शुक्रबार, कात्तिक २१ गते २०८३ || Nov 6, 2026
  • यो साता चर्चामा :

सुदूरपश्चिमलाई नर्क बनाउने को ?


बुधबार, भदौ १९ २०८१
  • 1.1K
    Shares

  • images
    images
    सुदूरपश्चिमलाई नर्क बनाउने को ?

    पछिल्लो समय सामाजिक सञ्जालमा विभिन्न व्यक्तिहरूले सुदूरपश्चिमका सन्दर्भमा विभिन्न टिकाटिप्पणी मात्र होइन पुराणमा व्याख्या गरिएको नर्कमा रूपमा अभिव्यक्ति दिइयो । सुदूरपश्चिमप्रति खुलेरै यस्तो अभिव्यक्ति सामाजिक सञ्जालमा अहिले आएपनि व्यवहारिक रूपमा भने पहिलेदेखि नै चल्दै आएको पाइन्छ । विशेष गरेर प्रवासमा भएको एउटा घटनालार्ई आधार बनाएर आएको यस किसिमको अभिव्यक्तिले समग्र सुदूरपश्चिममाथि चोट मात्रै होइन विगतदेखि वर्तमानसम्म सोच्न पनि बाध्य बनाएको छ । के सुदूरपश्चिम सामाजिक सञ्जालमा व्यक्त गरिएजस्तै साँच्चिकै नर्क नै हो त ? यदि साँच्चिकै नर्क नै हो भने त्यो नर्क बनाएको कसले भन्ने प्रश्नचिह्न खडा भएको छ । विशेषतः केन्द्रीय मानसिकताले सुदूरपश्चिमलाई थुप्रै विशेषणहरु उपहारमा दिएको पाइन्छ । छाउपडीको प्रदेश, देउकी प्रथाको प्रदेश, अविकसित प्रदेश, यति मात्रै नभएर समग्रमा सुदूरपश्चिमको नामकरणकै सन्दर्भमा पनि विश्लेषण गर्ने हो भने सुदूरको अर्थ हुन्छ सुगम भन्दा दूर अथवा टाढा । हो यिनै उपमाहरुको भारी बोक्दै आइरहेको सुदूरपश्चिमले वर्तमानमा आएको नर्कको उपमा पनि पाउन सफल भएको छ । के साँच्चिकै सुगमले दुर्गमलाई उपहार दिएका सबै उपमाहरूको असली हकदार सुदूरपश्चिम प्रदेश नै हो त ? यदि हो भने यसको सुरुवात कसरी भयो यस बारेमा बहस हुन आवश्यक देखिन्छ । यदि दिइएका उपमाहरु बमोजिम साँचो अर्थमा सुदूरपश्चिमको विशेषता यही हो भने नर्कलाई श्वर्गमा परिणत गर्ने उपायहरुबारे पनि खोजी हुनु आवश्यक छ । यसकारण सर्वप्रथम सामाजिक सञ्जालमा आएका अभिव्यक्तिहरूकै आधारमा यो प्रदेश नर्क मानिएका आधारहरु र त्यसबारेको वास्तविताबारे चर्चा गर्नु उचित देखिन्छ । 

