बुधबार, भदौ ३ गते २०८३ || Aug 19, 2026
  • यो साता चर्चामा :

खोलाको किनार, पहाडको ढलान र हाम्रो लापरबाही

(स्थानीय ज्ञानदेखि आधुनिक चुनौतीसम्म )


बिहीबार , साउन २३ २०८२
  • 8.4K
    Shares

  • images
    images
    खोलाको किनार, पहाडको ढलान र हाम्रो लापरबाही

    महेन्द्रनगर, कञ्चनपुर । मानवीय क्रियाकलापहरूमा कारण प्रकृति कुरूप मात्रै भयेको छैन विभिन्न बिपतहरूको पनि सामना गर्नु परिरहेको छ। प्रकृतिका केही घटनाहरू मानव नियन्त्रण बाहिर हुने भये पनि  ती घटनाहरू नजर अन्दाज गरी मानिसले आफ्नो स्वार्थमात्रै देखेर  प्रकृति दोहन गर्न खोज्दा  बिपतहरू आइ पर्ने कुरा निश्चित छ  । यसै सन्दर्भ तथा वर्तमानका केही प्रकोपहरूको प्रसंग प्रस्तुत आलेखमा केलाउने प्रयास गरिएको छ ।

    १. पुरानो ज्ञान र यसको वैज्ञानिकता

    पुराना पुस्ताले बाढी–पहिरो र खोलानालाबाट २ बाँस (करिब ४०-५० मिटर) टाढा घर बनाउने चेत व्यक्त गर्थे। यो व्यवहार केवल परम्परा नभई स्थानीय भूगोल र जलवायुको वास्तविकता बुझेर आधारित थियो। फ्लड प्लेन भित्रको निर्माणले प्राकृतिक बहाव बाधित गर्छ, जसले दीर्घकालीन जोखिम बढाउँछ।

    बसोबासका लागि ढलान स्थिर हुने, माथिबाट ढुङ्गा नखस्ने र पहिरो जोखिम न्यून हुने भूभाग रोज्ने चलन थियो। “माटी पुजी खाने” संस्कारले प्रकृतिप्रति सम्मानलाई व्यवहारमा उतार्थ्यो।

    २. पहिलेका निर्माण र सुरक्षित वासस्थान

    सयौँ वर्षअघि निर्माण भएका गाउँ वस्ती हालसम्म सुरक्षित छन्। ती त्यस्ता भूभागमा थिए जहाँ पानीको बहाव नजाने, बलिया ढुङ्गा र स्थिर माटो थियो। खोलाको किनारमा स्थायी संरचना नगर्ने चलनले जोखिम न्यून गर्थ्यो।

    ३. हालको अवस्था र विकास चुनौतीहरू

    आज विकासको नाममा अनियन्त्रित निर्माण कार्य भइरहेका छन्:
    *नदी तथा खोलाका किनार/बगर अतिक्रमण गरी घर खेत बनाइनु र जथाभाबी ढुङ्गा बालुवा गिट्टी सङ्कलन।
    • डोजर प्रयोगबाट खोलानालाको अतिक्रमण।
    • पहाड काट्नु र माटो स्थिर पार्ने प्राविधिक उपाय नगर्नु।
    • जलाधार क्षेत्रको वन विनाश र ढुङ्गा/बालुवा उत्खनन।
    • भिरालो जमिनमा गरा बनाइ, संरक्षणात्मक कृषि नगरिनु
    नेपालका जलस्रोत ऐन २०४९ र भू–व्यवस्था ऐन २०७४ले रोक लगाएको भए पनि कार्यान्वयन अत्यन्तै कमजोर छ।

    ४. हालैका प्रमुख घटना

    नेपाल: हुम्लाको टिल्गांव (मई २०२५)
    २०७५ जेठ १ गते (मई १४, २०२५) Humla जिल्लाको Namkha गाउँपालिका–६ मा दुई हिमताल फुटेर flash flood (GLOF) आयो। पाँच पुल बग्यो, घर, सिँचाइ प्रणाली र विद्युत् संरचना नष्ट भए। करिब ३२ मानिस विस्थापित भए। वर्षा नपरेको अवस्थामा पनि हिमताल फुटेर यस्तो बाढी आउनु जलवायु परिवर्तनको प्रत्यक्ष सङ्केत हो।

