महेन्द्रनगर । २०५१ सालमा घोषणा भएको कञ्चनपुरको बेदकोट नगरपालिका स्थित दैजी छेला औद्योगिक क्षेत्र स्थापनाको काम ठोस रुपमा अघि बढ्न सकेको छैन ।
रुख छपानको काम बल्ल सकिदै छ । जग्गाको भोगाधिकार हुन बाकी नै छ । तर शिलान्यास भएको दुई वर्ष पुगिसक्यो । अहिले पनि प्रक्रियागत अल्झन सल्टाएर काम अघि बढाउनुको साटो हतार हतार कार्यालय स्थापान भएको छ ।
औद्योगिक क्षेत्रको जग्गाको भोगाधिकार औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका नाममा नआउदै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलली हतार हतार औद्योगिक क्षेत्रको शिलान्यास गरे । त्यो बेलासम्म औद्योगिक क्षेत्रमा रुख छपानको काम समेत भएको थिएन । बन क्षेत्रमा थुप्रै प्रक्रियागत अल्झन भएपनि ती अल्झन हटाउनुको साटो तत्कालीन प्रधामनमन्त्री र उद्योग मन्त्रीले शिलान्यास गरिदिए ।
शिलान्यास भएको दुई वर्षसम्म कुनै काम भएन । प्रस्तावीत औद्योगिक क्षेत्र नजिकै घर भएका धनवहालुर चौधरीले भने–“त्यो बेला प्रधानमन्त्रीले दुई वर्षभित्र कालोपत्रे सडकमा गाडी चढेर आउछु भन्नुभएको थियो तर न प्रधानमन्त्री आए न केही काम भयो ।” शिलान्यास गर्दै ओलीले त्यो बेला दुई वर्षभित्र औद्योगिक क्षेत्र स्थापना भइसक्ने बताएका थिए । औद्योगिक क्षेत्रको समस्या समाधन गर्नुको साटो शिलान्यास गर्न पुग्दा दुई वर्षसम्म काम सुरु नै हुन सकेन । अहिले पनि उद्योग वाणिज्य मन्त्री दामोदर भण्डारीले मन्त्रीपरिषदबाट जग्गाको भोगाधीकार कायम गराउनु र रुख कटानीको निर्णय गराउनुको साटो हतार हतार कार्यालयको स्थापना गरे । अहिले रुख छपानको काम भइरहेको भएपनि जग्गाको भोगाधिकार प्राप्त भइसकेको छैन ।
बेदकोट नगरपालिकाका मेयर भोजराज बोहराले वातावरणीय प्रभाव मुल्याङ्कन गर्ने बेलाको भन्दा अहिले सो क्षेत्रमा बढी रुख भएकाले प्राविधिक समस्या आउन सक्ने तर्फ ध्यानाकर्षण गराएका छन । सोमबार कार्यालयको उद्घाटन गर्न पुगेका मन्त्री भण्डारीलाई उनले यी समस्या समाधानमा लाग्न आग्रह गरे । औद्योगिक क्षेत्रको काम प्रारम्भीक चरणमा भएपनि अहिले जसकस्ले लिने भन्ने होडबाजीमा नेताहरु लागेका छन । “मन्त्रीले मन्त्रीपरिषदबाट सबै बाधा अड्चनहरु समाधान गरेर कार्यालय स्थापना गर्न आउने हो ।” मन्त्रालयका एक अधिकारीले भने–“मन्त्रीपरिषदबाट रुख कटानीको आदेश र जग्गा भोगाधीकारको निर्णय नहुँदासम्म केही काम हुदैन ।” उनले अहिले कार्यालय स्थापना गरेपनि औद्योगिक क्षेत्रको काम अघि बढ्न नसक्ने बताए । “काम गर्न त प्रक्रियागत रुपमा गएर देखिएका समस्या समाधान गर्ने हो ।” उनले भने–“कार्यालय स्थापान गर्नुभन्दा अघि मन्त्रीपरिष्दबाट भोगाधिकार र वन क्षेत्रको समस्या समाधान गर्नुपथ्यो ।”
कार्यलय उद्घाटन गर्दै उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले एक महिना भित्र मन्त्रीपरिषदबाट निर्णय गराएर औद्योगिक क्षेत्रको काम सुरु गर्ने दाबी गरेका छन ।
“म जति दिन मन्त्री रहन्छु औद्योगिक क्षेत्रको काम अघि बढाउन लाग्ने छु ।” उनले भने–“एक महिना भित्रै औद्योगिक क्षेत्रमा रुख कटानी हुन्छ लगत्तै यहाँ भौतीक पूर्वाधारका काम अघि बढ्नेछन ।”
.gif)