चीरकालसम्म मेटिदैन रतगको इतिहास । कोही आम मान्छेका लागि रगत बगाएर इतिहास लेख्छन्, कोही आम मान्छेको रगत पिएर इतिहास लेख्छन् । आम जनसाधारणका लागि आफ्नो रगत बगाउनेहरू चीरकालसम्म मान्छेका हृदयमा पुज्य हुन्छन् । आम जनसाधारणको रगत पिउनेहरू चीरकालसम्म आम मान्छेका मानसपटलमा कुख्यात र घृणित पात्रका रूपमा रहिरहन्छन् ।
क्रुर सत्ताको बार्दलीबाट भर्खरै बाहिरिएको छ एक (अ)मान्छे । उसको अनुहार कलिला बालबालिकाहरूको रगतले तलपतिएको छ । टाउको निहुराउँदै, हत्केलाले छोप्दै या भीडबाट टाढा भाग्दै गरे पनि रगत लतपतिएको उसको अनुहार टाढैबाट देखिन्छ, टाढैसम्म देखिन्छ । आज मात्र हैन, इतिहासका थुप्रै शताब्दी उसको अनुहार प्रष्टै चिन्नेछन् मान्छेहरू । रक्तरञ्जित उसको ताण्डवको चर्चा शताब्दीभर भैरहनेछ ।
हिजोसम्म यो देशको गृहमन्त्रीको आशनमा थियो त्यो मान्छे । सालिन चेहरा, मीठो बोली, प्राज्ञिक तर्क, बातैपिच्छे जनताको कसम्, घटनैपिच्छे नैतिकताको वकालत ...! उसको छद्मरूपका अनेक किस्सा छन् शहरमा ।
महान नाटकका महानभन्दा महान अभिनेताहरूले पनि प्रहसनको अन्तिममा उतार्नैपर्छ छद्म बस्त्रहरू । उतार्नैपर्छ अनुहारका सजावटहरू र उत्रिनैपर्छ आफ्नो असली परिचयमा । आफुलाई आदर्श नायकको हवाला दिंदै गृहमन्त्रीको आशनमा बिराजित एक व्यक्ति सत्ताको अन्तिम प्रहशनसँगै उत्रेको छ आफ्नो असली परिचयमा । उसले देखाइदिएको छ कि ऊ कति सालिन, कति भद्र, कति प्राज्ञिक र कति नैतिकवान थियो भन्ने तथ्य । आफ्नो छद्मरूपको पर्दाफास उसले आफैले गरेको छ । व्यक्ति, समाज र राष्ट्रको सुन्दर भविष्यको वकालत गर्दै सडकमा आएका कलिला किशोरहरूका कन्चट ताकी ताकी गोली हानेर उसले सारा मान्छेलाई छर्लङ्गै पारिदिएको छ कि यथार्थमा ऊ को हो भन्ने कुरा ।
.....
हरेक समाजमा, हरेक समयमा विरोधहरू हुन्छन्, संघर्षहरू हुन्छन् । संघर्षलाई नियन्त्रण गर्नु, व्यवस्थित गर्नु राज्यको दायित्व हो । तर त्यसमा खटाइएका सुरक्षकर्मीलाई यथेष्ठ मानवीय व्यवहारका विषयमा प्रशिक्षित गरेर मैदानमा खटाइएको हुन्छ । सम्झाउने, रोक्ने, छोक्ने, पानीको फोहरा हान्ने, अश्रुग्यास हान्ने, लाठि हान्ने, गिरफ्तार गर्ने, गोली नै हान्नुपरे रबरका गोली हान्ने, त्यतिले पनि नपुगे अन्तिम अवस्थामा खुट्टामा पैतलामा गोली हान्ने चलन संसारभर छ । निरंकुश भनिएका नेपालका विगतका शासकहरूले पनि यस्तै गरेका छन् । अझ त्यसमा जनताको मत पाएर पदमा पुगेका पात्रहरूले त सकेसम्म संघर्षरत पक्षको सुरक्षाको पक्षमा हरसम्भव चिन्ता र वकालत गरेको हुन्छ । तर उन्नत र संसारकै सर्बोत्कृष्ठ लोकतन्त्र भनिएको मुलुकको सत्ताले यी कुनै पनि पूर्वाभ्यास नगरी कलिला किशोरकिशोरीहरूका कन्चट र छाति ताकि ताकि गोली हानेको छ । त्यसको नेतृत्व र निर्देशन यिनै गृहमन्त्रीले गरिरहेका छन् ।
घोषित युद्धका पनि आफ्नै नियमहरू हुन्छन् । आफ्ना शत्रु फौजमाथी कुन अवस्थामा प्रहार गर्ने, कुन अवस्थामा नगर्ने, कुन अवस्थामा शरीरको कुन भागमा निशाना लगाउने, कुन अवस्थामा शत्रु सेनाप्रति पनि सेवाभाव देखाउने जस्ता विषय समेत युद्ध नियमभित्र समेटिएका हुन्छन् । निहत्था र निशस्त्र व्यक्ति शत्रु नै भए पनि उसमाथि प्रहार गरिदैन । तर यो देशको शासकले सडकमा आवाज उठाइरहेका अबोध, निशस्त्र बालबालिकाहरूमाथि अन्दाधुन्द गोली प्रहार गरेको छ ।
संसारका कुनै पनि मुलुकमा यो हदसम्मको वर्वर प्रहार भएको देखिएको छैन् । आन्दोलनमा होस वा युद्धमा होस्, आकस्मिक रूपमा परेका बालबालिकहरूमाथि प्रहार भएका होलान तर बालबालिकाहरूले नै गरेको शान्तिपूर्ण प्रतिरोधमा राज्यले कन्चट ताकी ताकी हानेको व्यहोरा कुनै पनि मुलुकको इतिहासमा पढ्न पाइएको छैन ।
...