    नेपाल: रसुवा–भोटेकोसी बाढी (जुलाई २०२५)
    २०७५ असार २४ गते (July 8, 2025) मा भोटेकोसी नदीमा अकस्मात् ठुलो बाढी आयो। चीनको तर्फमा हिमताल फुटेको अनुमान गरिएको छ। नौ जनाको मृत्यु र २० जना बेपत्ता (१२ नेपाली र ६ चिनियाँ) भएका छन्। मितेरी पुल, रसुवागढी कार्गो यार्ड, EV चार्जिङ स्टेसन, र जलविद्युत आयोजनामा क्षति पुग्यो। २३० MW बराबरको विद्युत् आपूर्ति प्रभावित भयो। १५० जनालाई हेलिकप्टरमार्फत उद्धार गरिएको थियो।

    भारत: उत्तरकाशी (अगस्ट २०२५)
    २०२५ अगस्ट ५ मा उत्तराखण्डको उत्तरकाशी जिल्लाको धराली क्षेत्रमा दुई क्लाउडबर्स्टका कारण flash flood र पहिरो आयो। कम्तीमा चार जनाको मृत्यु, १०० भन्दा बढी बेपत्ता भए पनि यो तथ्याङ्क अझै बढने देखिन्छ बजार र होटेलहरू मलबामा दबिएका छन।

    ५. तथ्य र आँकडा

    • नेपालमा विगत १० वर्षमा बाढी–पहिरोका घटनामा करिब ४०% वृद्धि भएको छ।
    • २०७०–२०७९ बिचमा मात्र ६५०० भन्दा बढी परिवार विस्थापित भएका छन्।
    • मेलम्ची बाढी (२०७८) ले करिब १ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुऱ्याएको थियो।
    • भोटेकोसी बाढीले सीमा सम्पर्क, जलविद्युत र यातायात पूर्वाधारमा दीर्घकालीन असर पुर्‍याएको छ।

    ६. सम्भावित जोखिम र परिणामहरू

    • खोलानालाको अतिक्रमणले प्राकृतिक बहाव अवरुद्ध हुन्छ— flash flood र पहिरोको जोखिम बढ्छ।
    • पहाडको माटो तल बग्दा तराई क्षेत्रको उर्वरता घट्छ र बगर फैलिन्छ।
    • सडक, पुल, ऊर्जा प्रणालीजस्ता पूर्वाधार नष्ट हुँदा दीर्घकालीन सामाजिक–आर्थिक असर पर्छ।

    ७. समाधानका उपायहरू

    • ग्रिन बफर जोन स्थापना गर्ने र खोलाको किनारमा स्थायी संरचना प्रतिबन्धित गर्ने।
    • EIA/IEE अनिवार्य गरी विकास आयोजनामा कार्यान्वयन कडाइ गर्ने।
    • स्थानीय अतिक्रमण निगरानी समिति गठन गर्ने र कानुनी कारबाही सुनिश्चित गर्ने।
    • जलाधार संरक्षण: वन रोपण, स्लोप स्थिर पार्ने प्रविधि, र वर्षा–पानी संरक्षण।
    • जोखिम नक्साङ्कन र जनचेतना: जोखिमयुक्त क्षेत्र चिन्हित गरी सुरक्षित बसोबास योजना बनाउने।

    ८. निष्कर्ष

    हुम्लाको टिल्गांव, रसुवाको भोटेकोसी र भारतको उत्तरकाशीका घटनाले देखाउँछन् कि प्राकृतिक सीमा उल्लङ्घन र अव्यवस्थित विकासले विनाशकारी परिणाम ल्याउँछ।

    पुरानो भनाइ — “खोलाबाट दुई बाँस टाढा घर बनाऊ”— आज पनि उतिकै वैज्ञानिक र आवश्यक छ। यदि अहिले नै चेतना अपनायौँ भने मात्र भविष्यको सुरक्षा गर्न सकिन्छ; नत्र, हामी आफैँले निम्त्याएको विपत्तिको मूल्य तिर्न बाध्य हुनेछौँ

    अहिले नेपालका पहाडी भूगोलमा जथाभाबी रूपमा सडक खन्ने कामले बहु आयामिक नोक्सानी  र जोखिमका  सम्भावना बढेर गएका छन्। 


  • सम्बन्धित विषय:

  • # खोलाको किनार


  • प्रतिक्रिया दिनुहोस