बुधबार, भदौ ३ गते २०८३ || Aug 19, 2026
  • यो साता चर्चामा :

दड़, हरितालिका : यस सन्दर्भका विविध पाटा अवलोकन


बिहीबार , भदौ २० २०८१
  • 662
    Shares

  • images
    images
    दड़, हरितालिका : यस सन्दर्भका विविध पाटा अवलोकन

    दड़/दड़ =दड़ो, दड़दड़ानु यी डोट्याली लोक भाषामा प्रयुक्त हुदै आएका शब्द हुन। दड़ /दड् शब्दले बलियो, बाक्लो, ढिलो पाचन हुने,नफाटने भन्ने अर्थ बुझाउछ भने यसले हरितालिका पर्वको पुर्ब सन्ध्यामा खाइने खानालाई पनि बुझाउँछ। 
      दड़ो घाँस = छिप्पिएको घाँस, 
      दड़ा गोड़ा = बलिया नडग्ने भार थाम्ने खुट्टा,
     दड् रैग्यो = पेटमा पाचन हुन नसकेको (undigested) खाना रहनु, 
     दड्दड़ानु कपडा/भाडो = मोटो, बाक्लो, सित्तै नफाटने बलियो कपडा या भाडो आदि 

    संस्कृत भाषामा 'दृढ' शब्दको नजिक यो शब्द रहेको छ ।  जसले उपरोक्त अर्थसित नै सामिप्यता राख्दछ। नेपाली भाषामा यसको समानार्थी शब्दका रूपमा दर/दरो शब्द प्रयोग हुन्छ। दर अनेकार्थी शब्द हो  ।दरो शब्दले बलियो भन्ने अर्थ नै दिन्छ। 
         चान्द्रमास अनुसार हरितालिका भाद्र शुक्ल पक्षको तृतिया तिथिमा पर्ने पर्व हो। पौराणिक आख्यानमा उल्लेखित यस शब्दको अर्थ "आलिभिर्हरिता"अर्थात सखीहरूबाट हरण गरिएकि भन्ने बुझाउछ। भविष्योत्तर पुराणमा बर्णित शिव पार्वतीको कथासंग यस पर्वको सम्बन्ध छ। यसै पर्वलाई तीज नामाकरण गरिएको पनि छ। तृतीया तिथिलाई नै अवधि,भोजपुरि हिन्दी खडिबोलीमा  "तीज" भनिन्छ। त्यहाँ द्वितीयालाई दुज र चतुर्थीलाई चौथ भनिन्छ। त्यहीँ भारतीय भाषाको अनुप्रयोग नेपालीमा गरिदैछ।महिलाहरूले  यस तृतीया पछि क्रमसः गणेश चतुर्थी तथा ऋषि पञ्चमीको समेत ब्रत बस्ने भयेकाले लगातारको उपबासबाट शरीरमा शक्ति क्षय नहोस्, भोकको कारण ब्रतमा अबरोध नहोस् भन्ने उद्देश्यले तृतीयाको अघिल्लो दिन दड् खाना खाने प्रचलन चलेको हो।

    तृतीयाका दिन पानी समेत नपिइ कठोर ब्रत हुने भयेकाले पनि अघिल्लो दिन ढिलो पाचन हुने र तागतिलो खानेकुरा खाइन्छन त्यो नै दड़ वा दर हो। सुदूरपश्चिममा आफ्नो प्रचलन र गच्छे अनुसार माणा,लौन, सेल पुरि, बटुक, दही, काँक्रा, केरा, आदि खाने प्रचलन हो। दड़ खाने समयसीमा मध्यरातिसम्म मात्रै हो।  यसमा परिवारका सबै सदस्यका साथै माइत आएका चेली बैनी र इष्टमित्र समेत खासगरि ब्रत बस्ने महिलाले "दड्" खान्छन्। एक तवरले भन्ने हो भने यो खानाको बुष्टर डोज हो ।

    बढी क्यालोरी युक्त खाना अघिल्लो दिन खानाले त्यस पछिका लगातार ३ दिन पर्ने हरितालिका, गणेश चतुर्थी तथा ॠषि पञ्चमी  अनि लगतै पर्ने बिरूडा पञ्चमी, अमुक्ताभरण सप्तमी र दुर्बाष्टमी समेतका महिला प्रधान पर्वमा शारीरिक क्षमता बनाइ राख्न "दड्" को महत्व छ। 

