सोमबार, फागुन १४ गते २०८० || Feb 26, 2024
images
images

जो पिथौरागढमा ३५ वर्षदेखी भारी बोक्न बाध्य छन


बिहीबार , पुस १२ २०८०
  • 380
    Shares

  • images
    images
    जो पिथौरागढमा ३५ वर्षदेखी भारी बोक्न बाध्य छन
    images
    images
    images
    images

    पिथौरागढ (भारत) १२ पुस । अंग्रेजहरुलाई परास्त गर्दै २५ वर्ष शासन चलाएको भारतको पिथौरागढस्थित गोर्खाली किल्ला छ ।
      किल्ला नजिकै रहेको पिथौरागढ बजार क्षेत्रमा पुग्दा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका हजारौ नेपालीहरु भारी बोक्दै गरेको भेटिन्छन । घरदेश छाडेर परदेशिएका हजारौँ नेपाली यही बजारमा भारी बोक्दै परिवार पाल्न विवस छन । परिवार पाल्नकै लागि भारतीय शहर पुगेका बझाङको देउलेकका परमले बोहरा ३५ वर्षदेखी पिथौरागढमा भारी बोक्दै पाँच छोराछोरीको लालनपालन गर्दै आएका छन । पिथौरागढको सिमलगैर बजारमा मजदुरी गरिरहेका उनले ३५ वर्षदेखी भारी बोकेर परिवारको जोहो गरिरहेको सुनाए । “नेपालमा मजदुरी गर्न पनि पाइदैन म ९ वर्षकै उमेरमा रोजगारीको लागि भारत आएको हु ।” उनले भने–“केहि वर्ष दिल्ली बेङ्लोर बसे,३५ वर्ष देखी यहि पिथौरागढमा मजदुरी गरेर परिवार पालेको छु ।” 

     उनँले सुदूरपश्चिम र कर्णली प्रदेशका हजारौ नेपाली भारतीय  शहरमा मजदुरी गर्न बाध्य रहेको सुनाए । “यो शहरमा भारी बोक्ने काम यहाँको मान्छेले गदैनन ।” बोहराले भने–“यहाँ मजदुरी गर्नेहरु सबै सुदूर र कर्णाली प्रदेशका हुन ।” उनले मातृभुमिका पसिना बगाउने आफ्नो रहर भएपनि बाध्य भएर विदेशी भुमीमा भारी बोक्नु परेको दुखेसो गरे । “अहिले प्रधानमन्त्री रोजगार कार्यक्रम आएको छ त्यसमा मजदुरी गर्न पनि आफ्ना आफ्ना आफ्ना मान्छे राख्छन ।” बोहराले भने–“गरिबका लागि नेपालमा मजदुरीको काम पनि पाइदैन नेताकै हालीमुहाली छ ।” उनले कुनै दिन काम नपाएर भोकै सुत्नुपर्ने बाध्यता रहेको दुखेसो गरे । “यहाँ पनि कहिले काम पाईन्छ कहिले पाइदैन काम नपाइएको दिन भोकै सुत्नपर्छ ।” उनले भने–“कहिले त कोठा भाडा तिर्नै समेत पुग्दैन ।” उनँले सगै रोजगारीका लागि आएका तीन जना मिलेर दुई हजार भाडा तिर्ने गरी कोठा भाडामा लिएर बस्ने गरेको बताए । 

     यहाँ मजदुरीका लागि आउने नेपालीहरु ६ महिना मात्रै यहाँ मजदुरी गर्ने गरेका छन । अन्य समयमा स्वदेश फर्केर घरको खेतीपातीको काम गर्ने र त्यसपछि मजदुरीका लागि भारतीय शहर पस्ने गरेका छन । “यहाँको कमाइले लत्ता,कपडा लगेर घर जान्छौ ।” बोहराले भने–“पैसा अभावकै कारण ले छोराछोरीलाई स्कुल पढाउन सकेको छैन ।” बैतडीको पूचौडी नगरपालिका–८ मल्लादेहीका परमानन्द जोशी पनि रोजगारीको लागि पिथौरागढ पुगेका छन । उनी खेतीपातीको काम सकेर रोजागरी खोज्दै पिथौरागढ पुग्नुभएको हो ।  “मजदुरीको काम गर्ने हो दिनको ६ सय रुपया मिल्छ ।” जोशीले भने–“घरबाट आएको केहि दिन मात्रै भयो अहिलेसम्म केहि काम पाएको छैन ।” उनले ४० वर्षदेखी भारतमा रोजगारी गर्दै आएको बताए । स्वदेशमा परिवार पाल्नका लागि कुनै सीप नचलेपछि बाध्य भएर विदेशीनु परेको उनले गुनासो गरे । जोशीका तीन छोरा छन । आर्थिक अभावकै कारण छोरोको पढाई गर्न नसकेको बताए । “एउटा छोरा रोजगारीका लागि भारतको बेङलोर गएको छ । दुई वटा घरमै छन ।” जोशीले भने–“आफुपछि छोराले पनि रोजगारीका लागि विदेश जानु परेको छ नेपालको माया ले के गर्नु ? ।”