अन्तिम अवस्थामा चैतर्फी विरोधका बीच पानीमाथीको ओभानो बन्न गृहमन्त्रीले पदबाट राजिनामा दिएको छ । तर क्रूर र वर्वरतापूर्ण हत्या गरिसकेपछि उ कसरी ओभानो देखिन सक्छ । उसको अनुहार मात्र हैन सर्वाङ्ग रगतले लतपतिएको छ ।
०००
शसकको क्रुरता, दम्भ र नालयकीले देश कुन परिस्थितिमा पुग्न सक्छ भन्ने उदाहरण हामीले आँखैअघि देख्यौं । दर्जनौं कलिला किशोरहरूले जीवन गुमाए । सयौं किशोरकिशोरीहरूका सुन्दर भविष्यका सपनामाथि तुसारापात भयो । अन्ततः देश खरानी भयो । यसो हुनुमा धेरै व्यक्ति र धेरै निकायहरूको भूमिका होला । तर सबभन्दा दोषी देशको प्रधानमन्त्री र गृहमन्त्री नै हुन् । अझ सुरक्षाको जिम्मेवारी लिएको र गोली चलाउने आदेश दिने विभागीय मन्त्री पहिलो दोषी हो ।
देशमा भ्रष्टाचार, अनियमितता, दण्डहीनताले सीमा नाघिसक्यो भन्ने कुरा देशको गृहमन्त्रीलाई थाहा थिएन होला ? बेथितिविरुद्ध जेन जी पुस्ताले घोषणा गरेको प्रतिरोधबारे देशको गृहमन्त्री बेखबर थियो होला ? प्रतिरोध दबाउन प्रहरी सडकमा निस्किनु अघि गृह मन्त्रालयमा छलफल भएन होला ? गृहमन्त्रीको आदेश वा सहमति बिना प्रहरी प्रमुख या प्रशासन प्रमुख वा सडकमा खटिएको सुरक्षाको संयन्त्रको कमाण्डरले गोली चलाउने आदेश दियो होला ? बन्दुक सडकमा खटिएको सुरक्षाकर्मीको हातमा भए पनि त्यसको ट्रिगर अप्रत्यक्ष रूपमा गृहमन्त्रालयको कुर्चीमा हुन्छ भन्ने कुरा आज जोकसैलाई थाहा हुन्छ ।
कल्पना गरौं जेनजीको प्रतिरोधको पहिलो दिन सडकमा गोलाी चलाउने आदेश नदिएको भए । परिस्थिति पक्कै केही न केही फरक हुने थियो होला । तर सत्ताको उन्मादमा रमाएका गृहमन्त्रीले सडकका बच्चाहरूलाई बच्चा देखेनन् । किशोरकिशोरीहरूलाई किशोरकिशोरी देखेनन्, युवाहरूलाई युवा देखेनन् । सबभन्दा ठूलो दूखको कुरा सडकमा ओर्लेका मान्छेहरू यही देशका नागरिक हुन भन्ने कुरा गृहमन्त्रीले हेक्का राखेनन् । उनले बुझेनन् समय धेरै फेरिइसक्यो । उनले बुझेनन् आजको पुस्ता उनीहरूको सडेगलेको पुस्ताभन्दा निकै बढी सचेत, अग्रगामी र ज्ञानवान छ भन्ने कुरा । उनले बुझेनन् कि आजको पुस्ता अवसर र सुशासनको लागि निकै भौतारिइरहेको छ भन्ने कुरा । र यसरी भौतारिदा भौतारिदै ऊ निकै थकित र आक्रोसित भैसकेको छ भन्ने कुरा पनि उनले बुझेनन् । थकान, निराशा र आक्रोशको आगो ओकेलीरहेको यो पुस्तालाई गलत तरिकाले चलाउनु हुँदैन भन्ने कुरा यो देशको गृहमन्त्रीले बुझेन, बुझ्न चाहेन् । उसले सोच्यो