बुधबार, भदौ ३ गते २०८३ || Aug 19, 2026
  • यो साता चर्चामा :

लेखनयात्रा र मिडियासँगको सहकार्य - एक अनुभूति


आइतबार, साउन २६ २०८२
  • 8.3K
    Shares

  • images
    images
    लेखनयात्रा र मिडियासँगको सहकार्य - एक अनुभूति

    विगत तीन दशकदेखि म निरन्तर लेखनमा सक्रिय छु—कहिले सांस्कृतिक, कहिले साहित्यिक, कहिले समसामयिक मुद्दामा कलम चलाउँदै। यस लामो यात्रामा धेरै पत्रपत्रिका, अनलाइन पोर्टल र संस्थाहरूसँग सहकार्य गर्ने अवसर पाएको छु। लेखनको क्रममा मेरो सामु उभिएका केही सवालहरूको प्रसङ्ग पछिल्लो समय पश्चिममा लेखनको सन्दर्भ जोड्दै यस लेखमा केलाउने प्रयास गरिएको छ।

    पछिल्लो समय २०७९ सालदेखि मेरो लेखन यात्रामा पश्चिम प्रेससँगको सहकार्य जोडिएको छ। प्रतिबद्ध पत्रकारिताको नारा सहित सक्रिय युवाहरूको सुरुआत राम्रो देखिए पनि वर्तमानमा त्यसले त्यति स्पिड लिन सकेन जस्तो लाग्छ। हुन त सुदूरपश्चिमको पत्रकारितामा विभिन्न समयमा उत्साहजनक प्रयास नभएका होइनन् तर सबै प्रयासहरूको व्यवसायिक उन्नयनमा अवरोधहरू देखा परेका देखिन्छन्। यस अवधिमा मेरो फुटकर लेखनले अन्य मिडियाहरूमा स्थान नमिलेको होइन ।अलि फरक ढङ्गले हेर्दा स्थानीय मिडियामा स्थानीय लेखकहरूले लेख्न नरुचाएको अवस्थामा एक दर्जन बढी सर्जकको कलम सक्रिय रूपले पश्चिम प्रेसमा चलेको देखिन्छ।

    यस अवधिमा मात्र पश्चिम प्रेसमार्फत झन्डै ६ दर्जन बढी मेरा रचनाहरू प्रकाशित भए, जसमा धेरैजसो सांस्कृतिक, साहित्यिक र समसामयिक विषयवस्तु समेटिएका छन्। केही सामग्रीहरू श्रव्य–दृश्य स्वरूपमा पनि सम्प्रेषण भए, जसले विषयको प्रभावलाई अझ फैलायो। पश्चिम प्रेसले दिएको यस योगदानका लागि म हृदयदेखि आभारी छु। मिडियाले लेखकलाई दिने प्लेटफर्म भनेको केवल पृष्ठ वा स्क्रिनको स्थान मात्र होइन, त्यो एउटा विश्वास पनि हो—कि तपाईँको आवाज /अभिव्यक्ति सुन्न योग्य छ।

    लामो समयसम्म भाषा, साहित्य, संस्कृतिबारेको लेखनमा योगदानको सम्मान स्वरूप, २०८० सालमा आयोजित पश्चिम प्रेसको प्रथम वार्षिकोत्सवमा मलाई सम्मानित गरियो। त्यो क्षण मेरो स्मृतिमा अझै ताजा छ, किनकि त्यो मिडिया र लेखकबिचको आत्मीय सम्बन्धको प्रतीक थियो।

    आरम्भको डायरी, प्रारम्भिक पत्रकारिता यात्रा

    कहीँ कतै अल्झिएको डायरीले २६ वर्ष पहिले सम्झायो। त्यो साढे २ दशकको समीक्षा गर्नु पर्छ कि भन्ने लागिरहेको छ।

    करिब २६ वर्षअघि म एक सघन तालिममा सहभागी भए ग्रामीण पत्रकारिता प्रवीणता तालिम। त्यो तालिम लामो प्याकेज त थिएन, तर छोटो अवधिमा प्रभावकारी रूपमा पत्रकारिताको मूल प्रवृत्तिहरू सिकाउने कोसिस थियो। म त्यसमा कोही सिफारिस वा पहुँच वाला भएर होइन, भित्रैदेखि सिक्न र गर्न चाहने मनोभावले सहभागी भएको थिए।