    सर्वप्रथम प्रवासमा भएको एक महिलाको हत्या घटनाको पृष्ठभूमिबाट एक जना महिलाले सुदूरपश्चिमप्रति व्यक्त गरेको आक्रोश र घटनामा सङ्लग्न भएका व्यक्ति भन्दा पनि घटनामा मुछिएका व्यक्ति सुदूरपश्चिमका भएकाले यो दोष वास्तविक हत्याराको भन्दा पनि समग्र सुदूरपश्चिमको हो भन्ने निष्कर्ष व्यक्त गरिएको छ । यति मात्रै नभएर उहाँले सुदूरपश्चिमको भाषा, संस्कृति लगायत यस क्षेत्रमा बसोबास गर्ने हरेक मानिसको अपराधिक मानसिकता भएको पुष्टि गर्न खोजेकी थिइन् । सुदूरपश्चिमको हरेक घरमा रक्सी पिउने मानिस हुनु, महिलाहिंसा गर्ने मानिस हुनु, सुदूरपश्चिमको भाषा मन नपर्नु, हरेक मानिस अपराधी हुनुजस्ता आक्रोसहरु व्यक्त गरिन् । यसै अभिव्यक्ति पूर्व र पश्चिमको आक्रोसका दोहरीहरु पनि निस्किए, कतिपय सन्दर्भमा गालीगलौच समेत निस्किए । सबैले आआफ्नो पक्षमा आक्रोस व्यक्त गरे । यति मात्र नभएर पूर्व दुधले धोइएको चोखो प्रदेश र सदूरपश्चिम भनेको सेतो कपडाको दाग जस्तै नेपालको दाग लागेको भूभागका रुपमा पनि बुझ्ने बुझाइने प्रदेशका रुपमा घोषणा गरियो । यद्यपि कतिपय व्यक्तिहरुले सुदूरपश्चिमप्रति देखाएको सद्भाव भने सराहनीय नै छ । यसै सन्दर्भलाई आफू पनि स्वयम् सुदूरपश्चिमकै बासिन्दा भएकाले केही सोच्न र लेख्न मलाई पनि बाध्य बनायो । सामाजिक सञ्जालमा दोहरी खेल्नुभन्दा वास्तविकता के हो ? सुदूरपश्चिम नर्क कसरी बन्यो भन्ने कुरामा करिब एक हप्तासम्म मनमा कुरा खेल्न थाले । त्यही भिडियोको पेरीफेरीमा रहेर थोरै चर्चा गर्ने मन भयो । 

    सर्वप्रथम सुदूरपश्चिमको नामाकरणबाटै जान मन लाग्यो । कुनै पनि राष्ट्रको कुनै भाग राजधानीबाट टाढा छ भन्दैमा त्यसको नामाकरण दूर जोडिएर कसरी गरियो होला । के यसको अर्थ सुगम भन्दा दूर भन्ने त होइन ? यदि सुदूरपश्चिम बाहेकको भूभाग सुगम हो भने यस प्रदेशलाई दुर्गम बनाइनुमा कसको हात छ ? दुर्गम हुनु भनेको शिक्षा, स्वास्थ्य, यातायात, बिजुली, सञ्चार आदि पुग्न नसक्नु हो । सुदूरपश्चिमबाट उठेको कर राज्यले खाइसकेपछि यसलाई अन्य प्रदेश सरह सुगम बनाउने दायित्व कसको हो । यद्यपि जसले जति विकसित भने पनि नेपालका हरेक प्रदेशका प्रायः भूभागहरुले विकासको स्वाद अझैँ चाख्न पाएका छैनन् । यदि साँच्चिकै यस प्रदेशको चिन्ता भएर यस्ता अभिव्यक्ति दिइएको हो भने यस क्षेत्रको विकासका लागि सरकारसँग आवाज उठाएको खै ? माइतिघर मण्डेलामा हुने आन्दोलनहरुमा सुदूरपश्चिमको विकासका लागि कहिले आन्दोलन भएन । अन्य प्रदेशका तुलनामा सधैँ कम बजेट छुट्याइने बजेटको समान वितरणका लागि किन कसैले आवाज उठाएनन् ? केवल सुदूरपश्चिमलाई हेयका दृष्टिकोणले हेर्ने, शयौँ वर्ष पुराना सांस्कृतिक प्रथाहरुको बारेमा सामाजिक सञ्जालमा खिसिटउिरी उडाउनेहरुले यस प्रदेशको विकासका लागि किन कही मुख खोल्दैनन् ? कुनै एक देशको समग्र भूगोललाई एउटा शरीर मान्ने हो भने कुनै एक हिस्सा राम्रो र अर्को हिस्सा नराम्रो कसरी भयो ? एउटै शरीरका अंग एउटा सफा र एउटा फोहर हुनुमा कसको दोष हुन्छ  ? के हामीले यी प्रश्नहरुको उत्तर खोज्ने प्रयास ग¥यौँ ? कसैले पनि सुदूरपश्चिमको विकासका लागि केही गरेनन् बरु एउटा अविकसित प्रदेश भनेर सधैँ गिज्याइरहे । 

