महेन्द्रनगर । राजमार्ग र बजारका मुख्य चोकहहरुमा प्रयाप्त मात्रामा सडक चिन्हरुको व्यवस्थापन गर्ने जिम्मेवारी सडक डिभिजन कार्यालय महेन्द्रनगरको हो ।
तर सडक डिभिजन कार्यालयले अहिलेसम्म सडक चिन्हहरु व्यवस्थापन गरेको छैन । महेन्द्रनगर बजारका मुख्य चोकहरुमा जेब्रा क्रसिङ्ग बनाउनुपर्ने जिम्मेवारीबाट सडक डिभिजन कार्यालय महेन्द्रनगर पन्छिन खोजेको छ । महेन्द्रनगर बजारमा सवारी साधनको चाप उच्च छ । बजारमा बाक्लो भीडभाड हुने चोकहरुमा जेब्रा क्रसिङ्ग छैन । जेब्रा क्रसिङ्ग नहुँदा पैदलयात्रीलाई बाटो काट्न समस्या हुने गरेको छ भने दुर्घटनाको जोखिम पनि उत्तिकै छ । महेन्द्रनगर बजारको मुख्य चोक मदन चोक सबैभन्दा बढी भीडभाड हुने चोक हो । त्यसैगरी पूर्वपश्चिम राजमार्ग अन्र्तगत पर्ने चम्मन चोक र भाषीको जनज्योती चोकमा बाक्लो भीडभाड हुने गर्दछ । बढीजसो विद्यार्थीहरुको ओहोरदोहोर हुने चोक र सडकहरुमा जेब्रा क्रसिङ्ग नहुँदा पैदलयात्रीहरुले जथाभावी बाटो काट्दा दुर्घटना हुने गरेकोे छ ।
सडक डिभिजन कार्यालयले अन्य सडक चिन्हहरु व्यवस्थापन गरेपनि जेब्रा क्रसिङ्ग भने बनाएको छैन । महेन्द्रनगर बजारका केही चोकहरुमा जिल्ला ट्राफिक कार्यालय महेन्द्रनगर र सामुदायिक प्रहरी सेवा केन्द्रले दाताहरुको सहयोगमा जेब्रा क्रसिङ्ग बनाए पनि त्यो हराई सकेको छ । सडक डिभिजन कार्यालय महेन्द्रनगरका सुचना अधिकारी सरला न्यौपानेले राजमार्ग र बजारमा जेब्रा क्रसिङ्ग बनाउने जिम्मेवारी सडककै भएको बताए । उनले सडकमा अन्य सडक चिन्हहरुका लागि ठेक्का भैसकेकाले जेब्रा क्रसिङ्गका लागि पनि ट्राफिक प्रहरीसंग छलफल गरेर काम अघि बढाउने बताए ।
महेन्द्रनगरका गल्लीहरुमा अव्यवस्थीत तरीकाले गरिने पार्किङ्ग पछिल्लो समय ट्राफिक प्रहरीका लागि समेत चुनौतीको विषय बनेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले बजारमा व्यवस्थीत पार्किङ्गका लागि थुप्रै प्रयास गरेपनि नागरिक आफै सचेत नहुँदा समस्या भएको हो ।
.gif)