्क समेत अस्तव्यस्त छ ।
भीमदत्त नगरपालिकाका सुचना अधिकारी हरिसिंह धामीले सालघारीका सुकेका रुख हटाउन गत वर्ष नै डिभिजन वन कार्यालय कञ्चनपुरलाई पत्राचार गरेको बताए । “नगर विकास समितिले गत वर्ष नै निर्णय गरेर वन कार्यालयलाई रुख हटाउन पत्राचार गरेको हो ।” उनले भने–“नगरपालिकाले बनाएको ईको पार्कमा केही पूर्वाधार बनेका छन यसपटक पनि संघिय सरकारको केही सहयोग भए अझ व्यवस्थीत र पूर्वाधार बनाउ सकिन्छ ।” सालघारीको संरक्षण गर्ने दायित्व भीमदत्त नगरपालिकाको भएपनि नेतृत्वको वेवास्थाका कारण यहाँका करोडौका सालका रुख रातारात गायव हुने गरेका छन ।
उता डिभिजन वन कार्यालय कञ्चनपुरले भने सुकेका र ढलेका रुखहरु व्यवस्थापनका लागि सब डिभिजन वन कार्यालयलाई पत्राचार गरिसकेको जनाएको छ ।
