महेन्द्रनगर । सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमा राष्ट्रिय गौरवका आयोजनाको बजेट घटेर आएको छ ।
यहाँको महाकाली सिचाँइ तेस्रो चरण,महाकाली करिडोरको बजेट घटेको हो । बजेट अभावकै कारण निमार्णले गति लिन नसकेको बेला यस वर्षपनि माग अनुसार बजेट नआउँदा आयोजना निमार्णको काम पछि धकेलिने चिन्ता थपिएको छ । विगतमा बजेट अभावकै कारण पन्ध्र वर्ष लगाएर २८ किलोमिटर मुलनहर मात्रै निर्माण भएको सम्पन्न भएको छ । महाकाली सिचाँइ आयोजनाका सिनियर डिभिजनल ईन्जिनियर शम्भु पण्डितले माग अनुसार बजेट नआएको बताए ।
“आगामी आर्थिक वर्षमा आयोजनाका लागि १ अर्ब १७ करोड बजेट विनियोजन भएको छ ।” उनले भने–“चालु आर्थिक वर्षमा १ अर्ब २३ करोड बजेट छुट्याइएको थियो ।” उनका अनुसार आयोजनाका लागि आगामी वर्षका लागि दुई अर्ब वजेट माग गरिएको थियो । माग भन्दा निकै कम बजेट आएपछि आयोजना निमार्णको काम प्रभावित हुने देखिन्छ । आयोजनाको आगामी आर्थिक वर्षमा २८ देखि ४८ किलोमिटर मूल नहर निर्माण सक्ने र मूल नहर निर्माण भएको २८ किलोमिटरमा २२ वटा शाखा निर्माण गरि किसानको खेतमा पानि पुगाउने लक्ष्य लिइएको छ ।
आर्थिक वर्ष ०६३÷०६४ देखि आयोजनाको काम सुरु भएको थियो । केही वर्ष मुआब्जा विवादमै काम सुरु हुन सकेन भने त्यसपछि पनि न्यून बजेटका कारण निकै सुस्त गतिमा काम भयो । पछिल्लो समय राष्ट्रिय गौरवको आयोजना बनाइए पनि आवश्कताअनुसार बजेट आउन आयोजनाको काम प्रभावित हुदै आएको छ ।
त्यसैगरि सुदूरपश्चिमको महत्वपूर्ण योजना महाकाली करिडोरमा पनि आवश्यकता अनुसार बजेट आएको छैन । कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको टिंकरसम्म जोडने उक्त सडक न्यून बजेटकै कारण सुस्त छ ।
महाकाली करिडोर आयोजनाका प्रमुख लक्ष्मण जोशीले यस वर्ष करिडोरका लागि माग गरेको भन्दा आधा मात्रै बजेट आएका बताए । “हामीले ८० करोड माग गरेको थियो तर बजेट भाषणमा ४५ करोड मात्रै विनियोजन गरिएको छ ।” उनले भने–“चालु आर्थिक वर्षका लागि महाकाली करिडोरले ५१ करोड बजेट पाएको थियो आगामी वर्षका लागि झन घटेर आयो ।” आयोजनाअन्तर्गत ब्रह्मदेवदेखि टिंकरसम्म ४२५ किलोमिटरमध्ये दार्चुलाको तुषारपानीसम्म ३३४ किलोमिटर आयोजनाले र तुषारपानीदेखि टिंकरसम्मको ९१ किलोमिटर सडक नेपाली सेनाले निर्माण गरिरहेको छ । सेनाले गरिरहेको र आयोजनाले गरिरहेको दुवै क्षेत्रका लागि ४५ करोड विनियोजन भएको हो । आयोजना कार्यालयका अनुसार ३३४ मध्ये अझै १०९ किलोमिटर ट्रयाक खोल्न बाँकी छ ।
कञ्चनपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दिनेश मल्लले राष्ट्रिय गौरवका आयोजनाको बजेट घटनु दुःखद भएको बताए । “पाँच वर्षमा सम्पन्न हुने आयोजनाहरु पन्ध्र वर्ष पुग्दा पनि सम्पन्न हुनसकेका छैनन ।” मल्लले भने–“सरकारले राष्ट्रिय गौरवका योजनाहरुलाई प्राथमिकतामा राखेर समयमै सम्पन्न गर्नुुपर्दछ ।” न्युन बजेटका कारण आयोजनाहरुको काम धकेलिदै आएको छ ।
.gif)