    फेरी यही भिडियोको वरिपरी घुम्न मन लाग्यो । यस भिडियोमा भनिएको देउकी प्रथाको बारेमा बोल्न मन लाग्यो । देउकी प्रथा के हो ? यो कुन समयमा कसले सुरु ग¥यो ? यस प्रथाको अन्त्य भयो वा अझै जीवित नै छ ? यी प्रश्नहरुको बारेमा केही भनिहालौँ । त्योभन्दा पहिले तिनै महिलाको भिडियोमा बोलिएका कुराहरुको खण्डन गर्न मन लाग्यो । उहाँले भनेअनसार पूर्वबाट बिहे गरेर सुदूरपश्चिमको महेन्द्रनगर, कञ्चनपुर घर भइ हाल काठमाडौं बस्दै आएको कुरो उहाँले भिडियो मार्फत प्रस्ट पारेकी छन् । महेन्द्रनगर नेपालकै औँलामा गन्न मिल्ने ठूला सहरमध्येको एक हो । नेपालकै विकसित ठाउँहरमध्ये सुदूरपश्चिम महेन्द्रनगर पनि एक हो । जहाँ सुदूरपश्चिमका मात्रै नभएर नेपालको पूर्व मेचीदेखि पश्चिम महाकाली र मित्रराष्ट्र भारतका मानिसहरु पनि बसोबास गर्दै आइरहेका छन् । उहाँले केही समय बसेको महन्द्रनगरले पुरै सुदूरपश्चिमको बारेमा अध्ययन हुँदैन । उहाँले भनेको देउकी प्रथा वर्तमान समयमा सुदूरपश्चिमको कुनै ठाउँमा पनि प्रचलनमा छैन् । यद्यपि यो प्रथा सुदूरपश्चिमको मात्रै होइन । जसरी काठमाडौंका मन्दिरमा कुमारी पूजा गरिन्छ त्यसैगरी देउकी प्रथा पनि उस्तै हो । देउकी भनेकी देवताकी भन्ने अर्थमा देवीको रुपमा लिने गरिन्थ्यो । सुदूरपश्चिमका केही जिल्लाका केही मन्दिरहरुमा देउकी चढाउने प्रथा अवश्य थियो । त्यसको सुरुवात कुनै महिलासँग वेश्यावृत्ति गर्नका लागि नभएर जसरी मन्दिरमा पूजारी, भण्डारे, मुखिया नियुक्त गरिन्थ्यो त्यसरी नै महिलाकर्मचारीका रुपमा देवी चढाउने गरिन्थ्यो । कालान्तरमा केही नराम्रो सोच भएका मानिसहरुले यस प्रथालाई घृर्णित बनाए र समयको मागसँगै यो प्रथा वर्तमानमा पुगिसक्दा पूर्ण रुपमा हटिसकेको पाइन्छ । सांस्कृतिक रुपमा यस्तो प्रथा एक रुढीवाद र घृर्णित प्रथा नै थियो । जसलाई शिक्षाको विकाससँगै यस प्रथालाई हामी सदाका लागि हटाउन सफल भएका छौँ । समाजबाट पूर्ण रुपमा हटिसकेको यस प्रथालाई समाजमा अझै कायम छ भनेर सामाजिक सञ्जालमा सुदूरपश्चिमेली समाजलाई तथानाम गाली गर्नु वा घृणित शब्द बोलेर क्षेत्रीयता देखाउनु, समाजलाई विभाजन गर्ने खालका बोलि बोल्नु कतिसम्म जायज हुन सक्छ ? के साँच्चिकै सुदूरपश्चिममा आएर उनले कुनै मन्दिरमा देवी राखेको देखेर यस्तो अभिव्यक्ति दिएकी हुन् त ? पक्कै पनि होइनन् । किनकी कञ्चनपुरको महेन्द्रनगरमा मात्रै नभएर समग्र सुदूरपश्चिममै यो प्रथा पूर्णतया हटिसकेको छ । 

