डोटी । डोटीको सिलगढीमा डोट्याली भाषा तथा साहित्य संरक्षणका लागि बौद्धिक बहस गरिएको छ । बुधबार मार्क्सवादी अध्ययन प्रतिष्ठान धनगढीको समन्वयमा नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौँको आयोजना तथा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान कैलालीको सह(आयोजनामा बहस गरिएको हो ।
तत्कालीन डोटी गौँडाको इतिहास मेटिँदै गएको र डोटेली भाषा लोप हुन लागेकाले संरक्षणको आवश्यकता महसुस गरी बहस आयोजना गरिएको आयोजकले जनाएको छ ।
पछिल्लो समय डोटेलीभाषाको अस्तित्व मेटिने अवस्थामा पुगेको सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा टिएन जोशीले बताए। नेपालमा सबैभन्दा बढी बोलिने भाषामध्येको डोटेली भाषालाई विसं २०७८ को जनगणनामा नियोजित रूपमा कम देखाउने काम भएकाले त्यसको विरुद्धमा यस्ता कार्यक्रम आयोजना गर्नुपरेको उनको भनाइ छ । डोटेली भाषा डोटी जिल्लाको मात्रै नभएर तत्कालीन डोटी राज्यको भएकाले सुदूरपश्चिमका अन्य पहाडी जिल्लामा बोलिने भाषा पनि डोटेली रहेको उनले उल्लेख गरे।
एउटा पुस्ताको संस्कृति, ज्ञान, सीप र अनुभव अर्को पुस्तामा हस्तान्तरण गर्ने एउटा महत्वपूर्ण माध्यम भाषा भएकाले भाषा मासिँदै जानु पुर्खाको ज्ञान, संस्कृति, अनुभव हराउनु रहेको नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौँका सदस्य सचिव डा धनप्रसाद सुवेदीले बताए। भाषा कालान्तरमा गएर मर्ने भएपनि सांस्कृतिक रूपमा जीवित रहनुपर्ने उनको भनाइ छ । उहाँले भाषालाई स्थापित गर्न होडबाजी चलेको उल्लेख गरे। उनल भने, “अहिले भाषालाई जिल्लासँग जोडेर नामकरण गरिएको छ । हामीले जनगणनामा स्थापित गरेका छौँ । तर त्यो भाषा हुनलाई त्यो भाषा बोलिन्छ कि बोलिन्न ? भाषा स्थापित गर्न त्यसको व्याकरण, शब्द भण्डार चाहियो, त्यसमा साहित्य लेखिनु प(यो र त्यसलाई मान्यता दिनुप¥यो ।”
भाषामा भाषिका हुने कुरा स्वाभाविक रहेको उनको भनाइ छ । डोटी, डडेल्धुरा, अछाम, बझाङ, बैतडीलगायतका जिल्लामा बोलीले भाषीका भएकाले ती भाषीकाबाट प्रतिनिधिमूलक छानेर डोटेलीभाषा स्थापित गर्नुपर्ने उनको भनाइ छ ।
डोटेली भाषाको संरक्षणका लागि आगामी जनगणना पूर्व नै धेरै कामगर्नु पर्ने चुनौती रहेको मार्क्सवादी अध्ययन प्रतिष्ठान धनगढी अध्यक्ष केशवनाथ योगीले बताए। यो अवधिमा व्याकरण, शब्द भण्डार बनाउनेलगायतका काम हुन नसकेमा डोटेली भाषा खण्डीकरण भएर जाने योगीले स्पष्ट पारे। भाषा खण्डीकरण भएमा सुदूरपश्चिमको देउडा संस्कृति पनि खण्डीकरण हुने उनको भनाइ छ ।
.gif)