    दहीमा काक्रोको टुक्रा मिसाएपछि जुन खानेकुरा बन्छ, त्यो दर हो भन्ने पनि गरिन्छ। दरको खास अर्थ यही हो। दर तीजको अघिल्लो रात खाने गरिन्छ । दर खाएसँगै तीज सुरु हुन्छ ।  तीजको दिनभर व्रत बस्नु पर्ने र पानी सम्म नपिउने  मान्यताका कारण तीजको दिन भोक नलागोस् भनेर अघिल्लो रात १२:०० बजे पूर्व खानेकुरा खाने चलन परापूर्व देखि चली आएको हो ।

        शुद्ध साकाहारी खाद्यान्न खाएर मनाउने चलन हो  । सात्विक  दरमा दही, घिउ, खिर, काक्रो, स्याउ, केरा, दूध, आलुको तरकारी, विरौला (सिमीको तरकारी) जस्ता परिकार खाएर मनाउने मान्यता रही आएकोछ। ब्रत उपवास पुर्व तीनदिन देखि रेखचोख रहेर साकाहार सहित चोखो रहने प्रचलन  हाल आएर यो परम्परा खुब खाने  बिकृत बन्दै आएको छ। 

         हरितालिका ब्रतकथाको अनुसरण गर्दै महिलाहरूले ब्रत बस्ने भयेकाले यसमा पार्थिव शिव पार्वतीको पुजा हुने भयेकाले पुरुषले समेत सहभागी भै गर्दा अझै उत्तम हुन्छ भन्ने शास्त्रीय मान्यता रहेका छन। पार्थिव पुजनलाई उत्तम मानिन्छ र मृतिका वा वालुकामय पिण्ड  ( जसलाई "डिकरा " भनिन्छ) को पुजागर्ने र त्यसैमा तन्मयभावले साकार भाव ठानेर शिवशक्ति पुजा गर्ने विधान पाइन्छ।डिकरालाई सुन्दरताको प्रतीक पनि मानिन्छ, 

     सुदूर पश्चिममा लौकिक रूपमा सृष्टि सिर्जना र मानव उत्पत्तिसंग सम्वन्धी डिकराको फाग तथा अन्य देवगाथा गानसंगै डेउडा गायेर हरितालिका तृतियाको रातृ जागरण समेत गरिन्छ। 

    डिकराको फागलाई सिट्टि उब्जाउनाको (सृष्टि उत्पत्ति) फाग पनि भनिन्छ। यसमा महादेवले मानव सृष्टि गरेको मौलिक वर्णन छ। 

    'सिट्टिका धनी महादेव, सिट्टि उप्जौना महादेव। 
    बिणिबादि बैठ्या महादेव, क्याउ धन्दा छन महादेव। 
    तनले उप्जायो सुना डिकरा, सुना डिकरा हौ क मन। 
    मन्तालोक नर हो मन, मन्तालोक नर चायिछ, पजर चाइछ----साजि डिकराले हौ कयि हाल्यो। 
    मन्तालोक नर जाञि भयो, मन्तालोक नर होइग्यो, पजर होइग्यो।'

    साथै हरितालिका कथा श्रवणका माध्यमले यसको पौराणिकता बुझ्ने मात्रै होइन् कथाको प्रयोजनका साहित्यिक  अभिष्टसमेत प्राप्त गर्ने हो ।कथा श्रवणले केवल कथावस्तुको मात्रै वोध गराउदैन। यसले एकाग्रता अनि तन्मयभावको विकास गर्ने, नैतिक र आध्यात्मिक प्रेरणा दिने, विधिविधान र त्यसको प्रयोजन सित परिचित हुने कुराको पनि सम्प्रेषण गर्ने हुन्छ।   यससंगै खासगरी मध्य नेपालबाट तीज गीतहरू गाएर सामुहिक नाचगानका साथ पर्व मनाउने परम्परा विकसित भै देशविदेशमा समेत यो परम्पराले व्यापकता पाएको छ। यसमा तीजगीतका माध्यमबाटै भक्तिभाव प्रकट गर्ने,  मनोरञ्जन गर्ने, दुःखसुख साटने, गरिन्छ। 
       

