बिहीबार , भदौ ४ गते २०८३ || Aug 20, 2026
  • यो साता चर्चामा :

होली खेल्न नहुने ठाउँहरू पनि छन् सुदूरपश्चिममा


आइतबार, चैत ११ २०८०
  • 1.5K
    Shares

  • images
    images
    होली खेल्न नहुने ठाउँहरू पनि छन् सुदूरपश्चिममा

    हिन्दु परम्परा अनुसार फागुन महिनामा पर्ने होली पर्वलाई असत्य माथि सत्को विजय भएको खुसीयालीमा मनाइने पर्वका रुपमा मनाउँदै आइरहेको पाइन्छ । भगवान विष्णुका विभिन्न अवतारहरु मध्ये भगवान श्रीकृष्ण र रामको चरित्रगान तथा गाथाहरुको गायन गरी खेलिने होली बढी मात्रामा भए पनि केही इतिहास प्रसिद्ध पुरुष तथा स्थानीय देवीदेवता र संस्कृतिसँग सम्बन्धित विषयवस्तु भएका होली गीत पनि गाउँदै आएको पाइन्छ । होलीको प्रचलन खास गरी भारतबाट सुरु भएको हुनाले नेपालका विभिन्न जिल्लाहरुमा गाइने होलीगीतहरु पनि बढीजसो हिन्दीभाषामै रहेका पाइन्छन् । सुदूरपश्चिमको बैतडी जिल्लामा पनि होली खेल्ने प्रचलन धेरै पहिलेदेखि रहेको पाइन्छ । यस क्षेत्रमा पनि बढीजसो हिन्दी भाषाकै होलीगीतहरु गाउँदै आएको पाइन्छ । हिन्दीभाषामै भए पनि लय, खेल्ने तरिका, बाँजागजा आदिमा भने मौलिकता पाइन्छ । होली खेल्ने परम्परा पौराणिक कालदेखि नै सुरु भएको हुनाले होलीका गीतहरुमा पौराणिक विषयवस्तु समावेश भए पनि समयको विभिन्न कालखण्डमा नयाँ होलीगीतहरु थपिदै आएको पाइन्छ । वर्तमानसम्म होइपुग्दा होली हिन्दीबाहेक, अन्य भाषाहरुमा पनि गाउँने प्रचलन बढ्दै गइरहेको छ । विशेष गरी  पछिल्लो समयमा रचना भएका होली गीतमा भारतको स्वतन्त्रामा महत्वपूर्ण योगदान गरेका महात्मा गान्धीको मृत्यूको वर्णन गरिएको गान्धी मारो छ बोलको होलीगीत तथा दार्चुला बैतडीमा प्रत्येक महिनामा गरिने काम, मनाइने चाँड तथा मौसमको जानकारी हुने गरी रचना गरिएको बेला फेरी आउँछ, जोवन आउँदैन बोलको होलीगीत यसका उदाहरण हुन् । 

    विभिन्न ठाउँमा होलीलाई रङसँग खेल्ने पर्वका रुपमा माने पनि यसको महत्वपूर्ण पक्ष भनेको होलीमा प्रस्तुत हुने गीत नै हुन । होली नृत्य गेयात्मक विधा हो । यसमा विभिन्न बाँजागाजा सहित नाँच्दै होली गीत गाउने गरिन्छ । सुदूरपश्चिमको दार्चुला बैतडी जिल्लामा प्रस्ुतत हुने होली भने विभिन्न आधारमा मौलिक रहेको छ । देवीदेवताको मन्दिरमा खेलिने होली, बाटोघाटोमा खेलिने होली, घरआँगनमा नाँच्दै गाउँदै खेलिने होली र बसेर खेलिने होली फरकफरक किसिमले प्रस्तुत हुने गर्दछ । त्यसै गरी होली खेलिसकेपछि घरका मानिसहरुलाई स्थानीय भाषामा दिइने आशिर्वाद पनि अन्य ठाउँको भन्दा फरक छ । होली हिन्दुधर्म संस्कृतिसित सम्बन्धित साँझा पर्व भए पनि सुदूरपश्चिमकै कतिपय स्थानहरुमा भने होली खेल्न बर्जित रहेको परम्परा पनि छ । उदाहरणका लागि बैतडीको ग्वाल्लेक केदार आसपासका क्षेत्रमा होली खेल्न नहुने र भुलवस खेलिए पनि अनिष्ट हुने लोकविश्वास रहेको पाइन्छ । दसरथचन्द नगरपालिकाको देहिमाण्डौँको ग्वाल्लेकपट्टिको भाग, सुर्काल, जोशीबुङा, सिम ढणौन लगायतका भूभागमा होली खेल्ने नहुने मान्यता रहीआएको छ । केदार देवतालाई रङ्गीचङ्गी मन नपर्ने भएकाले र त्यस क्षेत्रमा बाँजागा र कोलाहल गर्न नहुने मान्यता अनुसार यस क्षेत्रमा होली खेल्ने परम्परा छैन । यदि यस्ता वर्जिक क्षेत्र होली खेलेमा विभिन्न किसिमका प्रकाकृतिक विपत्तिहरु आइलाग्ने लोकविश्वास यस क्षेत्रमा रहेको पाइन्छ । धेरै पहिले यस क्षेत्रमा होली खेल्दा डाल बयाल (असिना र हावाहुरी) आएर अन्नबाली नष्ट हुनुका साथै भोकमरी र हैजाजस्तो भयानक महामारी चलेको सयानो पुस्ताका मानिसहरु बताउने गर्दछन् । यस क्षेत्रमा होलीमा मात्रै नभएर अन्य समयमा बाँजागाँजा बजाएर कोलाहल गर्नु, छलो खेल्नु, जोरले कसैलाई बोलाउनु, मानिस मर्दा डाड़हाल्नु जस्ता कार्य निशेध गरिएको पाइन्छ । यस्ता ठाउँ सुदूरपश्चिममा थुप्रै ठाउँमा रहेका पाइन्छन् ।  


  • सम्बन्धित विषय:

  • # होली पर्व


  • प्रतिक्रिया दिनुहोस