बुधबार, भदौ ३ गते २०८३ || Aug 19, 2026
  • यो साता चर्चामा :

ढोग दिया: सुदुरपश्चिममा आदर तथा मायाप्रेमको सर्वोत्तम अभिव्यक्ति


बुधबार, भदौ ४ २०८२
  • 8.8K
    Shares

  • images
    images
    ढोग दिया: सुदुरपश्चिममा आदर तथा मायाप्रेमको सर्वोत्तम अभिव्यक्ति

    २०८१ को नेपाल प्रिमियर लिग क्रिकेटमा जब सुदुरपश्चिम रोयल्सले कुनै म्याचमा हार व्यहोर्थ्यो वा कम्जोर प्रदर्शन गर्दथ्यो तब सूदुरपश्चिम रोयल्सका फ्यान बाहेकले सुदुरपश्चिम रोयल्सका फ्यानहरुलाई गिज्याउन र  चिढ्याउन “ढोग दिया” भन्दै हुटिंग गर्दथे जसले हरेक सुदुरपश्चिमवासीको आत्म सम्मानमा गम्भीर चोट दिन्थ्यो । सोहि समय भन्दा केहि पहिले नेपाली टिकटकर आयुष कि आमा नानु सिंहले टिकटक लाइभमा “नमस्ते, ढोग दिया” भने पछी र केहि लोकगीतहरुमा पनि “ढोग दिया” भन्ने शब्दको प्रयोग पछी सामाजिक संजालमा यस शब्दले व्यापकता पाएको थियो । केहि सामाजिक संजाल प्रयोगकर्ताले मात्र जानेर र धेरैले नजानेरै उक्त शब्दको सामाजिक संजालमा दुरुपयोग गरि सुदुरपश्चिमेलीलाई चोट दिने काम भएको थियो । तत्पश्चात सम्बन्धित निकायले उक्त निन्दनीय कार्यप्रति असहमति जनाएर सुदुरपश्चिमेलीको आत्मसम्मान रक्षार्थ आफ्नो धारणा सार्वजनिक गरेकै हुन् ।

    मानव समाज रहे सम्म राजनैतिक शक्तिको संघर्ष, अधिकारको संघर्ष, मान सम्मानको संघर्ष, पहिचानको संघर्ष आदि इत्यादीको नाममा अनेक संघर्ष भै नै रहनेछन् । दूरदराजकालाई सदरमुकामवालाहरुले, सदरमुकामवालाहरुलाई राजधानीवासीले, युरोप अमेरिकातिर एसियाली अफ्रीकीहरुलाई, विकसित देशहरुले तेस्रो विश्वका देशहरुलाई र एउटा धर्मले अर्को धर्मलाई हेप्ने र तिरस्कार गर्ने गरेको पाइन्छ यद्धपि सबै संघसंस्था धर्म र संगठनहरुले विभेद गर्नुहुँदैन भनेकै हुन्छन् । यस्तो हेप्ने र हेपिने चलन नेपालमा मात्र होइन संसारभरी नै व्याप्त छ तर त्यसको तरिका र व्यवहार भने फरक हुन सक्दछ । नेपालको राजधानी काठमाडौँमा अद्यापि सबै भन्दा हेपिने व्यक्तिहरु हाम्रा तराईवासी दाजुभाईहरु नै हुन् तथापी २०६३ पछिको मधेसी आन्दोलन पश्चात उक्त प्रवृत्तिमा पक्कै केहि कमि आएको छ । दोश्रो नम्बरमा हेपिने भनेको सूदुरपश्चिम र कर्णालीवासी नै हुन् त्यसैको ज्वलन्त उदाहरण हो सूदुरपश्चिममा प्रचलित अभिवादनको प्रक्रिया नमस्ते गरें “ढोग दिया” भन्ने शब्दको हास्य मनोरंजनका साथै हेपाई मिश्रित दुरुपयोग । 