होला –“दुइचार केटाहरूका कन्चटमा गोली हानिदिए काम तमाम हुन्छ !” उसले कसरी यस्तो सोच्न सक्यो ? देशका शासनसत्ताको उच्च आशनमा विराजित हुनुको नाताले सडकमा उत्रेका नयाँ पुस्ताको अभिभावक ऊ पनि हैन र ? त्योभन्दा अझै पर रहेर सोचौं, के उसमा न्युनतम मानवीय समवेदन पनि थिएन ? उसको आफ्नै परिवारमा पनि त्यही उमेरका छोराछोरी हुँदाहुन् । उसका दाइभाई नातागोता या टोलछिमेकका त्यही उमेरका छोराछोरी हुँदाहुन् । सडकमा गोली बर्साउने आदेश दिनु अघि उसको मस्तिष्कमा आफ्नै या आफन्तका छोराछोरीको अनुहार आएन होला ? उफ् .... ! कति क्रुर ! कति निर्दयी ! कति हिंस्रक् ! उसको दानवीय चेहरा इतिहासले कसरी बिर्सिन सक्छ अब ?
नैतिकता र आदर्शको छद्मरूप भित्र उसका अनेक अनैतिक र अनियमित कुकृत्यहरूको लामै फेहरिस्त छ । कंचनपुरमा अबोध बालिका निर्मला पन्तको बलात्कार पछि हत्या हुँदा उसले खेलेको गलत भूमिका त्यहाँका जनसाधारणले कसरी बिर्सिन सक्छन् ? अपराधको घटनालाई राजनीतिकरण गरेर त्यहाँको समाजमा उसले फैलाएको त्रास आज पनि जीवितै छ ।
जिल्लामा आफ्नै दलभित्रका राजनैतिक प्रस्पिर्धिहरूलाई गिराउन र पाखा लगाउन उसले अपनाएका अनेक हत्कण्डाहरू त्यहाँका नेताकार्यकर्ताहरूका मनमनमा सुरक्षित छन् ।
संसदमा निरन्तर नैतिकताको भाषण फलाक्ने ऊ आफ्नै विरुद्ध अनियमिताको प्रश्न उठ्दा ऊ कसरी रक्षात्मक बन्यो ? मानव तस्करी जस्तो जघन्य अपराधमा जोडिएपछि के उसले नैतिकवान बन्नु आवस्यक थिएन ? देशमा नैतिकको रक्षा गरिदिने काम उसको हैन, बाँकी अरु राजनीतिकर्मी या कर्मचारीहरूको मात्र हो ? के नेपाली जनता उसको नालायकी बुझ्ने क्षमताका छैनन् ?
आदर्शका छद्म रूपभित्र उसले गरेका कुकृत्यहरूको फेहरिस्त लामै छ । समयले निरन्तर तिनलाई बाहिर ल्याउनेछ । दूखको कुरा उसलाई ती सब कुकृत्य गरेर मात्रै पुगेन । उसले के के थोकको भोक थियो । के के थोकको प्यास थिया । के के थोकको अहंकार थियो । आफ्ना सबै भोकप्यास र अहंकार साम्य पार्न उसले अन्ततः रगत पियो । भविष्यको सुन्दर सपना बोकेर, सुन्दर समाजको परिकल्पना गरेर, शुसानको आवाज उठाएर सडकमा निस्किएका दर्जनौं छोराछोरीहरूको रतग पियो उसले । सायद रगतले अघाएर ऊ भागेको छ । जल्दै गरेको घरभित्र चेतना गुमाइसकेकी बयोबृद्ध आमालाई छोडेर ऊ कसरी भाग्न सक्यो होला ? मानव रगतले अनुहार लतपतिएको त्यो क्रुर मान्छे फेरी कतै तपाईँहाम्रै गाउँटोलमा आउन सक्छ । त्यसलाई चिनिराखौं !
.gif)