नौला वस्त्र जुता जुराब गुडिया चक्लेट पाएन क्यै
मेरा निम्ति बजारबाट कहिल्यै बिस्कुट ल्याएन क्वै
पाटीमा कखरा कुनै पुरुषले मेरो नलेखेपछि
बाबाको अनुहार हेर्नु कसरी बाबा नदेखेपछि
सानोमा बसि काँधमा म कहिले पुग्थेन स्कुलमा
खोजे है म कता भनी रहरले लुक्थेन यी झीलमा
मेरो तुच्छ ललाटमा समयले बाबा नलेखेपछि
बाबाको अनुहार हेर्नु कसरी बाबा नदेखेपछि
सेता ती पुतली उडेर कहिले आए भने श्राद्धमा
बाबा हुन् भनि भन्दथिन् र जननी बोलाउथिन् हातमा
तारा भैकन बस्दछन् गगनमा लुक्छन् ती हेरेपछि
बाबाको अनुहार हेर्नु कसरी बाबा नदेखेपछि
आमा वर्णन गर्दछिन् हजुरको राखेर मै काखमा
प्यारा थे अति वीर थे नरम थे भन्दैथिइन रातमा
आमा आज रिसाउछिन् कख अआ मैले नलेखेपछि
बाबाको अनुहार हेर्नु कसरी बाबा नदेखेपछि
सेता वस्त्र लगाउथ्यौ मखमली टोपी त न्यारो थियो
डाडो चन्दन लाउथ्यौ गजबको आस्कोट खैरो थियो
आमाले यति भन्दथिन् म कहिले एकान्त भेटेपछि
बाबाको अनुहार हेर्नु कसरी बाबा नदेखेपछि
.gif)