    त्यो समय अखबारी पत्रकारितामा स्वयंसेवामूलक रूपमा सक्रिय थिएँ लेख्ने र छापिने रहर थियो। वरिष्ठहरूले चिया पिलाउने या कागज दिने भनेको झुठो होस् भनेर होइन, त्यो समयको क्षणिक आवश्यकतालाई बुझेर नै आफूलाई त्यसमा समर्पित गरेको थिएँ। राति १२ बजेसम्म प्रेसमा बसी अखबार तयार पार्ने अनुभूति मेरा लागि खास थियो ।

    यसका कुनै "दशीप्रमाण" त छैन, तर मेरो डायरी , प्रकाशित सामग्री र स्मृतिमा त्यो समय अझै सुरक्षित छ। त्यो दौरमा कतिपयले मलाई कुनै गोत्र प्रवरको मान्छे भनेर ट्याग लगाउन खोजे, तर म यस्ता "कच्यार "हरूमा खास बोलिनँ। सामाजिक सम्बन्धमा आज पनि कतिपय "हाई हेलो" गर्ने राजनीतिक बुई चढेका मित्रहरू फेसबुकमै छन् , त्यो नै मेरो तर्फबाट धन्यवाद हो।

    यस्ता २/४ स–साना तालिमले आत्मबल त दिएको होला तर समय क्रममा मेरो स्वभाव र मूल्यमा अनफिट हुने सम्भावना देखेपछि त्यता तिरको धोको त्यागेको थिएँ। जीवन चलाउनुपर्ने, परिवार धान्नुपर्ने, संस्थागत संलग्नताहरू सम्हाल्नुपर्ने बाध्यताहरूले पनि आफ्नो बाटो आफैँ तय गरायो।

    यो अढाई दशकमा दर्जनभन्दा बढी समाचारपत्र, अनलाइन मिडिया, बुलेटिन, मुख पत्र, साहित्यिक पत्रपत्रिकासँग साइनो जोडिएको छ , कहि लेखकका रूपमा ,कतै सम्पादकका रूपमा त कतै सहयोगीकै रूपमा। तर म कहिल्यै "मैले त्यो गरेँ, यो गरेँ" भनेर बडप्पन देखाउने प्रयासमा छैन। जसले बुझ्नुपर्ने हो, उसले बुझेकै छ। बाँकीका लागि मेरो लेखन 'स्वान्त सुखाय तुलसी रघुनाथ गाथा' नै हो। भन्ने बुझे हुन्छ ।

    मेरो रहर लेख्ने हो  त्यहाँ मिडिया सञ्चालकहरूबाट कसैले केही देला भन्ने अपेक्षा बोकेको थिइन। चिया र कागज कलमको कुरा गर्ने हरूको पनि कुरा मात्रै थियो, जी हजुरी गर्ने कुरा भएन विश्वास नभए पछि सङ्गत गरी रहनु पनि जरुरी भएन।

    अहिले के पाएँ, के गुमाएँ भन्ने प्रश्नहरू स्वमूल्याङ्कनकै चरणमा छन्। उचित समयमा समीक्षा आउला नै। "  म सायद करबराउने बानी परेका लेखकहरूमध्ये पर्छु—जसले जीवनमा जे आयो, त्यो विचारमा करबराउँदै कागजमा उतार्ने गर्छ।" यो केही को बुझाइमा हुन सक्छ। तर लेखन यात्रामा सुदूरपश्चिमको भाषा ,साहित्य र संस्कृतिका विषयवस्तुहरूलाई अनुसन्धानात्मक तवरले पस्कन सकेको कुरालाई मैले बढी महत्त्वपूर्ण ठानेको छु।

    लेखनको मूल्यबोध

    धेरैले लेखनलाई पेसासँग जोड्छन्। ‘लेखेर कति आउँछ?’ भन्ने प्रश्न सुन्नु मेरो लागि नयाँ कुरा होइन। तर मेरो दृष्टिमा, लेखन पैसाकै लागि हुने गतिविधि होइन। यो मेरो पेसा होइन, बरु मेरो हवि हो—मेरो रुचि, मेरो आत्मसन्तुष्टि हो र अभिव्यक्ति स्वतन्त्रताको सकारात्मक प्रयोग मात्रै बुझे हुन्छ।

    यति भनी रहँदा लेखन पेसा हुन सक्दैन भन्ने होइन, लेखकस्व/लेखनवृति दिने मामिलामा मिडिया र प्रकाशन गृहहरू पूर्ण रूपमा तयार छैनन्। लेखनलाई आजीविकाको माध्यम सबैले बनाउन सक्ने अवस्था पनि छैन, यो विषय छुट्टै विवेचनाको विषय हो।

