महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरमा शनिबार आयोजित ‘दोस्रो शुक्ला– दोधारा चादँनी साइकल यात्रा’ प्रतियोगिता सम्पन्न भएको छ ।
‘स्वास्थ्य र पर्यावरण प्रतिको हाम्रो दायित्व’ भन्ने मुल नाराका साथ यहाँका पर्यटीय क्षेत्रको प्रर्वद्धन र संरक्षण गर्ने उद्देश्यले आयोजित प्रतियोगिताको उपाधी भीमदत्त नगरपालिका–३ का भुवन विष्टले जितेका छन् । सेनाको श्री नं. २५ बाहिनी अड्डा भगतपुर ब्यारेकको आयोजना र यहाँस्थित श्रीदल गुल्मको संयोजनमा भएको खुल्ला साइकल प्रतियोगितामा निर्धारित ४० किलोमिटर दुरी १ घण्टा ३५ मिनेट ३४ सेकेण्डमा पार गर्दै विष्टले उपाधी जितेका हुन ।
उपाधी बिजेता विष्ट यसअघि गत बर्ष आयोजित प्रतियोगिताको पहिलो संस्करणमा समेत प्रथम स्थान ओगटेका थिए ।प्रतियोगितामा उपाधी बिजेता विष्टलाई नेपाली सेनाको सुदूरपश्चिम पृतनाका पृतनापति उपरथी बिजय थापाले साइकल, ट्रफी र प्रमाणपत्रबाट पुरस्कृत गर्नुभयो ।
त्यसैगरी रणबम गण डडेल्धुराका सिपाही लालबहादुर गुरुङ्ग द्धितीय र सोही गणका गणपति प्रमुख सेनानी वालमुकुन्द थापाले तृतीय स्थान हासिल गर्नुभयो । सिपाही गुरुङ्गले निर्धारित दुरी एक घण्टा ४० मिनेट र प्रमुख सेनानी थापाले एक घण्टा ४५ मिनेटमा पार गरेको सेनाले जनाएको छ । त्यसैगरी प्रतियोगितामा रणबम गणकै सिपाही मदन विकले चौथो र गुरुगोरख गुल्मका सागर चौधरीले पाँचौ स्थान ओगटेका छन् ।
प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने सहभागीले साइकलसहित पुरस्कृत गरिएको छ । प्रतियोगिता समापन समारोहमा बोल्दै सुदूरपश्चिम पृतनाका पृतनापति उपरथी बिजय थापाले सेनाद्धारा आयोजित साइकल प्रतियोगिताको दोस्रो संस्करणले नेपाली सेना र नागरिकबिचको सम्वन्धलाई थप प्रगाढ बनाउन टेवा पुगेको बताउनुभयो ।
प्रतियोगिताले यहाँका धार्मिक तथा अन्य पर्यटकीय सम्भावना बोकेका क्षेत्रहरुको धार्मिक, सांस्कृतिक, ऐतिहासिक, प्राकृतिक र आधुनिक पर्यटकीय प्रवद्र्धनलाई यस क्षेत्रमा मात्रै नभई राष्ट्रिय स्तरमै प्रचार प्रसारमा सहयोग पुग्नेको उहाँको जोड थियो ।
“ पर्यटन प्रर्वद्धन मात्रै नभई प्रतियोगिताले युवा जनशक्तिमा स्वास्थ्य जागरणका साथै खेलाडी उत्पादनमा पनि योगदान पुग्नेमा विश्वस्त छौं ।” उपरथी थापाले भन्नुभयो–“ अझै पनि थप प्रभावकारी कार्यक्रमहरु सञ्चालनमा सबैको सहकार्य आवश्यक हुन्छ ।”
यहाँस्थित रुद्रध्वज गण मझगाउँ व्यारेकमा भएको समापन समारोहमा उपरथी थापाका साथै भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटी, बेदकोट नगरपालिकाका नगरप्रमुख भोजराज बोहरा, श्री नं. २५ बाहिनी अड्डाका बाहिनीपति सहायकरथी पुरुषोत्तम ढकाल लगायत स्थानीय प्रशासन र सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो ।
साइकल प्रतियोगितामा कञ्चनपुर, डडेल्धुरा र कैलाली जिल्ला लगायतबाट ७० जनाको सहभागिता रहेको थियो ।
.gif)