मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

मेयर साव ! यस्तो चाँहि मिल्दैन है


शुक्रबार, फागुन १९ २०७९
  • 773
    Shares

  • images
    images
    मेयर साव ! यस्तो चाँहि मिल्दैन है

    महेन्द्रनगर । धनगढी उप -महानगरपालिकाका मेयर गोपाल हमालले फाल्गुन १८ गते धनगढी स्थित ६ लेन सडक खण्डमा  एक जना स्थानीयलाई नजिकैको जेब्रा क्रसिङबाट बाटो नकाटेर, भर्खरै सडक डिभाइडरका बिचमा लगाइएको तार जाली नाघेर बाटो काट्दै गर्दा आफ्ना सवारी चालक सहित केही सहयोगीलाई लिएर उक्त स्थानीयलाई उचालेर किनारमा लगि खादा लगाएर सम्मान  गरेको विषय आफ्नो सामाजिक सञ्जाल फेसबुक अकाउन्टमा राखे ।

    उक्त व्यक्तिको अनुहारको कुनै पनि भाग नछोपी, परिचय स्पष्ट खुल्ने र पहिचान हुने गरी पक्राउ गर्ने देखि  सम्मान  गरेर खादा  लगाएको सम्म फोटो कभरेज पोष्ट गरे । यति गरिरहदा उक्त पोष्टले सामाजिक सञ्जालमा निकै वाहवाही समेत पायो ।यस किसिमका घटनामा, सामान्यतया  ठिकै त गरे नि  भन्ने जमात बाक्लै देखिन्छ । तर यहाँ मेयर हमालले केही कुरामा संवेदनशीलता नबुझेको देखिन्छ ।

    आफू सडकमा हिड्दा संयोगबस देखेको कुनै एक नागरिकलाई त्यस किसिमको व्यवहार गर्ने मेयरलाई कुनै अधिकार भने हुदैन ।  त्यसरी पक्राउ गर्ने र अपमानित गर्ने किसिमको क्रियाकलाप गर्ने  काम त झन् नगर प्रमुखको हुँदै होइन । जनताले नियम कानुन उलङ्घन गर्दा वा अटेर गर्दा कानुनले  तोके अनुसारकै कारवाही गरिनुपर्ने सामान्य सिद्धान्तलाई नगर प्रमुखले नजरअन्दाज गर्न भने हुँदैन । यस्ता कामले दीर्घकालीन रुपमा गलत परिपाटी र नजिर बस्न जान्छ । कुनै पनि व्यक्तिको अपमान हुने, सार्वजनिक जीवनमै असर पर्ने गरी कुनै पनि व्यवहार कसैले पनि गर्नु हुदैन । यसो गर्नु  दण्डनीय कार्य हो ।

    यहाँ  मेयर हमाल सुझबुझको प्रयोग गर्न चुकेका देखिन्छन् । हाम्रो संविधान र ऐन कानुनले कसुर गर्ने मानिसको पनि सार्वजनिक जीवन, सम्मानपूर्वक बाँच्न पाउने हक लगायतका मौलिक हकलाई ध्यानमा राखेर न्याय निरुपण गर्नु पर्ने मान्यता राख्छ र त्यही अनुसारको कार्यविधिको प्रयोग गर्ने गरिन्छ ।

     यो हतारको कामले केही बेरका लागि ‘एक्सन म्यान’ र ‘अन द स्पटको’ छवि निर्माण गरे पनि,  न यो कानुन सम्मत छ, न यो  समाधानको बाटो हो र  न यसले कुनै कानुनी राज्यको प्रत्याभूति गराउँछ । 

    आफ्ना नागरिकको सामान्य कसुरलाई लिएर देशै भरी दुष्प्रचार हुने र समग्र नगरबासीकै अनुशासन पालना माथि प्रश्न उठ्ने काम एक  पूर्व संचारकर्मी र अहिलेका  मेयर हमालबाट गरिने आसा भने पक्कै होइन । यो घटनामा मेयरले नजरअन्दाज गरेका संवेदनशील पक्ष सुधार्नु पर्दछ र अब उपरान्त दोहोरिन दिन हुदैन । मेयर हमाल पछिल्लो समय निकै आक्रमक रुपमा उप(महानगरको विकाशका निम्ति खटिएर लागेको कुरालाई यस्ता विषयले गिजोल्ने र गिज्याउने  छ ।

    मेयर आफैमा लोकतान्त्रिक मूल्यमान्यतामा स्थापित  स्थानीय सरकारको निर्वाचित प्रमुख भएकाले आफ्नो अधिकारको सीमा  बाहिर गएर व्यक्ति केन्द्रित बल प्रयोग र न्याय निर्धारण गर्न खोज्नुले  अपरिपक्वता प्रदर्शन हुन जान्छ । 


  • सम्बन्धित विषय:

  • # गोपाल हमाल
  • # धनगढी उपमहानगरपालिका


  • प्रतिक्रिया दिनुहोस