    हाम्रो नीति शास्त्रमा भनिएको छ—"मानो हि महताम् धनम्"—मान नै महान् व्यक्तिहरूको वास्तविक सम्पत्ति हो। अर्थात, लेखन मेरो लागि आर्थिक कारोबारभन्दा बढी मान, विचार र संस्कारको आदान–प्रदान हो। हो, आजीविकासँग पेसा जोडिन्छ, तर हाम्रो समाजमा कलाजीवीलाई जीवनयापनका लागि सक्षम बनाउन सक्ने मिडिया कमै छन्। त्यसैले लेखनलाई केवल जीविकोपार्जनको आधार बनाउनुभन्दा पनि, समाजसँग संवाद गर्ने माध्यमको रूपमा लिएको छु। अहिले वणिजवादको जमाना हो, लेखन पनि बिक्छ। तर मैले त्यो बाटोमा देखेका तगाराहरू पनि छुट्टै विवेचनाको विषय हो, यहाँ धेरै लेखिन्।

    आलोचना र प्रश्नहरूको सामना

    लेखनमा लाग्ने जो–कोहीले कहिलेकाहीँ असहज प्रश्नहरूको सामना गर्नुपर्छ—
    “किन लेख्छस्?”
    “यसले के दिएको छ?”
    “यति धेरै लेख्दा स्वास्थ्यमा असर पर्छ।”
    “खालि हो कि, यत्रो समय लेखेर खर्च गरिस्?”
    यी प्रश्नहरू सुन्नु मेरो लागि सामान्य भइसकेको छ। तर मेरो जवाफ सरल छ—मिसन र भिजन नभएर म समय र दिमाग किन खर्च गर्थेँ ? मैले मेरो अभिव्यक्ति स्वतन्त्रतालाई चिया पसलका बकम्फुसे गफ वा भट्टी पसलका टेबल ठोकाइमा बर्बाद गरेको छैन। बरु म त्यसलाई कागजमा, शब्दमा, विचारमा रूपान्तरण गर्छु, जसले कुनै न कुनै रूपमा समाजलाई योगदान पुर्‍याओस् भन्ने अपेक्षा राख्छु।यो पनि एउटा सेवा नै हो । मसँग भयेको बिचार दिन सकेको छु।

    मिडियासँगको छनोट र प्रतिबद्धता

    मिडिया संसार फराकिलो छ, तर सबै मिडिया समान मूल्य र आचारसंहितामा चल्दैनन्। म आत्मसम्मानमा ठेस पुर्‍याउने, पक्षपाती, वा केवल जीहजूरीको लागि लेख प्रकाशन गर्ने माध्यममा कलम चलाउँदिन। मेरो लेखनको मूल लक्ष्य समाजका सकारात्मक पाटाहरू सार्वजनिक गर्नु हो—त्यो चाहे इतिहासको स्मृति होस्, संस्कृतिको संरक्षण होस्, वा समसामयिक विषयको विवेचना।

    यस दृष्टिकोणका कारण, मेरो लेखन कसैलाई कठोर लाग्न सक्छ, कसैलाई अनावश्यक पनि लाग्न सक्छ। तर म विश्वास गर्छु—सत्य बोल्ने र इमानदारीपूर्वक लेख्ने कलम अन्ततः प्रेरणाको स्रोत बन्न सक्छ। कतिपय पाठकहरूबाट मैले प्रत्यक्ष रूपमा सुनेको छु कि मेरा लेखहरूले उनीहरूलाई सोच्न र सृजनशील हुन प्रेरित गरेको छ। कैयौँ सामग्री सन्दर्भ सामग्रीको रूपमा प्रयोग भएका छन्।

    सूचना र ज्ञानको सञ्चार गर्दा आम सञ्चारको माध्यमसित जोडिएर लेख्दा आर्थिक लाभ नभए पनि, सामाजिक सम्बन्ध जोड्न यसको भूमिका अनुभूत भएको छ।