    यसपछि सुदूरपश्चिमलाई सधैँ आरोप लाग्ने सामाजिक विकृतिका रुपमा आउने शब्द हो छाउपडी । संसारभरिका सबै हिन्दुहरुले रजस्वला दोष मान्ने गर्दछन् । सुदूरपश्चिममा मात्रै नभएर नेपाल, भारत लगायत हरेक हिन्दुले रजस्वला भएकी नारीलाई चारदिनसम्म नछुने, पानी, भान्छा तथा मन्दिर प्रवेश गर्न नहुने प्रचलन हरेक हिन्दु समाजमा विद्यमान छ । सुदूरपश्चिममा पनि यो प्रथा रहेको छ । छाउपडीसँगै जोडिने एउटा कलङ्क हो छाउघर । रजस्वला भएको बेला घरभन्दा अलि टाढा कच्ची घर बनाएर रजस्वला भएको बेला महिलाले सुत्ने घर हो छाउघर । सुदूरपश्चिमको कुनै एक जिल्लाको पनि कुनै एक निश्चित भौगोलिक समुदायमा छाउघर बनाउने प्रचलन सुदूरपश्चिममा अवश्य रहेको छ । जुन अहिले बिस्तारै हट्ने क्रममा छन् । यसलाई हटाउनका लागि हामी सबैले पूर्ण रुपमा तयार रहनु पनि पर्दछ । तर कुनै एक जिल्लाको पनि सीमित समुदायमा हराउँदै गइरहेको सांस्कृतिक विकृतिका लागि समग्र सुदूरपश्चिमले दोषी हुनुको अर्थ के ? यहाँहरुको जानकारीका लागि म एक ब्रहमण परिवारको मान्छ हुँ । मेरोघरमा सदियौँ देखि भान्छा खाने प्रचलन छ । भान्छा खानु भनेको चुलोको नजिक लिपपोत गरेको, अर्थात भान्छा घरभित्रै खानु भन्ने बुझिन्छ । हाम्रा रजस्वला भएको अवस्थामा पनि हाम्री आमाहरु त्यही भान्छामै अरुसँगै बसेर खाने गर्दछ । सामाजिक सांस्कृतिक रुपमा भान्छा खानुलाई अनिवार्यता मानिन्छ । आगो रहँदै चुलो नजिक बसेर खानु भान्छा खानु हो भने हाम्रो समुदायमा त अरु समुदायको भन्दा पनि धेरै खुल्ला अवस्था छ । एउटै काठाको एकापट्टि रजस्वला भएकी हाम्री आमा भाउजुहरु सुत्नुहुन्छ भने त्यही कोठामा हामीहरु पनि सुत्ने गर्दछौँ । यो मेरो घरको मात्रै नभएर सुदूरपश्चिमका प्रायः जिल्लाहरुमा यस्तै चलन छ । हो यसमा पानी, गोरस छुने तथा मन्दिर जाने, पूजापाठ गर्ने कार्य भने त्यतिबेला गरिदैन । यति त हरेक हिन्दुको घरमा यस्तै हुने गर्दछ । यद्यपि यो चलन पनि अब बिस्तारै हट्दै गइरहेको छ । केही सीमित समुदायमा रहेका चलनका लागि समग्र सुदूरपश्चिमलाई बदनाम गर्नु कतिको जायज होला । के सुदूरपश्चिमबाहेक अन्य प्रदेशमा मासिक धर्म बार्ने चलन छैन । यति भनिरहँदा मलाई एउटा दोष अवस्य लाग्ला, मासिक धर्म बार्नुपर्ने कुरा नै होइन यसका लागि के पुष्ट्याइ दिनुप¥यो होला भन्ने प्रश्न आउँन सक्छ । यसलाई म पनि मान्छु , मासिक धर्म बार्नुपर्ने कुरा हाइन मनाउनुपर्ने कुरा हो । मासिक धर्मबिना मानव जन्म नै सम्भव छैन । यसकारण यसको दोष मान्नु उचित छैन । तर सरसफाइ र आरामका दृष्टिले भने यसको महत्व हुन सक्छ । मैले रुढीवादीको पक्षपोषण भन्दा पनि सामाजिक सञ्जालमा उठेका कुराको खण्डन गर्न लागिरहेको मात्र हो । 