    ब्रत /उपबास बस्ने बिविध बिकल्पहरू छन् ।कथा अनुसार पार्वतीले गरे जस्तै पानी पनि नखाई ब्रत बस्ने कठोरता मात्रै अबलम्बन गर्ने रूढ मानसिकता पाल्नु भन्दा पनि उपयुक्त बिकल्प शारीरिक क्षमता अनुसार छनौट गर्नु पर्दछ। भक्ति त नवधा अर्थात नौ प्रकारको हुन्छ भने व्यक्तिगत क्षमता, परिवेश अनि उपयुक्तताको आधारमा ब्रत गरिनु पर्दछ। मूलतः यसमा भावशुद्धिको महत्व हुन्छ। 

    "न शरीर मलत्यागात् नरो:भवति निर्मल:मानसेतुमलत्यागात् भवत्यन्त सुनिर्मलः। "

    सबै पर्व जस्तै यसको चार पुरुषार्थ संगको सम्बन्ध हुन्छ। पुजा गर्नु भनेको हितकारीको सम्मान गर्नु पनि हो। त्यो कल्याणको ध्येय प्रेरीत हुन्छ। यहाँ निर धर्मको अर्थ पनि विचारणीय हुन्छ, " धारणात्धर्ममित्याहु,धर्मो धारयते प्रजा:" धारण गर्न योग्य कुरानै धर्म हो, पालन गर्नु पर्ने कुरा नै धर्म हो सकारात्मक स्वभाविक वृति नै धर्म हो। अतः ब्रतबस्ने बाहनामा तामसिक प्रवृतिको भोजन, उच्छृंखल र अश्लिल गीतसंगितको नृत्य भक्तिभावको बाटो हुन सक्दैन। पर्वहरूमा यस्तै स्वार्थपूर्तिका बाहनाले बिकृति बढेका हुन। भक्तिभावमा समर्पण हुन्छ, स्वार्थ हुदैन्। उत्तेजना हुदैन। 

       स्वास्थ्यका दृष्टिकोणले  कुनै दिन उपवास राख्नु पाचन प्रणाली सन्तुलित राख्न उपयुक्त नै हुने भये पनि निरन्तर ब्रत त्यसमा पनि पानी समेत नपिएर कट्टरता देखाउनु त्यति सान्दर्भिक नहुन सक्दछ किन भने परम्परा थालनि हुँदाका बखतको शारीरिक सामर्थ्य (इम्युनिटि)अहिलेकामा नहुन सक्दछ। 

    अर्को कुरा कथा अनुसार शिव पार्वती प्रेम कथाका रूपमा मानिएको र  सौभाग्य प्रबर्धक पर्वका रूपमा श्रीमान् श्रीमतीको सुमधुर सम्बन्धको पर्वका रूपमा यसले मान्यता पाए पनि पतिपत्नीका बिचमा सौहार्दपूर्ण व्यवहार, समर्पण ,  सहयोग , सम्मानको भाव  छैन भने ब्रत राख्नको औचित्य रहदैन। बरू एक आपसी   "प्रणय दिवस" का रूपमा यस पर्वलाई  मान्नुको सट्टा कुनै सरोकार नभयेको भ्यालेन्टाइन पछि दगुर्नेहरूले पनि यस ब्रतलाई बिकृत बनाउने चक्कर चलिरहेको बिडम्बना छ।

    सात्विक भाव पुर्वक मनाइने यो पर्व तीज सुरू नहुदै दर खाने र दरका रूपमा मासु रक्सी समेत खाइन्छ भने देवीदेवताका फाग माङल गाउने , खुलस्त भयेर महिलाहरूले  सुखदुःखका कुरा गीतमार्फत् अभिव्यक्त गर्नुको साँटो तथा विविध जनचेतनामूलक गीतहरूको साटो उताउला,उच्छृङ्खल, छाडा प्रवृतिका गीत एवम् नृत्यको प्रचलन बढदै गयेको छ। यसले एकातिर सात्विक ब्रत परम्परा भंग हुदैछ भने अर्का तिर तीजका नाउँमा छाडापन, प्रदर्शन र फजुल खर्च बढी रहेका छन।