    चोरी र कम आँक्ने प्रवृत्ति

    लेखनमा अर्को चुनौती हो—विचार चोरी हुने, वा अरूको श्रमलाई कम आँक्ने प्रवृत्ति। कुनै सामग्रीको श्रेय बिना पुनः प्रकाशन हुनु वा आफूलाई ठुलो देखाउन अरूको रचनालाई छोट्याउनु नैतिक दृष्टिले अस्वीकार्य हो। तर यस्तो हुँदा म व्यक्तिगत रूपमा उद्वेलित भए पनि, त्यसलाई मेरो यात्राको अवरोध बन्न दिँदिन। किनकि अन्ततः मूल्याङ्कन गर्ने शक्ति पाठककै हातमा हुन्छ।

    हो, कहिलेकाहीँ यसमा लाग्ने समय र श्रमको भौतिक वा अभौतिक मूल्य प्राप्त नहुँदा, जीवन यापनमा असहजता आउँछ, खिन्नता बोध पनि हुन्छ। त्यति बेला केही छैन—"स्वान्त सुखाय तुलसी रघुनाथ गाथा" मै पनि चित्त बुझाएर बस्नु पर्दछ।

    प्रभाव र प्रमाण

    कतिपय विज्ञहरूले “यसको पनि के प्रभाव होला?” भन्ने तर्क गर्न सक्छन्। तर, जब सोधिन्छ, म ठोस प्रमाणसहित देखाउन सक्छु—कसरी केही लेखहरूबाट संवाद सुरु भयो, कसरी एउटा विचारले बहसलाई जन्म दियो, र कसरी केही पाठकहरूले आफ्नो अनुभव वा दृष्टिकोण लेखमार्फत व्यक्त गर्न थाले।

    पुस्तकका सङ्ख्या भन्दा पनि, एउटा सशक्त रचनाको प्रभाव महत्त्वपूर्ण हुन्छ। कुनै व्यक्तिको जीवनमा एक वाक्यले, एक विचारले, वा एक प्रसङ्गले सकारात्मक परिवर्तन ल्याउन सक्ने सम्भावना हुन्छ।भलै कसैले कुनै कुरामा श्रेय दिन नचाहला या खुलेर भन्न कन्जुस्याइँ गर्ला—त्यो सम्बन्धित व्यक्तिको चरित्रमा भर पर्छ।

    लेखन—जीवनशैलीको अंश

    आज म लेखनलाई केवल रुचि मात्र होइन, जीवनशैलीको अंशको रूपमा बुझेको छु। यो मेरो दैनिकीमा साँसजस्तै मिसिएको छ। लेखनको बानी परेपछि छोड्नु गाह्रो हुन्छ—जसरी एउटा वृक्ष आफ्नो जराबाट अलग हुन सक्दैन, त्यसरी नै म शब्दबाट अलग हुन सक्दिन।

    त्यसैले, केहीले “अब लेख्नु हुन्न कि?” भन्ने सल्लाह दिए पनि, त्यो मेरो लागि असम्भवजस्तै छ। लेखनले मलाई आत्म चिन्तन गर्न सिकाएको छ, समाजसँग संवाद गर्न सशक्त बनाएको छ, र जीवनका विभिन्न रङ्गहरूलाई अभिव्यक्त गर्न सहज बनाएको छ। तर मेरोलागि पनि "लेखि देऊ न" भन्ने कुरा स्वीकार गर्न सकिँदैन।

    निष्कर्ष

    पश्चिम प्रेस लयागतसँगको केही वर्षको सहकार्यले मलाई सिकाएको छ—लेखक र मिडियाको सम्बन्ध केवल सामग्री आदान–प्रदानमा सीमित हुँदैन। यो विश्वास, आस्था र आपसी सम्मानमा टेकेको हुन्छ।
    लेखनमा निरन्तरता ल्याउन प्लेटफर्म आवश्यक हुन्छ, र त्यो प्लेटफर्म पाउनु भनेको आफ्नो आवाजलाई एउटा जीवन दिनु हो।तर प्लेटफर्म र सर्जकको सम्मान, एक आपसी विश्वास र सहयोग महत्त्वपूर्ण आधारका रूपमा रहन्छ।
    म लेखेर धनी हुने चाहनामा छैन, तर मान र अनुभवमा धनी बन्ने आकाङ्क्षा राख्छु।
    शब्दहरूलाई इमानदारीपूर्वक समाजको सेवा गर्ने साधनको रूपमा प्रयोग गर्न सक्नु नै मेरो लागि साँचो सफलता हो। भविष्यमा पनि यही दृष्टिकोणका साथ, मिसन र भिजनसहित कलम चलाउने प्रयत्न रहनेछ। 


  • सम्बन्धित विषय:

  • # लेखनयात्रा


  • प्रतिक्रिया दिनुहोस