    भिडियोमा भनिएको अर्को विषय सुदूरपश्चिमको ोलि उनलाई मन नपर्नु पनि बुझिएको छ । सर्वप्रथम सुदूरपश्चिममा बोलिने भाषा हाम्रा पैत्रिक सम्पत्ति हुन् । हामीलाई हाम्रा बाउबाजेले बोलेका भाषाहरुप्रति गर्व छ । उहाँलाई यतिसम्म पनि ज्ञान नरहेछ कि भाषा भनेको विचार विनिमयको साधन हो । उहाँलाई आफ्नो मातृभाषा प्यारो लागेजस्तै हामीलाई पनि हाम्रो मातृभाषा प्यारो लाग्दछ । उहाँलाई मन नपरेकै आधारमा हाम्रो भाषा घृणित हुने हो र ? संसारकै समृद्ध भाषामा नभएको लोसािहित्य र संस्कृति रहेको नेपाली भाषाको पनि जननी भाषाको रुपमा रहेको यस क्षेत्रको भाषा उहाँलाई घृणित लाग्नुको कारण के ? हरेक समु्दायलाई आफ्नो भाषा, संस्कृति प्यारो लाग्छ । हामीलाई पनि हा्रो भाषा र संस्कृतिप्रति अगाध आस्था छ , के यो अपराध हो ? अथवा हाम्रो भाषाले हाम्रो अपराधिक मानसिकतालाई कसरी पुष्टि गर्दछ ? 

    त्यसैगरी उहाँले सुदूरपश्चिमका जातिप्रति पनि  खुब आक्रोस व्यक्त गरेको छ । सुदूरपश्चिममा कही नभएका जात तथा थरहर छन्, हाम्रो पूर्वमा त्यस्ता थरहरु छैनन् भन्ने अभिव्यक्तिले उहाँको मानसिकताबारे हामीले कस्तो धारणा लिने । कसैलाई मन नपरेकै आधारमा हामीले हाम्रा जाति र थर बदल्नुपर्ने हो ? हाम्रा जाति र थरका आफ्नै गौरवमय इतिहास छन् । कसैलाई मन नपरेकै आधारमा हामीले ती जाति तथा थर बदल्नुपर्ने कुनै बाध्यता छैन । हाम्राी दिदीबहिनीहरुप्रति उनले बोलेको अभिव्यक्ति अति नै घृणित छ । राम्रा नराम्रा मानिस हरेक समुदायमा होलान्, छन् पनि तर तिनीहरुलाई सही बाटो देखाउनु शिक्षित समुदायको कर्तव्य हो । न कि सामाजिक सञ्जालमा आएर बदनाम गर्ने ।

    अब बहसको मुख्य मुद्दा भनेको सुदूरपश्चिम नर्क हो अरे । कतिसम्मको घृणित मानसिकता छ मानिसहरुको । सुदूरपश्चिमलाई हेर्ने दृष्टिकोण कस्तो छ । के सुदूरपश्चिम साँच्चिकै नर्क नै हो त ? यदि नर्क हो भने यो नर्क कसले बनाएको हो ? कसका कारणले नर्क भएको हो यसको बारेमा पनि बहस हुनु आवश्यक छ । के राजधानीबाट टाढा हुँदैमा र विकासको नजरबाट टाढा हुँदैमा कुनै ठाउँ नर्क हुन्छ । यदि हो भने सुदूरपश्चिमलाई नर्क बनाउनमा पनि श्वर्गबासीकै हात हुनपर्छ । राजधानीको कुनै एउटा स्थानीय तह भन्दा पनि कम बजेट छुट्याउने सुदूरपश्चिमलाई अविकसित राख्नुमा कसको हात छ ? सुधारका ठाउँमा केही नबोल्ने, नभएका र हटाउन प्रयासरत रहेका कमीकमजोरीहरुलाई उछालेर सामाजिक वितृष्ण पैदा गर्ने काम कसैका लागि पनि उचित होइन । राजधानीमा बसेर यहाँको वास्तविकता नबुझी सुदूरपश्चिमका केही विकृतिहरुको सुनेका आधारमा व्यख्ख्या गरी हजारौँ बाहिरका देशी विदेशीहरुले  एनजिओ, आइएनजिओ चलाएर भुँडी त खुब भरे तर यहाँको समस्या भने कहिले पनि समाधान भएन । सुदूरपश्चिमका विकृतिहरुश्रलाई कमाइखाने भाँडो बनाएका कतिपयहरुलाई यहाँका विकृति हटाउनु भन्दा पनि तिनलाई बढिदिए हुन्थ्यो जस्तो लाग्दछ । यदि यी विकृति हटेको भने उनीहरुको रोजीरोटी बन्द हुन्छ होला । यद्यपि व्यक्ति समाज र राज्य सबै मिलेर जुनसुकै समाजका विकृतिहरु भने हटाउनु पर्दछ । यसमा भने कुनै सम्झौता गर्न सकिन्न ।