    माघ फागुन २०८१ मा सार्वजनिक भएको कलाकारहरु खेम सेन्चुरी र कविता खत्रीको गायन रहेको “नमस्ते ढोग दिया” गीत सार्वजनिक भए संगै र माथि उल्लेख गरिएको प्रसंग संगै ढोग दिया शब्दको चर्चा चुलिएको थियो । भाद्र २०८२ सम्म यस गीतलाई यु ट्युबमा अट्ठाइस मिलियन अर्थात् दुई करोड असि लाख पटक हेरी सकिएको छ । भन्नुको तात्पर्य यस गीतले लगभग नेपालको जनसंख्या बराबरको भ्युज पाइसकेको छ । प्रेम प्रसंगमा बनेको यो गीत कर्ण प्रिय छ र जनजिब्रोमा सजिलै झुन्डिने किसिमको रहेकोले अत्यधिक दर्शक श्रोताले मन पराएको कसैबाट  लुकेको छैन । मैले यहाँ यस गीत वा कलाकारहरुको बजारीकरण गरेको होइन मेरो यस गीतका कुनै कलाकार संग कुनै सम्बन्ध छैन तर मेरो कुनै सम्बन्ध छ त त्यसमा प्रयोग भएको शब्द “ढोग दिया” संग मात्र । म नेपालको सुदुरपश्चिमको बासिन्दा भएकोले यस क्षेत्रको भाषा, संस्कृति, कला वा जे सुकै संगपनि मेरो लगाव हुनु स्वाभाविक हो । मैले गीतलाई धेरै पटक हेरें र सुनें पनि तर यो गीत संग सम्बन्धित कसैले पनि उक्त “ढोग दिया” शब्दको दुरुपयोग गरेको पाईनं । ढोग आफ्ना आदरणीय मान्यजनहरुलाई नै दिइन्छ तर गीत संगीतद्वारा आफ्नो सबै भन्दा प्रिय मायालुलाई उक्त शब्द “ढोग दिया” प्रयोग गर्नु किमार्थ गलत छैन । माया प्रेम भनेको हाम्रा भावनाहरुमध्येको सबैभन्दा राम्रो भावना हो र माया प्रेम द्वारा नै मोक्ष प्राप्त हुन्छ भन्ने पूर्वीय दर्शन अनुशरण गर्ने हो भने पनि यसलाई अन्यथा मान्न सकिन्न । सुदामा, राधा र मीराले कृष्णलाई गरेको प्रेम, हनुमान र सबरिले रामलाई गरेको प्रेम पुजनीय छ र प्रेमनै मानव भावनाहरुको सर्वोत्तम अभिव्यक्ति हो भन्ने मान्यता पनि यहाँ दोहोर्याउन चाहन्छु ।