    images

     पिथौरागढको बजार पस्दा घरदेश छाडेर मजदुरी गरिरहेका हजारौँ नेपाली भेटिन्छन । तीस वर्षअघि सुदूरपहाडका नेपाली पिथौरागढ पुगेर घिउ बेच्थे । घिउ बेचेर नुन र लत्ताकपडा किन्थे । पहिले वस्तु र वस्त्रको व्यापार हुन्थ्यो । अहिले पसिनाको व्यापार चलेको छ । बैतडीको पूचौडीका उत्तम सिंह धामीको पनि उहि बाध्यता छ ।  “३५ वर्ष भयो यहाँ मजदुरी गरेर परिवारको जोहो गरेको छु ।” धामीले भने–“६ महिना स्वदेशमा घरखेतको काम गरेर ६ महिना यहाँ मजदुरी गर्न आउँछौ ।” उनी देशको पछिल्लो अवस्था देखेर भने दिक्दार छन । “नेपालमा त आफ्नै घर बनाउन खोज्छन हामी मजदुरी गरेर त खान्थ्यौ त्यो पनि पाइदैन ।” उनले भने–“भारतमा मजदुरीको काम त पाइएको छ ।” उहाँले सरकारले बैतडीमा रहेको फलाम खानी उत्खनन गरे आफुहरु घर नजिककै रोजगारी पाउने बताए ।

    “हाम्रो देशमा रोजगारी पाउने धेरै सम्भावना छन मेरो जिल्ला बैतडीमा फलाम खानी छ सरकारले उत्खनन त गर्नुपर्यो ।” उनले भने–“सरकारी स्तरबाट स्वदेशमै रोजगारीका लागि पहल नभए अब आउने पुस्ता पनि हामी जस्तै परदेशमा भारी बोक्न बाध्य हुन्छन ।” २०७४ सालको निर्वाचनका बेला निकै हौसिर मतदान गर्न नेपाल गएका उनी अहिले पनि सन्तुष्ट छैनन । “अब त देशमा केहि होला भनेर त्यो बेला मजदुरी छोडेर भोट हाल्न गए ।” उहाँले गुनासो गर्दै भने–“देशमा केहि परिवर्तन भएन हामीले भारतमै मजदुरी गर्नु छ ।”
     नेपाल–भारत सीमा झुलाघाटस्थित महाकाली नदीमा इस्ट इन्डिया कम्पनीले बनाएको झोलुङ्गे पुल छ । यहाँबाट कर्णाली र सुदूरका जिल्लाबाट छोटो दुरी भएकाले पनि थुप्रै नेपालीहरु मजदुरी गर्न पिथौरागढ पुग्ने गरेका छन । 

     पिथौरागढको पुरानो नाम ‘सोर’ हो । अहिले पनि ज्याला–मजदुरी गर्न पिथौरागढ जाने अधिकांश नेपालीले ‘सोर’ गएर पैसा कमाउने भन्ने गरेका छन । कर्णालीमा पुल बन्नुअघिसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी जिल्लाका मानिस नुन लिन ‘सोर’ अर्थात अहिलेको पिथौरागढ जाने गरेका थिए । अहिले पनि उपचार र किनमेलका लागि सुदूर र कर्णाली प्रदेशका विभिन्न जिल्लाका नेपाली पिथौरागढ पुग्ने गरेका छन ।  


  • सम्बन्धित विषय:

  • # पिथौरागढ


  • प्रतिक्रिया दिनुहोस