    बहस बाहिर गए पनि खासमा मानिसहरुको सुदूरपश्चिमलाई हेर्ने दृष्टिकोण न पहिले राम्रो थियो न अहिले नै । बरु पहिले मनमा जे भए पनि देखाइदैनथ्यो । अहिले भने सामाजिक सञ्जालमा नै छताछुल्ल पोखिने गरि देखिएको छ । कुनै पनि समाजमा राम्रा र नराम्रा पक्षहरु हुने गर्दछन् । नराम्रा पक्ष सुधार गर्नु र सकारात्मक कुराहरुको प्रशंसा गरी तिनमाथि अमल पनि गर्न सक्नुपर्दछ । सुदूरपश्चिममा भएका राम्रा कुराहरुलाई पनि ढाकछोप गरी समाजबाट हराउँदै गरेका केही विकृतिहरुलाई देखाएर श्वार्थ सिद्धि गर्दै सधैँ घृणा गर्दा समाज सुधारभन्दा पनि एक आपसका मतभिन्नताले टुक्रिने सम्भावना हुने गर्दछ  । अब कुरा आउँछ के सुदूरपश्चिममा विकृति मात्रै हुन् त ? यहाँका गौरव गर्नलायक कुराहर अरु केही छैनन् ? यी कुराहरु श्वर्थी तथा द्वेश फैलाउने व्यक्तिले न त देख्छन् नै न देखेपनि त्यसको बारेमा बोल्छन । बरु तिनैलाई ढाकछोप गरिन्छ । वर्तमान समयमा भाषा, संस्कृति र शिक्षा आदि विकासका दृष्टिले हेपीएको सुदूरपश्चिम कुनै समयमा आजको आधुनिक नेपालभन्दा सम्पन्न र आत्मनिर्भर थियो । हामीले यस्ता कुराहरुप्रति कहिल्यै ध्यान दिएनौ । सुदूरपश्चिमलाई परनिर्भर गराउने काम कसले ग¥यो । बैतडीको पुर्चौणीमा डोटी राज्यका बखतमा फलामखानी उत्खनन गरेर फलामका भाडाँकुडा स्थानीय स्थरमै बनाइन्थे । ती उद्योग कसले किन बन्द गरे ?  यसमा कसको के श्वर्थ थियो ? यो त उदाहरण मात्र हो । यस्ता उद्योग र खानी त शयौँ थिए सुदूरपश्चिममा, जब डोटी राज्यपछि नेपाल भयो तबदेखि सुदूरपश्चिमका यस्ता उद्योगधन्दा बन्द गरिएका हुन् । 

