इन्डियन प्रिमियर लिग ४६ औँ खेलमा चेन्नई सुपर किंग्सले सनराइजर्स हैदरावादमाथि शानदार जित हासिल गरेको छ । आइतबार राति भएको खेलमा चेन्नई ७८ रनले जित हासिल गर्दै तेस्रो स्थानमा उक्लिएको हो ।
चेन्नईले प्रस्तुत गरेको २ सय १३ रनको लक्ष्य पछ्याउने क्रममा हैदरावाद १८.५ ओभरमा १ सय ३४ रनमा समेटियो । हैदरावादका लागि ऐडन मार्क्रमले सर्वाधिक ३२ रनको योगदान दिए । त्यस्तै, हेनरिच क्लासनले २० रन तथा अब्दुल सामदले १९ रन बनाए ।
अभिषेक शर्मा र नितिश कुमार रेड्डीले १५–१५ रन तथा ओपनर ट्राभिस हेडले १३ रन हिर्काए । हैदरावादलाई सस्तोमा समेट्न तुसार देशपाण्डेले ४ तथा मुस्तफिजुर रहमान र मथिसा पथिरानाले २–२ विकेट लिए ।
यसअघि पहिलो ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २ सय १२ रन बनाएको थियो । चेन्नईका लागि कप्तान रुतुराज गायकवाडले ५४ बलमा ९८ रनको शानदार इनिङ्स खेले ।
त्यस्तै, डेयरल मिचेलले ३२ बलमा ५२ तथा शिवम दुवेले २० बलमा ३९ रन बनाए । हैदराबादका लागि भुवनेश्वर कुमार, टी नटराजन र जयदेव उनादकटले १–१ विकेट लिए ।
चेन्नईको ९ खेलमा पाँचौँ जित थियो । टोलीको १० अङ्क छ । नेट रन रेटका आधारमा टोली अङ्क तालिकामा तेस्रो स्थानमा उक्लिएको छ । समान अङ्कसहित हैदरावाद चौथो स्थानमा छ ।
यसअधि अप्रिल १५, २०२४ मा, हैदरावाद टोलीले रोयल च्यालेन्जर्स बेङगलुरु विरुद्ध ३ विकेट गुमाएर २८७ रन बनाउदै किर्तिमान बनाएको थियो ।
.gif)