    आफ्नो मान्यजनलाई आदर साथ ढोग्ने प्रक्रिया वा कार्यलाई ढोग भनिन्छ र कसैले आफ्नो मान्यजनको ध्यान आकर्षण गर्न र आफुले दिएको ढोगको सम्बन्धित मान्यजनले उचित आशिर्वादको अपेक्षामा भनिने शव्द नै नेपालको सुदुरपश्चिम प्रदेशमा बोलिने डोटेली भाषामा “ढोग दिया’ हो । यद्धपि, ढोग दिंदा भनिने शव्दहरु भिन्न भिन्न स्थान, चलन र परम्परा अनुसार  पृथक पृथक हुन्छन् । कसैले ढोग दिंदा जदे भन्छन्, कसैले जदेउ भन्छन्, कसैले पौलागी/पाउलागी भन्छन्, कसैले पुइला पनि भन्छन् भने कसैले दर्शन भन्छन् । यसरि आफ्नो सेवा/ढोग/आदर झल्काउने अन्य शव्दहरु पनि हुनसक्छन् । ढोग दिंदा भनिने शव्दको पछाडी जसलाई ढोग/आदर गरिएको हो उस संगको नाता भन्ने गरिन्छ जस्तै: जदे इजा अर्थात् सेवा ढोग आमा र सम्बन्धित मान्यजनको खुट्टामा शीरले छुने गरिन्छ । तर कसैले दुवै हात जोडेर झुक्दै मान्यजनको खुट्टा छुने गर्छन्, कसैले खुट्टा नछोएर झुक्ने मात्र गर्छन्, कसैले टाउको मात्र झुकाउंछन् भने कसैले हात जोडेर नमस्कार गरे जस्तै शीर नझुकाई पनि ढोग दिन्छन् यद्धपि ढोग दिने सही तरिका चाहिँ शीरले खुट्टा वा पाउ छुनु नै हो । ढोग दिए पश्चात मान्यजनले पनि उचित आशिर्वाद दिन्छन् र  सबै भन्दा बढी दिइने आशिर्वाद चाहिँ जीरेई अर्थात् लामो आयु होस् भन्ने नै हो । आशिर्वादका शब्दहरुको कुनै सीमा छैन र दिने मान्छेले आफ्नो विज्ञता, ज्ञान, प्रेम र सम्बन्धका आधारमा शब्द चयन गरेर पनि आशिर्वाद दिने गर्दछन् ।
    सुदूरपश्चिम पहिले देखि नै मुलुकको मूलधारमा आउन नसकेकै हो यद्धपि सहिद दशरथ चन्द, पूर्व प्रधानमन्त्री डा. के.आई. सिंह, किसान नेता भीम दत्त पन्त, मानवतावादी नेता जयपृथ्वी बहादुर सिंह, दक्षिण एसियाकै पहिलो महिला मन्त्री द्वारिका देवी ठकुरानी, पूर्व प्रधानमन्त्रीहरु लोकेन्द्र बहादुर चन्द तथा शेर बहादुर देउवा जस्ता राष्ट्रिय स्तरका नेताहरु यो भूमिकै उपज भएकोले सुदूरपश्चिम राजनैतिक रुपमा अन्य स्थानहरु भन्दा बढी जागरुक भएको दर्शाउंछ । पहिले देखिनै शिक्षामा अग्रस्थान ओगटेको, सबै भन्दा धेरै ओलम्पियन भएको, खेलकूदको उर्वर भूमि, क्रिकेटको पर्याय र हालसालै मिक्स्ड मार्शल आर्टका च्याम्पियन पनि भएको यस क्षेत्रमा कर्णाली नदीमा पुल नबनुन्जेल २०५५ साल भन्दा पहिले सुदूरपश्चिमबाट काठमाडौँसम्म आवतजावत गर्नु एकदमै कष्टकर थियो । हाल आवतजावत जावतको कठिनाई नभएतापनि सरकारी स्तरमा अझै सम्म पनि कुनै कर्मचारीलाई सुदुरपश्चिममा खटाईन्छ भने सजाय दिएको वा तिरस्कार गरेको हो भन्ने भाष्य रहेको छ । मिडियाले पनि सुदूरपश्चिमको चित्रण गर्दा नै गरिब, पछौटेपन र अविकसित क्षेत्र जस्ता विशेषण जोडेर गर्दछ जसले सर्वसाधारण जनतामा सुदूर भनेको साँच्चिकै टाढा छ र त्यहाँको जनजीवन निकै कष्टपूर्ण छ भन्ने भान हुन्छ । नाममा के राखेको छ भनिन्छ तर नामले पनि ठूलो भूमिका खेलेको हुनसक्छ राजधानी लगायत देशका अन्य भागका महानुभावहरुले सुदूरपश्चिमको नाम सुन्ने वितिक्कै नाक खुम्च्याउने, खिसिट्युरी गर्ने वा हेप्ने कारण मध्येको एक कारण नाम सुदूरपश्चिम भएर पनि हो भन्ने अनुमान लगाउन सकिन्छ । तसर्थ, सुदूरपश्चिमको नाम परिवर्तन गरि राष्ट्रवादी नाम महाकाली – सेती वा काली-सेती वा पौराणिक शास्त्रहरुमा वर्णित देवभूमि मानसखण्ड पनि राख्न सकिन्छ जसले सुन्ने व्यक्तिमा सकारात्मक संदेशको संचार हुन्छ । 

    जसले जे सुकै भने पनि “ढोग दिया” शब्दको प्रयोग गरि प्रेम गीत बनाउने कलाकारहरु, सामाजिक संजालमा भाइरल बनाउने टिकटकरहरुलाई म व्यक्तिगत रुपमा धन्यवाद दिनचाहन्छु किनकि तिनीहरुको योगदान (चाहे सकारात्मक होस् या नकारात्मक)ले गर्दा नै आज अधिकांश नेपालीले सुदूरपश्चिमेलीले अभिवादन गर्दा जदे/जदेउ/पौलागी/पाउलागी/पुइला/दर्शन भन्दछन् र उक्त अभिवादनको प्रक्रियालाई “ढोग दिया/दियाँ” भन्दछन् भन्ने जानकारी त पाए ।  “ढोग दिया” भन्ने शब्द साधारण अभिवादन मात्र नभएर सुदूरपश्चिमेलीहरुकालागी गौरवको प्रतीक, आदर तथा मायाप्रेमको सर्वोत्तम अभिव्यक्ति पनि हो । अभिवादन गर्नु, ढोग दिनु वा नतमस्तक हुनु वा नमस्ते गर्नु वा सलाम गर्नु एक साँस्कारिक प्रक्रियामात्र होइन यो त एक समर्पण हो, निस्वार्थ प्रेम हो, भक्ति हो र आफ्ना मान्यजनलाई आफु निष्पाप रहेको प्रमाण दिनु हो । तसर्थ, “ढोग दिया” शब्दको जथाभावी प्रयोग हुनु गलत नै हो यसको संयमित र उपयुक्त स्थानमा मात्र प्रयोग हुनु पर्दछ भन्नु पनि सर्वथा उचित हो । 

     


  • सम्बन्धित विषय:

  • # चिनियाँ राजदूत


  • प्रतिक्रिया दिनुहोस