    अहिले अशिक्षित भनेर घृणा बन्ने सुदूरपश्चिमको भूगोलमा नेपालको राजधानी भन्दा पहिले सर्वसाधारणका लागि पाठशाला खोलिएका थिए । बझाङ्गी राजा जयपृथ्वी बहाुर सिंह लगायतले सर्वसाधारणका लागि भनेर खोलेका पाठशाला बन्द गरी राजधानी झिकाइनुमा कसको के श्वार्थ थियो । बरु काठमाडौँमै गएर पनि जयपृथ्वी बहादुर सिंहले अक्षराङ्क शिक्षा, व्याकरण लगायतका पुस्तक आफैले छापेर राजधानीमा पाठशाला खोलेका होइनन् । के यो चेत सुदूरपश्चिमबाट आएको हाइन ? जतिबेला राजधानीका महिलाहरु घुम्टोभित्र लुकिरहेका थिए त्यही समयमा सुदूरपश्चिमबाटै द्वारिकादेवी ठकुरानी राजनीतिमा देखिएर पहिलो मन्त्री बनेकी होइनन् ? के उनले तत्कालीन समयमा राजनीतिमा लागेर त्यहाँसम्म पुग्न नेपाली नारी समुदायका लागि केही भूमिका खेलेको होइन ? नेपाली जगल लेखनमा जतिबेला पुरुषहरु पनि डराइ डराइ लाजमानेर गजल लेख्दथे सुदूरपश्चिमकै भूमिबाट नेपालकै पहिलो महिला गजलकार तथा कृतिकारका रुपमा श्रेष्ठ प्रियापत्थर उदाएकी होइनन ? यति मात्रै होइन केन्द्रले अहिले पनि नमानिदिएका नेपालकै प्रथम सहिद बाँकावीर, नेपालमा कम्युनिष्ट आन्दोलनको सुरुवात गर्ने सहिद भीमदत्त पन्त यही माटोका सपुत होइनन् । खै केन्द्रीय तथा सुगमको मानसिकताले उहाँहर।को सम्मान गरिएको ? जतिबेला मानिसहरुले राणाशासनको जिहजुरी गरिरहेका थिए त्यतिबेला पनि बैतडी जिल्लाबाट उदाएका दसरथ चन्दले नेपालमा प्रजातन्त्र स्थापना गर्न खोलेको भूमिका वलिदानीको प्रतिको सम्मान के यही घृणित धारणा हो सुदूरपश्चिमप्रति को ? यस्ता हजारौँ गर्व गर्नलायकका कुरा छन् सुदूरपश्चिमसँग, तर पनि सकारात्मक मासिकताको अत्यन्तै खाँचो रहेको छ । सुदूरपश्चिम यदि नर्क छ त केवल राज्यको विभेदकारी नीति, केन्दीय मानसिकता र सुगमले दुर्गमलाई मानसिकताका कारण मात्र, अन्यथा सुदूरपश्चिम राज्य तथा केन्द्रीय मानसिकताले उपमा भिराइदिएको दूर पश्चिम नभएर सुन्दर पश्चिम हो । सुदूरपश्चिम तपाई भनेजस्तो नर्क नभएर राज्य तथा केन्द्रीय विभेदकारी नीतिले श्वर्गबाट नर्क बनाइएको हो । यद्यपि सुदूरपश्चिमका हजारौँ महिलादिदीबहिनी र पुरुषहरुको हातेमालोले गर्दा अझै पनि हामी कसैभन्दा कम छैन् ।

    हामी ठाडो शिर पारेर दुनियाँसामु सुदूरपश्चिमबासी हौँ भन्ने ल्याकत राख्दछौँ । यसकारण सुदूरपश्चिमलाई नर्क होइन श्वर्ग बनाउनमा सबैले भूमिका खेल्नु आजको आवश्यकता हो । यहाँका विकृति र विसङ्गतिहरुलाई हटाउनका लागि सहकार्य सुदूरपश्चिमको अपेक्षा हो । यहाँको विकासका लागि सहकार्य सुदूरपश्चिमको अपेक्षा हो । सुदूरपश्चिमको गरिबीको सामाजिक सञ्जालका खिल्ली उडाउनुभन्दा रोजगारी सिर्जनाका लागि हातमा हात मिलाएर बड्नु आजको आवश्यकता हो । भेगीय तथा क्षेत्रीय मानसिकताबाट माथि उठेर पूरै देश आफ्नो र सबै नागरिक आफ्नै दाजुभाइ हुन् भन्ने भावनाको विकास सुदूरपश्चिमको चाहाना हो । 

     




    प्रतिक्रिया दिनुहोस