अछाम । विदेशी नागरिकलाई पर्यटकीय स्थल रामारोशन प्रवेशको अनुमतिका लागि स्थानीयले आग्रह गरेका छन् । गाउँपालिकाका अध्यक्ष मानबहादुर साउदको अगुवाइमा भएको सर्वपक्षीय बैठकले विदेशीलाई एक महिनासम्मका लागि अनुमति दिन माग गरेका हुन् ।
अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुने नाममा अछाम भित्रिएका विदेशी नागरिक स्थानीय प्रशासनको अनुमति नभएका कारण बिच बाटोमै रोकिएका छन् । ‘वल्र्ड रेन्वो फेमिली’ नामक संस्थाले सेप्टेम्बर १५ देखि अक्टोबर १५ सम्मका लागि रामारोशनमा कार्यक्रम सञ्चालन गर्न अनुमति मागेको थियो ।
प्राकृतिक तथा भौगोलिक वातावरणमा प्रतिकूल असर नगर्ने, सामाजिक रूपमा प्रतिकूल असर नपार्ने र भिसा अवधि थपसहित रामारोशन जमघट कार्यक्रमका लागि गृह मन्त्रालयसँग अनुमतिका लागि आग्रह गर्ने निर्णय गरिएको स्थानीयवासीले जनाएका छन् ।
गाउँपालिका अध्यक्ष, कार्यपालिका सदस्य, स्थानीय राजनीतिक दल, रामारोशन पर्यटन विकास समिति र रोकारवालाको संयुक्त बैठकले विदेशीले प्रतिकूल असर नपर्ने दाबीसहित गाउँपालिकाले नै पत्र लेखेको छ । विदेशी नागरिकलाई रामारोशनमा आउन सहज बनाउनका लागि पनि अनुरोध गरिएको छ ।
पर्यटकीय क्षेत्र रामारोशनमा विदेशी नागरिक आउँदा यहाँको पर्यटन विकासमा टेवा पुग्ने गाउँपालिका अध्यक्ष मानबहादुर साउदको भनाइ छ । गृह मन्त्रालयबाट विदेशी नागरिकलाई कार्यक्रम सञ्चालनको अनुमति आएमा रोकिएका विदेशी रामारोशन जान पाउने बताइएको छ ।
रामारोशनमा आयोजना हुने भनिएको उक्त कार्यक्रमको विस्तृत विवरण कहीँ कतैबाट पनि प्राप्त हुन नसक्दा चार दिनदेखि विदेशी नागरिक अछामका विभिन्न स्थानमा अन्योलमा परेका छन् । सरकारको अनुमतिबिना नै रामारोशनमा एक महिनासम्म विदेशीले कार्यक्रम गर्ने भनेपछि स्थानीय प्रशासनले आधिकारिकता खोजेको छ ।
.gif)