    मूल रूप भन्ने हो भने त यसको परम्परागत स्वरूपमा त मौलिक लोक गीत सङ्गीत र सिर्जनधर्मिताको गुण पाइन्छ। आधुनिकताको नाउँमा " सेक्सीडान्स " पनि तीजगान र नृत्यसंग जोडेर प्रदर्शनवादी गतिविधि बढदै गयेको देख्दा धार्मिक पर्वका आडमा आडम्बर बढी रहेको पाउछौ। मिडियाहरूमा देखाउनकै लागि गरिने अश्लिल हर्कत सास्कृतिक हुन् सक्दैनन्। 
     आत्मियता र सदभाव बाँडने ठाउँमा घटि रहेको छ।

    महिना दिन अघि देखि नै सहर बजारमा दरकाखाने बहानामा अनेकौ आयोजनहरू ले धार्मिक सांस्कृतिक पर्वलाई खर्चिलो र भडकिलो बनाइदै छ, गहना, कपडा र खानपिनको प्रदर्शनवादी गतिविधि बढाउनमा हुनेखाने वर्गका महिलाहरू को सहभागिता बढि रहेको देखिन्छ। मनोरञ्जनको पनि सीमा हुन्छ।  मौलिक पर्वहरूमा बढदै गयेको प्रदर्शनवादी तथा उपभोक्तावादी प्रवृत्तिले समाजमा कमजोर आर्थिक अवस्थाका मानिसहरूलाई समेत नराम्रो असर पारिरहेको छ। कुनै पनि समुदायका धार्मिक सास्कृतिक पर्वहरू मनाउँदा आफ्नो परिवेश, आर्थिक अवस्था र स्थानीयता सुहाउँदो हुने गरेको हुन्छ। स्वावलम्वन एवम् आफ्नो उत्पादनमा आधारित भयेर सात्विकताका साथ मनाउने हो। तर अहिले त दारूमासु नभै दर नखाइनेहरूको संख्या बढदै गरेको छ।  बढी सभ्य र शिक्षितको बिल्ला भिरेकाहरूकै चाडपर्व भडकिला र फजुल खर्चि मात्रै भयेका छैनन्  उच्छृंखलता र अश्लिल गीत सङ्गीतलाई " सास्कृतिक " भन्न थालिएको छ। 

    समाजमा मिलेर सदभावका साथ मनाउनु पर्ने पर्वहरूमा हरितालिका पनि हो ।यो पर्व पौराणिक कथनहरू अनुसार प्रचलनमा रहेको छ। अतः यससंग जोडिएको लोक प्रचलन दड़ खाने परम्परा सामुहिक रूपमा गर्नु आपत्तिको कुरा होइन, चाडपर्व मनाउनुको सम्वन्ध"  संगच्छध्वम् सम्वदध्वम् सम्वोमनांसि जानताम्" संग हुन्छ।  तर यसले सिर्जना गरेको वर्तमानअवस्थाका केही  कृत्यहरूबाट संस्कृति निर्माण होइन् बिकृति  निमन्त्रण हुदैछ कि भन्ने संकेत गर्दछ। परम्परागत कुराहरू रूढ हुन र नयाँ थिति बसाउनु पर्दछ भन्ने हो भने पनि जग हसाँइका कुरा त सिर्जना हुनु भयेन्। चेतनाको बिकाससंगै  नारी स्वतन्त्रता र अधिकारको प्रसंग पनि जोडिएला तीजमा त जे पनि गर्ने स्वच्छन्दता हो भने त्यो कुरा धर्मसंग जोडनु भयेन , सबैकुरा छोडेर उत्तर आधुनिक समाजबाद त "तीजब्रत बस्न दारू र मासु खायेर, पोइल जान पाम-गीत गाएर" आउँदैन होला। 

    सदभाव, सत्कर्म, सहयोग, सौहार्दता, संयम जस्ता पक्षहरू  धर्मकर्मका पाटा होलान, हलुका मनोरञ्जन र सतही उडान कुनै सामाजिक- सास्कृतिक विषयवस्तुको आडमा गर्नु हुँदैन। समाजमा केही मै हुँ भन्ने अभिजात्य र अरू नदेख्ने स्वच्छन्दतावादी प्रवृतिले समाजका हरेकपाटा गाँज्दै लगेको परिदृश्यले वणिजवाद पनि फस्टाउँदै जाँदा सिको गर्न पल्केका अरू पनि त्यहीँ भासमा फस्दै "डिकल्चराइजेसन" को खतरा बढेको देखिन्छ।


  • सम्बन्धित विषय:

  • # हरितालिका


  • प्रतिक्रिया दिनुहोस